विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई विगत दुई दशकदेखि सफल नेतृत्व प्रदान गर्दै आएकी कार्यकारी निर्देशक अनिशा विष्टले अन्तर्राष्ट्रिय रुपमा सम्मान प्राप्त गरेकी छन् ।

विष्टलाई मलेसियामा आयोजित एक कार्यक्रममा मानार्थ विद्यावारिधिको उपाधि दिइएको अस्पतालले जनाएको छ ।
विष्टले प्रोफेशनल डक्टरल सर्टिफिकेट ‘पीएचडी’ इन हस्पिटल म्यानेजम्यान्ट उपाधि पाएकी हुन् । अस्पताल व्यवस्थापनमा उत्कृष्ट योगदान गरेको मूल्याङ्कन गर्दै फ्रान्सको पेरिसस्थित केन्द्रीय कार्यालय रहेको युरोपेली अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट अस्पताल व्यवस्थापनमा विद्यावारिधिको उपाधि तथा विश्वव्यापी नेतृत्व सम्मान (प्रोफेशनल डक्टरल सर्टिफिकेट ‘पीएचडी’ इन हस्पिटल म्यानेजमेन्ट एण्ड ग्लोबल लिडरसिप अवार्ड २०२२) प्रदान गरिएको हो ।

यो उपाधि हरेक वर्ष विभिन्न देशका समाजमा उत्कृष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिन्छ । नेपालको स्वास्थ्य क्षेत्रमा अनिशाको योगदानलाई उच्च कदर गर्दे यो उपाधी प्रदान गरिएको हो । उपाधी ग्रहणपछि संक्षिप्त भनाई राख्दै कार्यकारी निर्देशक विष्टले यो उपाधी आफनो मात्र नभई सम्पूर्ण स्वास्थ्य क्षेत्रको सम्मानको रुपमा लिएको बताइन् ।

न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलकी कार्यकारी निर्देशक विष्टले लामो समयदेखि अस्पताल व्यवस्थापनको नेतृत्व गर्दै आएकी छन् । केही समयअघि युरोपको प्रतिष्ठित युरोपियन इन्टरनेशनल युनिभर्सिटीबाट ग्लोबल लिडरसिप एण्ड म्यानेज्मेन्टमा प्रोफेशनल डक्टरल उपाधिका लागि अनिशा नेपालबाट छनोट भएकी थिइन् । युरोपेली अन्तर्राष्ट्रिय विश्वविद्यालयको जसको मुख्यकलेज फ्रान्सको प्यारिसमा छ ।