विर्तामोड । नेपाली सेनाले झापा गाउँपालिका ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरिदिएको छ ।
नेपाली सेनाको पूर्वी कमान्ड हेडक्वाटरको बजेटबाट निर्मित विद्यालय भवनको आइतबार एक कार्यक्रमबीच कमान्डका सेनापति उपरथी सहदेव खड्काले उद्घाटन गरेका हुन् ।

उपरथी खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई भवन हस्तान्तरण गरेका थिए । नेपाली सेना जनश्रमदानको लागि सधैं तयार रहेको बताउँदै उनले नागरिक–सैनिक सम्बन्ध विस्तार योजनाअन्तर्गत नै विद्यालय भवन बनाइएको जानकारी दिए ।

युद्धबाहेकका सैन्य गतिविधिहरूलाई थप प्रभावकारी बनाउने लक्ष्य अनुसार नागरिक र सैनिकबीचको सम्बन्ध अभिवृद्धि गर्नलाई वातावरण सुधार तथा संरक्षण, प्रकोप व्यवस्थापन, धार्मिक र सांस्कृतिक क्षेत्र र भौतिक पूर्वाधार निर्माणलगायतको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको सेनाले जनाएको छ । ३२ लाख १८ हजार ८५५ रुपैयाँको लागतमा निर्मित विद्यालयमा भवनमा एउटा कक्षा कोठा, एउटा सभाहल र दुई वटा शौचालय छ ।