काठमाडौंमा देशरभबाट जितेका स्वतन्त्र उम्मेदवारहरुको भेला हुँदा धरानका प्रमुख हर्क साम्पाङ भने उक्त भेलामा गएनन् । बरु उनी पकुवा खोलामा पानीट्याङ्की बनाउन श्रमदान गर्न हिंडे । उनलाई उक्त भेलाप्रति खासै चासो पनि थिएन । किनकी उनको एजेण्डा धरान र धराने जनताको एजेण्डा थियो । ‘स्वतन्त्रको संगठन हुँदैन । स्वतन्त्रको संगठन बनाउने हो भने त्यो पार्टी भइगयो नि,’ भेलामा किन नजानु भएको भन्ने प्रश्नमा उनले भने । साम्पाङ अहिले पनि विभिन्न श्रमदानमा जुटिरहेका छन् । पार्टीका शीर्ष नेतालाई माटो छुन सुझाव दिने साम्पाङ आफू भने धूलाम्मे र हिलोमय थिए । अन्तरवार्ताका क्रममा उनले नेताहरुलाई सुझाव दिँदै भने, ‘माटो छुनुप¥यो नि ? राजनीति गर्छु भनेर मात्रै हुन्छ हावामा ? माटो छोएका छैन, दुःख बुझेको छैन, पीडा बुझेको छैन । त्यसले के राजनीति गर्छ ? ।’ उनै साम्पाङसँग विविध विषयमा हाम्रोमत दैनिकका सम्पादक अर्जुन आचार्यले कुराकानी गरेका छन् । प्रस्तुत छ उनीसँगको कुराकानी ।
अहिले पनि खानेपानीका लागि श्रमदान गरिरहनु भएको छ । धेरै जनता यहाँ देखिन्छन् । जनताको आकर्षण किन होला ?
खुसीको कुरा के हो भने जनतालाई मैले विकाससँग जोड्न सकें । जनतालाई विकाससँग जोड्न सकेपछि हरेक जनतालाई यो काम आफ्नो पनि हो भन्ने लागेको छ । त्यही भएर धरानका युवाहरु स्वतःस्फूर्त आएका छन् । यो इतिहासमा भएकै थिएन । भविष्यमा भने यस्ता धेरै काम गर्ने मेरो योजना छ । यहाँ हामी जेसिबी लगेर पनि खन्न सक्थ्यौं । यहाँ जेसिबी ट्रक लाँदा पानी हराउँदो रहेछ । त्यसकारण हामी यो सबै काम म्यानुुअल्ली गरेका छौं । शारीरिक श्रमकै आधारमा गरेका छौं । यो उदाहरणीय काम हो ।
यो पानीले धराने जनतालाई पुग्ला र ?
यो पानी पुरै शहरमन लागि पुग्दैन । हामी स्रोतहरुबाट पनि पानी बटुल्छौं । खेल्सीहरुबाट पानी ल्याएर जनताको आवश्यकता पूरा गर्दै जाने मेरो योजना छ ।
मेरो टार्गेट चाहिं जंगलबाट पम्पिङ गर्दा बिजुलीको बिलमात्रै मासिक ३० लाखसम्म तिर्नु परेको देखिएको छ । ६ महिनामा हामीले १ करोड ५३ लाखको बिल तिरेको पायौं । पम्प मर्मत गर्दा, कुरुवालाई राख्दा अन्य खर्च हुँदा करोडौं खर्च हुने गरेको देखियो, त्यो खर्चलाई हामी बचाउँछौं । तलबाट पानी तान्दा धेरै बिजुली खाँदो रहेछ । अब माथिबाटै लगेपछि त पानी तान्नु परेन । धरानको पैसा बचाउनका लागि पनि यो विधि अपनाइरहेका छौं ।
यहाँ श्रमदान गर्नुभयो । अन्य खोलाखोल्सीमा पनि श्रमदान नै गर्ने हो कि ? के हो ?
हुँदैन । सबैमा श्रमदान गरेर त कहाँ हुन्छ र ? श्रमदान गर्न सक्ने कुरामा श्रमदान हुन्छ । ठूलाठूला पोखरी बनाउन खोजेका छौं । त्यो पोखरी सबै धराने जनतालाई खनाउन लगायौं भने त पिरामिड नै बनाउन लाग्यो कि के हो जस्तो हुन्छ । म्यासेज त सकारात्मक नै जान्छ होला (हाँस्दै) । पहिले पहिले हात्ती, घोडा के के प्रयोग गरेको थियो रे ? भनेजस्तै हुनजान्छ । त्यस्तो हुँदैन । इक्वीपमेन्ट जेसिबी, एक्साभेटर लगाउनु पर्ने ठाउँमा लगाउँछौं । यो एउटा उदाहरणीय काम हो । यसलाई हेर्नका लागि मात्रै हेटौंडादेखि पनि मानिसहरु आउनु भएको छ । मैले नेताहरुलाई पनि बोलाएको थिएँ तर आएका छैनन् ।

तपाईले पोखरी बनाउने कुरा पनि गर्नुभएको थियो । कहाँ पुग्यो त्यो कुरा ?
अहिले पानीट्यांकी भएको डाँडामा पोखरी बनाउन अध्ययन गर्दैछौं । त्यहाँ ठूलो पोखरी बनाएर पानी जमाउने । मंसिरको पानी जमाएर फागुन र चैतमा प्रयोग गर्ने भन्ने योजना बनाएको छु । त्यसका लागि केही संस्थाले सहयोग गर्ने भन्नुभएको छ । त्यसले सम्भाव्यता अध्ययन गर्दैछ । त्यो प्रोजेक्ट अगाडि बढ्छ । हामी त्यहाँ बनाउँछौं । हामी सर्दुको मुहानमा मिनी हाइड्रो प्रोजेक्ट पनि टेस्ट गर्ने तयारीमा छौं ।
अहिले तपाईले पकुवाबाट लगेको खानेपानी आयोजना अस्थायी जस्तो देखियो । दीर्घकालीन हिसावले चाहिं के काम हुँदैछ ?
हामीले ३० वर्षदेखि ५० वर्षसम्मका लागि खानेपानी खुवाउने गरी संघीय खानेपानी आयोजनामार्फत पहिलो चरणको डिपिआरको काम हुन लागेको छ । त्यो भनेको कोशीको पानी डाँडामा लिफ्ट मार्फत पु¥याउने र त्यहाँबाट वितरण गर्ने । त्यहाँ ३२ इन्चको दुईवटा पाइपबाट पानी ल्याउनु पर्छ भन्ने मेरो प्रस्ताव छ । ३२ इन्चको पाइप भनेको दुईवटा खोला जत्रो हो । धरानको आवश्यकता त्यति छ । यहाँ कम्तीमा ४ वटा स्वीमिङ पुल हुनुपर्छ । त्यो प्रोजेक्टका लागि अहिले मैले सम्वाद गरिरहेको छु । उहाँहरुले एक वर्षसम्म डिपिआर गर्न लाग्छ भन्नुभएको छ । त्यसलाई हामीले प्राप्त गर्दैछौं । यो गुड न्यूज हो । अहिले बनाउँदै गरेको त सर्टटम हो । खर्दुको अलिक पछिसम्मको आयोजना हो ।
अब फरक कुरा गरौं । दुई दिन अगाडि बजेट पास गर्न खोज्दा वडाध्यक्षहरुलाई तपाईले ‘स्वतन्त्र भनेर हेपेको’ भन्ने कुरा गर्नुभएको थियो ? वास्तवमा तपाई आफूले पनि हेपिएको अनुभूति गर्नुभएको हो ?
एउटा कुरा के याद गर्नुभने हर्क साम्पाङलाई कसैले हेप्न सक्दैन । म एक लाख जनासँग एक्लै लड्न पनि डराउँदिन । १/२ जनाले कराउँदैमा डराउने कुरा होइन । म हेपिने मान्छे पनि होइन । तर, मैले डाइलोग त दिनुपर्यो । अब भन्नु त प¥यो नि त गज्याङ्गुजुङ गरिरहनुहुन्छ । त्यस्तो बेलामा हैठ… भन्नु त पर्यो नि (हाँसो..) ।
काम गर्ने कुरामा नीतिगत ढंगले वा कागजी हिसावले केही अप्ठ्यारो भएको छ ?
गर्न खोज्नु हुन्छ जस्तो लाग्छ मलाई । तर, म टेर्नेवाला छैन । कागजी हिसाबले पनि केही अप्ठ्यारो हुन्छ । त्यही भएको हिसाबले अभियानको बेलामाभन्दा केही सीमित पनि भएको छु । त्यसबेला जस्तो कुरा पनि उठाएर हिंड्न सक्थे । केही दायरा पनि छ । तर, मैले प्रतिबद्धता जाहेर गरेको कुरालाई पूरा गर्न लागिरहरेको छु ।
ढुंगा बोक्ने काम मेयरको होइन भनेर आलोचना गर्नेलाई अब पाइप बोक्छु भनेर फेसबुकमा जवाफ लेख्नु भएको थियो नि ?
(हाँस्दै…) त्यही भएर आज मैले ढुंगा नबोकेर पाइप तानेको हो त । आज मैले तार पनि बोकें (लामो हाँसो) । उहाँहरुले मलाई खिसिट्यूरी गर्नुहुन्छ । उहाँहरु सम्भवतः विपक्षी दलका कार्यकर्ता होलान् । कुल्ली, मजदुर, किसान भन्नुहुन्छ मलाई । म कुल्ली, मजदुर र किसान नै हुँ । म सानो मान्छे हुँ । त्यही भएर त यत्रो जनता मेरो वरिपरी छन् त । ठूलो मान्छे भएको भए त कहाँ हुन्थ्यो र ? अर्को चुनावमा मात्रै भेट हुन्थ्यो होला । म हिंजो पनि जनतासँगै थिएँ । अहिले पनि जनतासँगै छु । जनतासँगै रहन्छु, हुनेछु । सरल जीवनशैलीलाई मैले परिवर्तन गर्नुपर्छ भन्ने पनि छैन । आजै बिहान पनि वृक्षारोपण गरेर धूलैधूलो हिलै हिलो सहित यहाँ आएको हुँ । जो मान्छेले माटो छुँदैन नि त्यो मान्छेलाई माटोको मायाँ पनि हुँदैन । मैले प्रचण्ड, केपी ओली, शेरबहादुर देउवा र राजेन्द्र लिङ्देनलाई पनि बोलाएको छु आएका छैनन् । आए भने माटो दिएर पठाउँछु । माटो छुनुप¥यो नि ? राजनीति गर्छु भनेर मात्रै हुन्छ हावामा ? माटो छोएका छैनन्, दुःख बुझेका छैनन्, पीडा बुझेका छैनन् । त्यसले के राजनीति गर्छ ? त्यो धरातलमा उभिएको मान्छे होइन म । विरोधीले कम्ता भन्छन् र मलाई ? मेयर भएर ढुंगा बोकेको छ भन्छन् । मेयर भएर अफिसमा काम मैले के गरेको छैन ? मेयरले गर्ने काम त मैले गर्छु नि । शनिबार आएर काम गरेको पनि आलोचना गर्छन् । म काम गरिरहन्छु, विरोधीले विरोध गरेर के हुन्छ र ?
अर्को प्रसंग, तपाई काठमाडौंमा भएको स्वतन्त्र जनप्रतिनिधिहरुको भेला जानुभएन किन ?
म भनेको धराने जनताप्रति इमान्दार भएर काम गर्नुपर्छ भन्ने मान्छे हुँ । म नितान्त फरक छु । कतिले तपाई नै हो मेयर ? भन्नुहुन्छ । म होइन मेरो भाइ हो भन्छु (हाँसो) । मेयर भन्ने बित्तिकै करोडौंको गाडीमा हिंड्नुपर्ने, बडीगार्ड लिएर हिंड्नुपर्ने, अरुसँग मिडियासँग पनि नबोल्नुपर्ने रैछ । त्यही भएर म फरक भएँ के ? त्यही भएर मानिसले सोध्छन् तपाईं नै हो त मेयर भनेर । अनुहार त ठ्याक्कै मिल्छ त भन्छन् । अनि म उत्तर दिन्छु म होइन मेरो भाइ हो । (हाँसो….)
मैले सोधेको काठमाडौंको भेलामा नजानुको कारण चाहिं के हो ?
म अलिक फरक छु । उहाँहरु भेला गर्नुहुन्छ । मलाई पनि निमन्त्रणा गर्नुभएको थियो । स्वतन्त्रको संगठन हुँदैन । स्वतन्त्रको संगठन बनाउने हो भने त्यो पार्टी भइगयो नि । स्वतन्त्र भनेको एक्लै हुन्छ नि । त्यही भएर पनि हो । उहाँहरुले संगठन बनाउन खोजे जस्तो लाग्यो । मैले उहाँहरुलाई शुभेच्छा दिए । समय पनि थिएन । व्यस्ता पनि भएँ । म धरानभन्दा बाहिर नगै नहुने ठाउँमा मात्रै जान्छु । त्यस्तो कार्यक्रममा जाँदिन ।




























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।