उर्लाबारी ।ग्राहक र स्थानीयको करोडौ रकम ठगेर मोरङको उर्लाबारीका एकजना ब्यापारी फरार भएका छन् ।
उर्लाबारी–७ स्थित बरगाछी घर भइ हार्डवयेर पसल सञ्चालन गर्दै आएका विनोद ओली एक महिनादेखि सम्पर्कविहीन बनेका हुन् ।
लामो समयदेखि उनले बरगाछीमा एक हार्डवयेर पसल सञ्चालन गर्दै आएका थिए । चाहिएजति सिमेन्ट, रड उपलब्ध गराउने सर्तमा ग्राहकबाट अग्रिम भुक्तानी लिएका उनले स्थानीयबासी, बैंक तथा वित्तीय संस्थाको गरी करोडौ कुम्ल्याएर फरार भएको पाइएकोछ ।
प्रहरी कार्यालय र नगरपालिकामा उनीविरुद्ध उजुरीको चाङ छ । ठगिएको थाहा पाएर पैसा माग्न जाँदा एक महिनादेखि उनी सम्पर्कविहीन बनेको पीडितहरुको गुनासो छ । ओलीलाई सम्पर्कमा ल्याई गुमेको पैसा फिर्ताका लागि पहल गरिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिकामा पीडितहरु पुग्ने गरेका छन् ।
अहिलेसम्म ३५ जनाभन्दा धेरैले आफू ओलीबाट पीडित भएको भन्दै गुनासो गरेका छन् । ओलीबाट ठगिएको भन्दै आउनेको संख्या ठूलो रहेको प्रहरीले जनाएको छ । ओली उर्लाबारी जेसीजका पूर्वअध्यक्षसमेत हुन् ।