तिलमायाको पिडा : जहाँ घर सार्‍यो, त्यहीँ खोला सर्‍यो

विराटनगर । मोरङको सिंघिया खोलाले विराटनगर महानगरपालिका–८ की तिलमाया भण्डारीको घर ३ पटक बगाइसक्यो । खोलाले धार परिवर्तन गर्दै उनको घर ३ पटक बगाएको हो ।

विक्रम संवत् २०७४, २०७८ र २०७९ सालमा उनको घर बगेको छ ।

२०७४ सालमा पहिलोपटक उनको घर बगाइएको थियो । त्यसपछि उनले खोलाभन्दा केही पर आफ्नै नम्बरी जग्गामा पुनः घर बनाइन् तर २०७८ मंसिर १ गते आएको बाढीले पुनः घर बगायो ।
भाग्यले साथ नदिएको भन्दै उनले तेस्रो घर पनि बनाइन् । घर बनाएको १ वर्ष नबित्दै उनले त्यो घर पनि छाडेर हिँड्नुपरेको छ ।

मंगलवारको अविरल वर्षासँगैको बाढीले उनको घर क्षतिग्रस्त भएको छ । ‘घरको आधा भाग चर्केको छ,’ तिलमायाले भनिन्, ‘खोला पनि घरको छेउमै आइपुग्यो ।’

उनी विराटनगर महानगरपालिका–८ मा बस्दै आएको १५ वर्षभन्दा बढी भयो । ३ जना संघीय सांसद र १ जना प्रदेश सांसद तथा २ जना मेयरलाई भोट हालेर जिताइन् उनले ।

‘खोलामा तटबन्ध गरिदिन्छौ’ भनेर उनीसँग भोट मागेका नेताहरूले सुनुवाइ नगरेपछि उनी सुकुम्वासी हुन पुगेकी छन् । भोट पाएर जितेर गएपछि कोहि पनि फर्केर नआएको उनले दुखेसो सुनाईन।

मंगलवार उनको घरमा पुग्दा छरछिमेकीहरू उनका घरका सामग्री सडकमा निकालिरहेका थिए । घर बगाउन लागेको थाहा पाएपछि भण्डारीको घरमा पुगेका वडाध्यक्ष राम पोख्रेलसँग उनले आँखाभरि आँसु पार्दै केही दिनका लागि बस्ने ठाउँको व्यवस्था मिलाइदिन आग्रह गरिन् । घरबाट सामाग्रिहरु सडकमा निकालेर राखिएको थियो । उनि त्यो घरमा एक्लै बस्दै आएकि थिइन । अध्यक्ष पोख्रेलले पिडित तिलमायालाई सुरक्षित स्थानमा राख्ने बताएका छन ।

विराटनगर–८ का मात्रै ४० परिवार विस्थापित भएको अध्यक्ष पोख्रेलले बताए ।  अध्यक्ष पोख्रेलका अनुसार डुबानमा परेकालाई त्रिपाल टागेर राखिएको छ । प्रदेश र संघीय सरकारले बजेटको व्यवस्थापन नगरेसम्म यस्तै समस्या हुने उनी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १८३ घर डुबान हुँदा ७२३ परिवार विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा राखिएको मोरङ प्रहरीले जनाएको छ ।

 

मङ्गलबार, १४ असार, २०७९, साँझको ०७:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर