लोड हुँदैछ...

मेनु

विराटनगर विमानस्थल पीडितको माग प्रति प्रधानमन्त्री सकारात्मक

विराटनगर विमानस्थल पीडितको माग प्रति प्रधानमन्त्री सकारात्मक

विराटनगर। कि जमिनको मुआब्जा दिनुपर्ने कि रोक्का जमिन फुक्का गरिनुपर्ने माग राखेर एक साता देखी सडक आन्दोलन रहेका विराटनगर विमानस्थल पीडितहरूको मागमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । उनले पहिले जमिनको रोक्का फुकुवा गरिदिने र पछि बजेटको व्यवस्था गरेपछि विमानस्थल क्षेत्रीय स्तरको बनाउन आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

आइतबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगर पालिकाका पूर्व मेयर तथा नेका केन्द्रीय सदस्य भीम पराजुली सहित ५ जनाको टोलीले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर २० वर्षदेखि विराटनगर विकासमा पछि पर्दै गएको र विकासका लागि प्रधानमन्त्रीले पहल गरिदिन आग्रह गरेको थियो ।

विराटनगर विमानस्थल क्षेत्रीय स्तरको बनाउन बजेट विनियोजन नगरिएको र स्थानीयको मुआब्जा पनि वितरण नगरिएको कारण स्थानीयले सडक आन्दोलन गरिरहेको जानकारी अर्यालले प्रधानमन्त्रीलाई गराएका थिए । पूर्व मेयर पराजुलीले विराटनगर विमानस्थलको ठेक्का लागि सकेको टर्मिनल भवनको ठेक्का रद्द गरेर विराटनिरको विकासलाई पछि धकेल्ने काम भएको प्रधानमन्त्रीलाई बताए ।

आधा घण्टा धैर्य पूर्वक विराटनगरका समस्या सुनेका प्रधानमन्त्रीलाई विराटनिरको रिङ रोड शिलान्यास भएको ४० वर्ष पुग्दा पनि नबनेको, विराटनगरको डुबानको  समस्या समाधान नभएको, प्रदर्शनी स्थल नबनेको, ६ सय बिगा जमिन भएर पनि अमडुवामा स्पेसल इकोनोमीक जोन बन्न नसकेको लगायतका माग पराजुलीले राखेका थिए ।

अमृत अर्यालका अनुसार प्रधानमन्त्रीले विराटनगरको विकासका लागि आफू लाग्ने आश्वासन  दिएको बताए । प्रधानमन्त्रीले विराटनगर विमानस्थल पीडितको समस्या नयाँ नागरिक उड्डयन मन्त्री आएपछि आफूले तत्काल जग्गा फुक्का गरिदिन भन्ने र पछि बजेटको व्यवस्था भएपछि विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन काम अघि बढाउने बताए ।

प्रधानमन्त्रीसँगको साक्षात्कारमा अर्याल र पराजुलीसंगै विराटनगरबाट भेषराज पोखरेल, ज्ञानबहादुर खड्का,  प्रदीप भगत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds