विराटनगर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १– दिक्तेल बजारको रत्नपार्कमा निर्माण गरिएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क सामान्य वर्षामै भासिएको छ । पर्खाल र मैदान भासिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नगरपालिकासँगको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँको लागतमा शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान निर्माण गरेको थियो।
गत फागुन ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन मेयर दीपनारायण रिजाल र उपमेयर विणादेवी राईले कम्प्लेक्स र चिल्ड्रेन पार्क उद्घाटन गरेका थिए। निर्माण कम्पनी उमालामा अनशुबी जेभीले ठेक्का लिएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क २०७८ जेठ ६ गते शिलान्यास गरिएको थियो।
व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको शपिङ कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि चिल्ड्रेन पार्क निर्माण गरिएको छ। माटो भरेर पर्खाल उठाइएका कारण चिल्ड्रेन पार्कको मैदान भासिएको देखिएको मेयर तीर्थराज भट्टराईले बताए।
चिल्ड्रेन पार्कको एकतिरको भाग शपिङ कम्प्लेक्सको पेटीसम्मै भासिएको छभने चिल्ड्रेन पार्कको मैदानको स्वीमिङ पुल पनि भासिएको छ। जसले गर्दा पर्खाल पनि चर्किएको छ।

