विराटनगर ।विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब कम गर्दै बजेट ल्याउने भएको छ ।
विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । उक्त बजेटको आकार संशोधन हुने भएको छ । ‘चालू आर्थिक वर्षको बजेट घट्छ, आम्दानी घटेपछि बजेटको आकार घट्ने भएको हो,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले भने ।
आगामी आर्थिक वर्षको बजेट पनि ३ अर्ब ५० करोड देखि ३ अर्ब ६० करोड भित्रमा रहेर आउने महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बताए । ‘साढे ३ अर्बदेखि ३ अर्ब ६० करोडको बीचमा बजेट आउँदैछ,’ कोइरालाले भने ।
नव निर्वाचित पदाधिकारीको पहिलो बजेट कस्तो आउँछ भन्ने सर्वत्र चासो भइरहेको भएपनि महानगरका प्रमुख कोइरालाले भने ठूला योजना केही नआउने बताए । ‘विराटनगरको बजेट घाटामा छ । विराटनगरको आर्थिक अवस्था भोली तपाईले पनि बुझ्नुहुन्छ । त्यसलाई ध्यानमा राखेर बजेट आउँछ । अहिलेको बजेटमा ठूला योजना छैनन् । हामीले समेट्न जे सकेको छ त्यही अनुसार गरेका छौं,’ कोइरालाले भने, ‘अहिले बजेट जति घटायो त्यति राम्रो हुन्छ भन्ने लागेको छ । पहिले विराटनगरलाई नाफामा ल्याउने र मात्रै विकास निर्माणलाई तीब्रतामा लाने भनेर काम गर्दैछौं ।’
महानगरपालिका घाटामा गएको कारणले अप्ठ्यारो भएको भन्दै उनले घाटालाई पूर्ति गर्दै विकास निर्माणको काम अगाडि बढाउनु पर्दा समस्या भइरहेको बताए । ‘अर्को आउने आर्थिक वर्षमा हामी सबै दायित्वलाई पूरा गरेर तीब्र गतिमा अगाडि बढ्छौं भन्ने लागेको छ,’ उनले भने ।
वैशाख ७ मै आउनुपर्ने नीति तथा कार्यक्रम पनि भोली नै आउने
विराटनगर महानगरपालिकाले निर्वाचनलाई कारण देखाउँदै नीति तथा कार्यक्रम पनि भोली (शुक्रबार) एकै दिन ल्याउन लागेको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र त्यसपछि बजेट प्रस्तुत हुने महानगरपालिकाका प्रमुख कोइरालाले जानकारी दिए । ‘भोली हामी नीति र कार्यक्रमलाई पारित गर्ने र अनुमानित लक्ष्य हामीले प्रस्तुत गर्छौं,’ उनले भने, ‘हामी आएको पनि १५, २० दिन मात्रै भयो । सबै कुरा जानको पनि छैनौं, बुझेको पनि छैनौं । धेरै आइडिया पनि थिएन हामीलाई । विराटनगर महानगरपालिकाको अवस्था, प्रारुप र स्वरुप हेरेर हामी जति गर्न सक्छौं त्यही हिसावले अगाडि बढेका छौं । अब छिटोभन्दा छिटो हामी काम गर्न चाहिरहेका छौं ।’ नीति तथा कार्यक्रम र बजेटमा चुनावमा जाँदा जे कुरा राखेका सबै काम सुरु गर्न नसकेपनि केही गर्न कोशीस गरिरहेको उनले बताए ।
स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका विभिन्न ७ वटा चरणहरु रहेका छन् । उक्त चरण अनुसार बजेटको पूर्व तयारी, स्रोत अनुमान र कूल बजेट सीमा निर्धारण, बस्ती÷टोलस्तरबाट योजना छनौट, वडास्तरीय योजना प्राथमिकता निर्धारण, एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा, कार्यपालिकाबाट स्वीकृति र सभामा पेश र सभाबाट स्वीकृति गर्नुपर्ने चरणहरु छन् । सो अनुसार सरकारको नीति तथा कार्यक्रम वैशाख ७ गतेभित्र पारित गरिसक्नुपर्ने प्रावधान छ । तर, स्थानीय निर्वाचनको कारण विराटनगर महानगरपालिकाले उक्त तयारी गर्न नसकेको जनाएको छ ।
विगत पाँच आर्थिक वर्षमा कति–कति बजेट ?
आर्थिक वर्ष ०७४/०७५ मा ८४ करोड ६३ लाख १० हजारको बजेट ल्याएको विराटनगरले आर्थिक वर्ष ०७५÷०७६ मा ४ अर्ब ७४ करोड ८५ लाख बजेट ल्याएको थियो ।
आर्थिक वर्ष ०७६/०७७ मा ४ अर्ब ४३ करोड ३४ लाख ४४ हजार बजेट ल्याएको महानगरपालिको यथार्थ आय भने त्यसको आधामा खुम्चियो । उक्त आर्थिक वर्षको ययार्थ आम्दानी २ अर्ब ४८ करोड २८ लाख मात्रै भएको थियो । यस्तै आर्थिक वर्ष ०७७/०७८ मा पनि ४ अर्ब ६ करोड ५५ लाखको बजेट ल्याएको थियो । यस्तै चालू आर्थिक वर्षका लागि महानगरपालिकाले ४ अर्ब ६० करोड ८१ लाखको बजेट ल्याएको थियो । आर्थिक वर्ष ०७८/०७९ को बजेटमा आगामी दुई आर्थिक वर्षको बजेटको आधार पनि अनुमान गरिएको थियो । उक्त बजेट अनुसार आगामी आर्थिक वर्ष ०७९/०८० का लागि ४ अर्ब ७७ करोड १७ लाख र आर्थिक वर्ष २०८०/०८१ का लागि ५ अर्ब १७ करोड हुने अनुमानित आय प्रस्तुत गरेको थियो । महानगरको उक्त अनुमान यस पटकको बजेट आउँदासम्ममा फेल हुने देखिएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।