चितवन । निर्वाचन अधिकृतले बदर गरेको मत सदर हुनुपर्ने माग गर्दै नेकपा एमालेका मतगणना प्रतिनिधिले विवाद गरेपछि चितवनको भरतपुर महानगरपालिकाको मतगणना अबरुद्ध भएको छ ।
एउटा मतपत्रमा छाप संकेत नदेखिएको भन्दै मतगणना अधिकृतले बदर गरेपछि एमालेले सो मतपत्रमा सूर्यमा छाप रहेको भन्दै सदर हुनुपर्ने माग गरेका थिए ।
मतचिन्हभित्र पर्ने गरेर छाप लगाएपनि संकेत मधुरो देखिएको नाममा बदर गरेको एमालेको भनाइ छ । विवादका कारण गणना स्थलभित्र होहल्ला भएको छ । एमालेका प्रतिनिधि अस्विन घिमिरेले त्यो मत सदर गर्नुपर्ने आफुहरको माग रहेको बताए ।
पहिला सदर गरेको मतपत्र पछि श्रीमानले बदर भनेको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृत र गणक कर्मचारीको भूमिका शंकास्पद रहेको अराोप लगाएको छ । एमालेले यो विषयको टुंगो नलागेसम्म एमालेका कोही पनि प्रतिनिधि गणनामा नबस्ने जनाएको छ ।
भरतपुरमा वडा नम्बर १ को गणना सकिएर २ को गणना भइरहेको छ । पछिल्लो परिणामअनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १८६७ र नेकपा एमालेका विजय सुवेदीले १८१४ मत पाएका छन् ।