विराटनगर । प्रदेश १ का १३७ स्थानीय तहमध्ये अहिलेसम्म ११६ स्थानीय तहको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार गणना जारी रहेका स्थानीय तहमा नेपाली काँग्रेसको अग्रता छ ।
काँग्रेसले अहिले ६६ वटा स्थानीय तहमा अग्रता लिएको छ भने नेकपा एमालेले ३२, माओवादी केन्द्रले १२, एकीकृत समाजवादीले ३, जसपाले २, राप्रपाले १ र स्वतन्त्र उम्मेदवारले १ स्थानीय तहको नेतृत्वमा अग्रता कायम गरेका छन् । धनकुटाको सहिदभूमि गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान हुन बाँकी छ भने बाँकी २० स्थानीय तहको मतगणना परिणाम सार्वजनिक भएको छैन ।
अहिलेसम्म मतरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये पाँचथरमा काँग्रेसले ६, माओवादी केन्द्रले १ र एमालेले १ स्थानीय तहमा अग्रता लिएको पाइएको छ । यस्तै ताप्लेजुङमा एमाले ४, काँग्रेस ३ र माओवादी १, इलाममा काँग्रेस ५, एमाले २ र एकीकृत समाजवादी २, झापामा काँग्रेस ८, एमाले ५, राप्रपा १ र स्वतन्त्र १ तथा मोरङमा काँग्रेस ७ र एमाले ६ स्थानीय तहमा अग्रता कायम गरेका छन् ।
यस्तै सुनसरीमा काँग्रेसले ६, एमालेले ३ र जसपाले १, धनकुटामा काँग्रेसले ३ र एमालेले ३, संखुवासभामा काँग्रेस ४, माओवादी २ र एमाले १, भोजपुरमा काँग्रेस ६, माओवादी १ र एमाले १,
तेह्रथुममा काँग्रेस ५ र एमाले १, ओखलढुंगामा काँग्रेस ५, एमाले १, माओवादी १ र जसपा १, खोटाङमा काँग्रेस ३ र माओवादी ३, सोलुखुम्बुमा काँग्रेस ४, माओवादी २ र एमाले १ तथा
उदयपुरमा एमाले ३, काँग्रेस १, समाजवादी १ र माओवादी १ तहमा अगाडि छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा १३७ पालिकामध्ये एमालेले ६९ पालिका जितेको थियो भने नेपाली काँग्रेसले ५४ (फोरम लोकतान्त्रिकबाट जितेका ३ सहित), माओवादी केन्द्रले ९, राप्रपाले ३ र जसपाले २ स्थानीय तहको नेतृत्व जितेको थियो ।