काठमाडौ । स्थानीय तहको निर्वाचनमा देशकै सर्वाधिक चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले जित्ने निश्कर्ष एक संस्थाले निकालेको छ ।
निर्वाचनसम्बन्धी अध्ययन, अनुसन्धान गरिरहेको संस्था ‘मिडिया आउटलेट’ ले भरतपुर महानगरपालिकामा मतगणना पूर्व ‘एक्जिट पोल’ गरेपछि यस्तो नतिजा सार्वजनिक गरेको हो ।
शुक्रबार मतदान भइहरेको बेला महानगरमा गरिएको सर्वेक्षणको नतिजाअनुसार भारतपुर महानगरको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार दाहालले जित्नेछन्। मिडिया आउटलेटका निर्देशक अरुण लम्सालका अनुसार भरतपुरका विभिन्न वडामा पुगेर ७५७ जनामा गरिएको नमूना सर्वेक्षणमा दाहालले मेयरमा जित्ने निश्कर्ष निस्किएको हो ।
लम्सालका अनुसार ७५७ जनामा गरिएको सर्वेक्षणमा माओवादी उम्मेदवार रेनु दाहालका पक्षमा ३११ मत अर्थात ४१.०८ प्रतिशत समर्थन देखिएको छ। त्यस्तै नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीको पक्षमा २६२ मत अर्थात ३४.६१ प्रतिशत देखिएको छ।
भरतपुरको मेयरमा नेपाली काँग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई मतदान गर्छु भन्नेहरुको संख्या ९५ अर्थात् १२.५४ प्रतिशत देखिएको लम्सालले बताए। २०७४ को चुनावमा माओवादी र कांग्रेसबीच गठबन्धन भएका बेलामा रुख चिह्नमा ७ हजार भोट खसेकोमा यसपटक २.९८ प्रतिशत मत रुखमै खस्ने देखिएको लम्सालले बताए ।
भरतपुर महानगरपालिकाभित्र ७५७ जनामा गरिएको एक्जिट पोलका क्रममा २८ वटा अर्थात् ३.६९ प्रतिशत मत बदर भएको छ। सत्ता गठबन्धनबाट दाहाल र उपमेयरमा चित्रसेन अधिकारी उम्मेदवार हुँदा एमाले र राप्रपा गठबन्धनबाट उपमेयरको उम्मेदवार राप्रपाका छन् । हलोमा भने १५ जना अर्थात् १.९८ प्रतिशतले मात्र मतदान गरेको बताइएको छ ।
मिडिया आउटलेटले शुक्रबार भरतपुर महानगरपालिकाका विभिन्न मतदानस्थलमा बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मत सर्वेक्षण गरेको थियो। भरतपुर महानगरपालिकाका वडा नम्बर २, ४, ७, ८ र १२ मा सो सर्वेक्षण गरिएको लम्सालले बताए।
गत स्थानीय तहको निर्वाचन परिणामलाई आधार बनाएर नमूना वडाहरु छानिएको लम्सालको भनाई छ। निर्वाचन स्थल चयन गर्दा विगतमा कांग्रेस, माओवादी, एमाले र अन्य दलले पाएको मत प्रतिशतका आधारमा वडाहरु छानिएको उनले बताए।
२०७४ को चुनावमा नेकपा एमालेले वडा स्तरमा ३५ प्रतिशत मत पाएको थियो। कांग्रेसले ३८, माओवादीले २० र राप्रपाले ७ प्रतिशत मत पाएको आधारमा वडाहरु छनोट गरिएको उनको भनाई छ। पाँच वटा वडाका पाँच मतदान केन्द्रमा ३६ हजार ७७५ मतदाता रहेको स्थानमा नमूना मतपत्रका आधारमा एक्जिट पोल गरिएको हो ।
स्वतन्त्र अनुसन्धानको सिद्धान्त अपनाएर स्याम्पलिङ गर्दा आएको निश्कर्षमा दाहालले जित्ने देखिएको बताउँदै लम्सालले मतगणनाबाट यस्तै नतिजा आउनेमा आफू विस्वस्त रहेको बताए । (नेपालखबरको सहयोगमा)