मोरङमा मतगणना शनिबारदेखि मात्रै हुने

विराटनगर । जल तथा मौसम विज्ञान विभागले मतदानको दिन पानी पर्न सक्ने जनाएपछि मोरङका मतदानस्थलमा मतपेटिका सुरक्षित गर्नका लागि टेन्ट तथा त्रिपालको व्यवस्था गरिएको छ ।

विभागले चुनावका दिन प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको थियो । मौसमको प्रतिकूलतालाई हेरेर मतदानस्थलमा मतपेटिका सुरक्षित गर्नका लागि त्रिपाल, प्लास्टिक तथा टेन्टको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए । ३०० मतदानस्थल र ८२० वटै मतदान केन्द्रमा मतपेटिका सुरक्षित गर्नका लागि पानी पर्दा पनि मतपेटिका नभिज्ने व्यवस्था मिलाइएको उनले बताए ।

मतदानस्थलदेखि मतगणनास्थलसम्म सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रजिअ दाहालले बताए । मोरङमा नेपाल प्रहरीका १ हजार ९७२, सशस्त्र प्रहरीका ६८६, राष्ट्रिय अनुसन्धानका ५० र म्यादी प्रहरी ३ हजार १२४ जना सुरक्षाकर्मी निर्वाचनमा खटिएका छन् । निर्वाचन सुरक्षामा नेपाली सेना पनि परिचालित भएको छ ।

मोरङका १७ वटै स्थानीय तहमा मतगणनास्थल समेत तयारी गरिसकिएको छ । मतगणनास्थलमा तारजाली लगाउने सीसी क्यामरा जडान गर्ने जस्ता काम सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना भने शनिवार बिहानदेखि मात्रै गरिने मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताए ।

निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना गर्न निर्देशन दिएको छ । मोरङका भौगोलिक विकटता भएका क्षेत्रबाट मतदानस्थलमा मतपेटिका आउन समय लाग्ने तथा मतदानमै खटिएका कर्मचारीलाई गणनामा राख्नुपर्ने भएकाले शनिवार बिहानदेखि गणनाको तयारी थालिएको मुख्य निर्वाचन अधिकृत लम्सालले बताए ।

बैशाख २९, २०७९, साँझको ०७:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर