एमाले उम्मेदवार अधिकारी दमकको सुकुमबासी बस्ती पुगेपछि आक्रोश

दमक । मौन अवधिमा बिहीबार झापाको दमक नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदकी उम्मेदवार गीता अधिकारी मतदाता प्रभावित पार्न सुकुमबासी बस्ती पुगेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

अधिकारी बिहीबार दमक– ४ स्थित शान्तिटोल पुगेपछि स्थानीयले आक्रोश व्यक्त गर्दै मौन अबधिमा आउनुको कारण सोधेर केरकार गरेका थिए ।

अधिकारी दुईवटा गाडी लिएर आफ्नी छोरीसहित बस्तीमा पुगेकी थिइन् । बस्तीका एक घरमा उनी छिरेको जानकारीपछि भेला भएका स्थानीयले ५ वर्ष उपमेयर हुँदा केहि वास्ता नगरेर अहिले मतदाता प्रभावित पार्न आएको आक्रोश व्यक्त गरेका थिए । स्थानीय प्रेम तामाङका अनुसार एक घरमा आएर गाउँका मान्छे भेला गराउन छलफल गरिरहेको बेला आफूहरु पुगेर भिडियो खिच्न थालेपछि उनी भागेको बताए ।

मौन अवधिमा यसरी गाडीका गाडी मान्छे लिएर उम्मेदवार आउनु मतदातालाई प्रभावित पार्ने प्रयास भएको स्थानीय दीपक गुरुङको भनाइ छ । ‘सुकुमबासीहरू चाँडो प्रभावित हुन्छन् भनेर उम्मेदवारहरुले यसो गरिरहेका छन्,’ उनले भने, ‘अरुबेला वास्ता नगर्ने दलका नेता र उम्मेदवारहरु चुनाब आएपछि हाम्रो बस्तीको चक्कर काटिरहेका छन् ।’

निर्वाचन आयोगले यो मौन अवधिमा मतदाता प्रभावित पार्ने छलफल, प्रचार प्रसारलगायतका काम नगर्न उम्मेदवार तथा दललाई निर्देशन जारी गरेको छ।

स्थानीयले मौन अबधिमा बस्तीमा किन आएको भनेर प्रश्न गरेपछि अधिकारीले बिरामी हेर्न आएको उत्तर दिएको भिडियोमा देखिन्छ । आफ्नो ड्राइभरको दिदी विरामी रहेकोले उनलाई हेर्न आएको उनले बताएकी छन् । स्थानीयले भने एक वर्षदेखि बिरामी भएको मान्छेलाई चुनाबको अघिल्लो दिन मात्र सम्झनुले उनको नियत प्रष्ठ हुने बताएका छन् ।

बैशाख २९, २०७९, साँझको ०५:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर