भोजपुर । मौन अवधिको उल्लंघन गर्दै भोजपुरको अरुण गाउँपालिकामा उम्मेदवारहरुले मतदाता प्रभावित पार्न खोजेको भन्दै स्थानीयले घेराउ गरेका छन् ।
अरुण गाउँपालिका ७ स्थित सिक्रेटारमा बुधबार राति ९ बजे नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद घिमिरेसहितको समूहलाई स्थानीयले घेरा हालेर नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेर अध्ययक्षका उम्मेदवार घिमिरेरसहित उपाध्यक्षकी उम्मेदवार कविता राईसमेत स्थानीय लीलाबहादुर खड्काको घरमा भेटिएपछि तनाबको अवस्था बनेको थियो । निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि चुनाव लक्षित प्रचारप्रसारका कुनै पनि गतिविधि नगर्न भनेपनि त्यसको उल्लंघन गर्दै पैसा र चामल दिने आश्वासन दिएको भेटिएपछि स्थानीयले उनीहरुमाथि घेराबन्दी गरेर गाउँ छाड्न भनेका थिए ।
उम्मेदवार आएको जानकारीपछि पुगेका स्थानीयलाई अध्यक्षका उम्मेदवार घिमिरेले धम्क्याएपछि अवस्था तनावपूर्ण बनेको थियो । ‘हामीलाई बाधा पुर्याए अवस्था राम्रो नहुने’ भन्दै उनले भन्दै धम्की दिएको स्थानीयले बताएका छन् । तनाबको अवस्थाबारे जानकारी पाएपछि पुगेको सुरक्षाकर्मीको टोलीले उनीहरुलाई गाउँबाट फर्काएको थियो ।


