इलाम । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनपछि मतगणनाका लागि इलामको निर्वाचन कार्यालयहरुले गणनास्थल पनि तयार गरेका छन् ।
इलाम नगरपालिकाको मतगणनाको लागि तारजालीले घेराबारा गरेर गणनास्थल तयार गरिएको छ ।
नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको नयाँ भवनमा हुनेछ । त्यसका लागि ठूलो कोठामा भित्रपट्टी मतगणना गर्ने गणक बस्ने तथा दल र उम्मेदवारका प्रतिनिधिले जालीभन्दा बाहिरपट्टिबाट हेर्नेगरी व्यवस्था मिलाइएको छ ।
मतगणनालाई सुरक्षित गर्न तारजालीसहितको गणनास्थल तयार गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका कर्मचारी शुक्रराज राईका अनुसार गणनास्थलमा सिसी क्यामेरासमेत जडान गरिएको छ । मतदान सकिएर सबैतिरको मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर गणना सुरु हुनेछ ।
जिल्लाका १० वटै पालिकाका केन्द्रमा मतगणनास्थल तयार गरिएको छ । अन्य स्थानीय तहका मतगणनास्थल पनि तारजाली लगाएर भित्रपट्टि गणना गर्ने तथा बाहिरपट्टिबाट अन्य प्रतिनिधिले हेर्नेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएपनि जडान गर्ने कम्पनी फरक पर्दा केही स्थानीय तहका मतगणनास्थलमा समस्या भएको छ । सिसी क्यामेरा जडान भएपनि सर्भर कनेक्सन नभएकाले निर्वाचन आयोगले देख्न नमिल्ने भएपछि समस्या आएको हो । त्यसको समस्या समाधान गर्ने तयारी भइहरेको निर्वाचन कार्यालयले जनाएको छ ।