विराटनगर । विराटनगर महानगरपालिकाको उपप्रमु्ख पदमा नेकपा एमालेबाट उम्मेदवार बनेकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै दायर रिटको सुनुवाई आज सर्बोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको इजलासमा हुने भएको छ ।
कार्कीले किर्ते कागजात पेश गरेकोले उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा अदालतमा दायर भएको रिटमाथि अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय आजको इजलासले गर्नेछ ।
यसअघि वैशाख २२ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलाले रिटमाथि सुनुवाई गर्दै अन्तरिम आदेशबारे दुबैपक्षसँग छलफलपछि निर्णय गर्ने आदेश गरेको थियो । दुबै पक्षलाई राखेर छलफलपछि अन्तरिम आदेश गर्ने कि नगर्ने भन्ने निर्णय गर्नुपर्ने भन्दै फुयालको इजालासले आजको पेशी तोको थियो ।
फुयालकै इजलासले रिटको पूर्ण सुनुवाईको लागि १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश गरिसकेको छ । उम्मेदवार कार्कीले बुझाएको किर्ते राजीनामाको कागजातको आधारमा जानाजान मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी सदर गराएको भन्दै उम्मेदवारी बदर गराउन जसपाबाट उपमेयरको उम्मेदवार भएका अमरेन्द्र यादवले रिट दर्ता गरेका हुन् ।
निर्वाचन आयोगले आफैं आचारसंहिताको निर्देशिका उल्लंघन गरेर कार्कीविरुद्धको उजुरी सुनुवाई नगरेको भन्दै रिटमा आयोगलाई पनि विपक्षी बनाइएको छ । कार्कीले कोशी अस्पाताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिइ उम्मेदवारी दिएको भन्दै विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले उम्मेदवारी खारेजी माग गर्दै उजुरी दिएका थिए । निर्वाचन कार्यालयले उजुरकर्ताको माग दाबी नपुगेको भन्दै कार्कीको उम्मेदवारी सदर गराएपछि यादव न्याय खोज्दै सर्वोच्चसम्म पुगेका हुन् ।