विराटनगर । यसपटकको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको प्रष्ट निर्देशन थियो, ‘सत्तारुढ दलहरुबाहेक अरुसँग स्थानीय तहमा चुनावी तालमेल नगर्नु ।’ यस्तै नेकपा एमालेको घोषणा थियो, ‘एक्लै चुनाब लड्ने ।’
केन्द्रका नेताहरुको यस्तो निर्देशन लत्याउँदै सत्ता गठबन्धनका दलहरुले प्रदेश १ का केही स्थानीय तहमा ‘स्थानीय आवश्यकताका आधारमा’ बहुरंगी गठबन्धन गरेका छन् । अझ रोचक त के छ भने सत्ता गठबन्धनका दलहरुलाई ‘एक–एक किलोको ढक’ को संज्ञा दिँदै एमाले एक्लै ‘क्विन्टल’ भएको दाबी केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेले पनि विभिन्न पार्टी मात्र नभएर व्यक्तिसँग पनि गठबन्धन गरेको छ ।
प्रदेश १ का १४ जिल्लामा १ महानगर, २ उपमहानगर, ४६ नगरपालिका र ८८ वटा गाउँपालिका गरी कूल १३७ स्थानीय तह छन् । यीमध्ये ३५ वटा स्थानीय तहमा मात्र प्रमुख दलहरु एक्ला–एक्लै चुनाबी प्रतिष्पर्धामा छन् । बाँकी १०२ वटा स्थानीय तहमा भने कुनै न कुनै रुपको चुनावी तालमेल भएको छ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित सत्तारुढ गठबन्धनले प्रदेशका ९१ वटा स्थानीय तहमा तालमेल गरेका छन् । तीमध्ये कतिपय पालिकामा भने गठबन्धनको एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तालमेलबाट अलग रहेको देखिन्छ । त्यसबाहेक गठबन्धनभित्रकै जसपासँग एक ठाउँ र एकीकृत समाजवादीसँग एक गरी दुई ठाउँमा काँग्रेसले फरक गठबन्धन गरेको छ । प्रदेशका ७ स्थानीय तहमा सत्ता गठबन्धनभित्रैका अन्य दलले काँग्रेसबाहेकको तालमेल गरेका छन् ।
प्रदेशका दुई स्थानीय तहमा काँग्रेसले एमालेसँगसमेत चुनावी तालमेल गरेको छ । माओवादी र एमाले सहकार्य रहेको पालिका पनि प्रदेशमा एउटा छ । सबैको उम्मेद्वारी दर्ता भएको भएपनि खोटाङको हलेसी तुवाचुङ नगरमा माओवादी र एमालेबीच अघोषित तालमेल छ । एक पालिकामा सत्ता गठबन्धनले राप्रपासँग तालमेल गरेको छ भने एक पालिकामा एमालेले राप्रपा र राप्रपा नेपालसँग तालमेल गरेको छ ।
एमालेले प्रदेशभरीमा जम्मा ९ वटा पालिकामा विभिन्न दल र व्यक्तिसँग तालमेल गरेको छ । माओवादीका विद्रोही उम्मेदवारलाई उपाध्यक्ष स्वीकार गरेर एमालेले ताप्लेजुङको मेरिङदेन र सिदिङ्वामा तालमेल गरेको छ ।
पाँचथरको फिदिम नगरपालिकामा एमालेले दुबै राप्रपासँग तालमेल गरेको छ । पाँचथरकै फाल्गुनन्द गाउँपालिका, सुनसरीको दुहबी नगरपालिका र ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा एमालेले जसपासँग तालमेल गरेको छ । एमालेले काँग्रेससँग झापाको कचनकवल र भोजपुरको आमचोक गाउँपालिकामा तालमेल गरेको छ । कचनकबलमा राप्रपा र आमचोकमा माओवादीविरुद्ध एमालेले तालमेल गरेको हो ।
प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र धनकुटाका सबै स्थानीय तहमा सत्तारुढ गठबन्धनले तालमेल गरेका छन् । उदयपुरको ६ स्थानमा सत्तारुढ गठबन्धन सबैको र २ तहमा काँग्रेसबाहेक सत्तारुढ गठबन्धनको तालमेल छ । झापाका ४, मोरङका ७, सुनसरीका ८, ओखलढुंगाको २, सोलुखुम्बुको ७, भोजपुरको २, संखुवासभाको २, खोटाङको १ र तेह्रथुमको २ स्थानीय तहमा मात्र प्रमुख दलहरु एक्ला–एक्लै चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन् ।
ताप्लेजुङ (९ स्थानीय तह)
ताप्लेजुङका ९ वटै स्थानीय तहमा सत्ता गठबन्धनकै दलहरुबीच चुनावी तालमेल भएको छ । जसमध्ये फुङलिङ नगरमा मेयर काँग्रेस र उपमेयरमा माओवादीले लिएको छ । गाउँपालिकाहरुमा मिक्वाखोला अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, मैवाखोलामा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेस, आठराई त्रिवेणीमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, फक्तालुङमा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेस, सिरिजंघामा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, सिदिङ्वामा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, पाथिभरा याङवरक अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी तथा मेरिङदेनमा अध्यक्ष काँग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादीबाट उम्मेद्वार बनेका छन् । एमालेले सिदिङवा र मेरिङदेनमा माओवादीबाट विद्रोही उम्मेद्वारसँग गठबन्धन गरेर दुवै ठाउँमा विद्रोहीलाई उपाध्यक्ष छाडेको छ ।
पाँचथर (८ स्थानीय तह)
पाँचथरका ८ वटै स्थानीय तहमा सत्ता गठबन्धनको तालमेल भएको छ । फिदिममा मेयर काँग्रेस, उपमेयर माओवादीले लिएर तालमेल गर्दा अर्कातिर एमाले र दुवै राप्रपाले पनि तालमेल गरेका छन् । त्यहाँ मेयर एमाले र उपमेयर राप्रपाले लिएर अर्को गठबन्धन बनेको हो ।
गाउँपालिकामध्ये हिलिहाङमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष एकीकृत समाजवादी, मिक्लाजुङमा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेस, तुम्बेवामा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, कुम्मायकमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, फाल्गुनन्दमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, फालेलुङमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, याङ्वरकमा अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादीले लिएर उम्मेद्वारी दिएका हुन् । एमालेले जसपासँग फाल्गुनन्दमा गठबन्धन गरेको छ । अध्यक्ष एमाले, उपाध्यक्ष जसपाले लिएर गरेको गठबन्धनले सत्ता गठबन्धनसँग प्रतिष्पर्धा गर्नेछ ।
इलाम (१० स्थानीय तह)
इलामको १० वटै स्थानीय तहमै सत्ता गठबन्धनबीच तालमेल भएको छ । जसअनुसार सूर्योदयमा मेयर एकीकृत समाजवादीबाट र उपमेयर काँग्रेसबाट उम्मेद्वार छन् भने इलाम नगरमा मेयर र उपमेयर दुबै पदमा काँग्रेस उम्मेदवार छन् । देउमाईमा मेयर काँग्रेस र उपमेयर माओवादी तथा माईमा मेयर माओवादी र उपमेयर काँग्रेसबाट उम्मेदवार छन् ।
इलामको गाउँपालिकामध्ये सन्दकपुरमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष एकीकृत समाजवादी, माइजोगमाईमा अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष काँग्रेस, चुलाचुलीमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, रोङमा अध्यक्ष–उपाध्यक्ष दुबै काँग्रेस, फाकफोकथुममा अध्यक्ष काँग्रे र, उपाध्यक्ष माओवादी तथा माङसेबुङमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष जसपाबाट उम्मेद्वार छन् ।
झापा (१५ स्थानीय तह)
झापाका १५ पालिकामध्ये १० वटामा सत्ता गठबन्धनको र एउटामा काँग्रेस–एमालेको गठबन्धन भएको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपासहित सत्ता गठबन्धनको तालमेल हुँदा मेयर राप्रपा र उपमेयर काँग्रेसले पाएका छन् ।
झापाको गठबन्धन भएका मेचीनगर, विर्तामोडमा भद्रपुर, अर्जुनधारा शिवसताक्षी र गौरादह नगरपालिकामा मेयरमा काँग्रेस र उपमेयरमा माओवादीका उम्मेदवार छन् । यस्तै गाउँपालिकातर्फ कमल, बाह्रदसी र बुद्धशान्तिमा पनि अध्यक्ष काँग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेद्वार छन् ।
झापाको कनकाई नगरपालिका तथा झापा, गौरीगन्ज र हल्दिबारी गाउँपालिकामा दलहरुको गठबन्धन छैन । कनकाईमा काँग्रेसका विद्रोही व्यक्तिलाई माओवादी, एकीकृत समाजवादी र जसपाले समर्थन गरेका छन् ।
झापाको कचनकवलमा काँग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष लिएर राप्रपाविरुद्ध गठबन्धन गरेका छन् । सो पालिकामा यसअघि राप्रपाले जितेको थियो ।
मोरङ (१७ स्थानीय तह)
मोरङका १७ मध्ये पाँच वटामा माओवादी–काँग्रेससहितको गठबन्धन छ भने एउटामा काँग्रेस र जसपाको तथा दुई वटामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन बनेको छ । मोरङको एउटा पालिकामा काँग्रेस–एकीकृत समाजवादीबीच पनि गठबन्धन छ ।
गठबन्धनबाट विराटनगर महानगरमा काँग्रेस मेयर र जसपा उपमेयरको उम्मेद्वार बन्दा सुन्दरहरैंचामा काँग्रेस मेयर र माओवादी उपमेयर, रतुवामाईमा काँग्रेस मेयर र माओवादी उपमेयर, लेटाङमा मेयर काँग्रेस र उपमेयर माओवादीबाट उम्मेद्वार बनेका छन् । मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादीले लिएर गठबन्धन हुँदा केराबारीमा काँग्रेस र एकीकृत समाजवादीको तालमेल भएको छ । केराबारीमा अध्यक्ष काँग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादीबाट उम्मेद्वार छन् ।
मोरङको रंगेलीमा काँग्रेस र जसपाको गठबन्धन बनेको छ । काँग्रेसले मेयर र जसपाले उपमेयर लिएर रंगेलीमा गठबन्धन गरेका हुन् ।
उर्लाबारीमा एकीकृत समाजवादीले मेयर र माओवादीले उपमेयर र पथरीमा माओवादी मेयर र एकीकृत समाजवादीका उपमेयर उम्मेद्वार छन् । बुढिगंगा गाउँपालिकामा अध्यक्ष माओवादी र उपाध्यक्षमा एकीकृत समाजवादीले उम्मेद्वारी दिएका छन् । मोरङका यी तीन स्थानीय तहमा माओवादी र एसको मात्रै गठबन्धन बनेको छ ।
मोरङका सुनवर्षी र बेलबारी नगर तथा कानेपोखरी, धनपालथान,कटहरी, जहदा, ग्रामथानमा भने कुनै पनि गठबन्धन छैन ।
सुनसरी (१२ स्थानीय तह)
सुनसरीका १२ पालिकामध्ये धरान र इटहरी उपहमहानगरमा सत्तारुढ दलहरु सबैको गठबन्धन छ । बराहक्षेत्र नगरमा काँग्रेस र माओवादीको तथा दुहबी नगरमा एमाले र जसपाको गठबन्धन छ ।
धरानको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी, इटहरीको मेयरमा काँग्रेस र उपमेयर एकीकृत समाजवादी, बराहक्षेत्रको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी उम्मेद्वार छन् । एमाले र जसपाले तालमेल गरेको दुहबीमा मेयरमा एमाले र उपमेयरमा जसपा उम्मेदवार चुनाबी मैदानमा उत्रिएका छन् ।
सुनसरीको इनरुवा र रामधुनी नगर तथा कोशी, देवानगन्ज, गढी, बर्जु, भोक्राहा नरसिंह, हरिनगर गाउँपालिकामा कसैको कोहीसँग गठबन्धन बनेको छैन ।
धनकुटा (७ स्थानीय तह)
धनकुटाको ७ तहमै सत्तारुढ गठबन्धन बनेको छ । धनकुटा नगरपालिकाको मेयर काँग्रेस र उपमेयर माओवादी, पाख्रिबासको मेयर काँग्रेस र उपमेयर माओवादी, महालक्ष्मीको मेयर काँग्रेस र उपमेयर माओवादी, साँघुरीगढीमा अध्यक्ष काँग्रेस र उपाध्यक्षमा जसपा, चौबीसेमा अध्यक्ष माओवादी र उपाध्यक्षमा जसपा, छथर जोरपाटीमा अध्यक्ष काँग्रेस र उपाध्यक्षमा माओवादी तथा सहिदभूमिमा अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष काँग्रेसले लिएर तालमेल गरेका छन् ।
तेह्रथुम (६ स्थानीय तह)
तेह्रथुमका ६ पालिकामध्ये लालीगुराँस नगर र मेन्छ्याम गाउँपालिकाबाहेक सबैतिर सत्ता गठबन्धनका दलबीच तालमेल छ । म्याङलुङमा मेयर काँग्रेस र उमपेयर एकीकृत समाजवादी, छथरमा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेस, आठराईमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, फेदापमा काँग्रेस अध्यक्ष र उपाध्यक्षमा माओवादीले उम्मेद्वारी दिएका छन् ।
संखुवासभा (१० स्थानीय तह)
संखुवासभाका १० स्थानीय तहमध्ये चिचिला र सिलिचोङ गाउँपालिकामा गठबन्धन छैन । बाँकीमा सत्ता गठबन्धनका दलहरुबीच तालमेल छ ।
चैनपुर नगरमा मेयर काँग्रेस र उपमेयर माओवादी, धर्मदेवी नगरमा मेयर र उपमेयर दुबै काँग्रेस, खाँदबारी मेयर काँग्रेस र उपमेयर माओवादी, मादीमा मेयर माओवादी र उपमेयरमा काँग्रेस, पाँचखपनमा मेयर काँग्रेस र उपमेयरमा एकीकृत समाजवादीले उम्मेद्वारी दिएका छन् ।
गाउँपालिकातर्फ भोटखोलामा अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष काँग्रेस, मकालुमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, सभापोखरीमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीले लिएर तालमेल गरेका छन् ।
भोजपुर (९ स्थानीय तह)
भोजपुरका ९ स्थानीय तहमध्ये अरुण गाउँपालिका र पौवादुङ्मा गाउँपालिकामा गठबन्धन बनेको छैन । ती पालिकामा दलहरु एकल प्रतिष्पर्धामा छन् । आमचोकमा भने अध्यक्ष एमाले र उपाध्यक्ष काँग्रेसले लिएर माओवादीविरुद्ध गठबन्धन गरेका छन् ।
भोजपुर नगरपालिकामा सत्ता गठबन्धनबाट मेयरमा काँग्रेस र उपमेयरमा एकीकृत समाजवादी, षडानन्दमा मेयर काँग्रेस र उपमेयर माओवादी, टेम्केमैयुङमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष एकीकृत समाजवादी, रामप्रसाद राईमा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेस, साल्पा सिलिछोमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, हतुवागढीमा अध्यक्ष काँग्रेस र उपाध्यक्षमा माओवादीले उम्मेद्वारी दिएका छन् ।
सोलुखुम्बु (८ स्थानीय तह)
सोलुखुम्बुका ८ पालिकामध्ये माप्य दूधकोशीमा मात्रै सत्ता गठबन्धन बन्दा अरुमा सबै एक्लै चुनावी मैदानमा छन् । माप्य दूधकोशीमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गरेका हुन् ।
जिल्लाको खुम्बु पासाङल्यामु गाउँपालिकामा काँग्रेस र माओवादीको छुट्टाछुट्टै उम्मेदवार भएपनि आन्तरिक सहमति भएको बताइएको छ । त्यसबाहेक सोलु दुधकुण्ड नगरपालिका तथा गाउँपालिकाहरु थुलुङ दुधकोशी, नेचासल्यान, महाकुलुङ, लिखुपिके र सोताङमा दलहरु एक्ला–एक्लै प्रतिस्पर्धामा छन् ।
ओखलढुंगा (८ स्थानीय तह)
ओखलढुंगाका ८ स्थानीय तहमध्ये चम्पादेवी र लिखु गाउँपालिकाबाहेक सत्ता गठबन्धनको सबै स्थानीय तहमा तालमेल छ । सिद्धिचरण नगरपालिकामा मेयर काँग्रेस र उपमेयर माओवादी, खिजिदेम्बामा अध्यक्ष र उपाध्यक्ष दुबै काँग्रेस, चिसंखुगढीमा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेस, मानेभन्ज्याङमा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेसले लिएर तालमेल गरेका छन् ।
मानेभन्ज्याङमा एमालेले अध्यक्ष र जसपाले उपाध्यक्ष लिएर अर्को गठबन्धन गरेका छन् । मोलुङमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी तथा सुनकोशीमा दुबै काँग्रेसले लिएर तालमेल गरेका छन् ।
खोटाङ (१० स्थानीय तह)
१० स्थानीय तह रहेको खोटाङमा दिक्तेल रुपाकोट मझुवागढी नगर तथा ऐसेलुखर्क, खोटेहाङ, जन्तेढुंगा बराहपोखरी र रावावेशी गाउँपालिकामा सत्ता गठबन्धनबीच तालमेल भएको छ । जसअनुसार दिक्तेल रुपाकोट मझुवजागढी, ऐसेलुखर्क, बराहपोखरी, रावावेशीमा प्रमुख काँग्रेसले लिएको छ भने खोटेहाङ, ऐसेलुखर्क, जन्तेढुगाको उपाध्यक्ष काँग्रेसले लिएको छ ।
माओवादीले ऐसेलुखर्क, खोटेहाङ र जन्तेढुंगाको अध्यक्ष तथा दिक्तेल रुपाकोट मझुवागढीको उपप्रमुख र रावावेसीको उपाध्यक्ष लिएको छ । एकीकृत समाजवादीले बराहपोखरीको उपाध्यक्ष लिएको छ ।
जिल्लाको साकेला गाउँपालिकामा कुनै गठबन्धन छैन भने दिप्रुङ चुईचुम्मा र केपिलासगढी गाउँपालिकामा काँग्रेसबाहेकको सत्ता गठबन्धन बनेको छ । केपिलासगढीमा एकीकृत समाजवादीले अध्यक्ष र उपाध्यक्ष जसपाले लिँदा दिप्रुङ चुईचुम्माको अध्यक्ष–उपाध्यक्ष दुवै पदमा माओवादी उम्मेद्वार बनेका छन् ।
हलेसी तुवाचुङ नगरमा भने सबैका अलग उम्मेद्वार भएपनि एमाले र माओवादीबीच अघोषित तालमेल छ । एमालेले मेयर र माओवादीले उपमेयरमा आघेषित तालमेल गरेका हुन् ।
उदयपुर (८ स्थानीय तह)
उदयपुरका ८ स्थानीय तहमध्ये ६ स्थानीय तहमा सत्तारुढ गठबन्धन बनेको छ भने दुईटामा माओवादी र एकीकृत समाजवादीको मात्रै तालमेल छ । त्रियुगा नगरमा मेयर एकीकृत समाजवादी र उपमेयर माओवादी तथा चौदण्डीगढीमा मेयर एकीकृत समाजवादी र उपमेयर माओवादीले लिएर तालमेल गर्दा सत्ता गठबन्धनको मुख्य दल काँग्रेस दुबै स्थानीय तहमा एक्लै चुनावी मैदानमा छ ।
सत्तारुढ गठबन्धनबाट कटारीमा मेयर काँग्रेस र उपमेयर माओवादी, बेलकामा मेयर काँग्रेस र उपमेयर माओवादी, उदयपुरगढीमा अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष काँग्रेस, ताप्लीमा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेस। रौतामाईमा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेस तथा लिम्चुङबुङमा अध्यक्ष माओवादी र उपाध्यक्षमा काँग्रेस उम्मेद्वार छन् ।