ओलीको गृहनगरमा एमाले उम्मेदवारको गठबन्धनलाई समर्थन

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा एमालेका एक उम्मेदवारले नै गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन् ।

संयुक्त गठबन्धन प्रचार समितिले मंगलबार दमकमा आयोजना गरेको चुनावी सभामा एमाले नगर सचिबालय सदस्य तथा दमक ७ का वडा सदस्यका उम्मेदवार गुमानसिंह तामाङले पार्टी परित्याग गरि गठबन्धनलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

दमकमा एमालेविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, जनता समाजवादी पार्टी र राजपाको गठबन्धन छ । गठबन्धनले एमालेमाथि चुनौति खडा गरेपछि आफ्नो पक्षमा माहौल खडा गर्न ओली झापा आएका छन् । उनी झापा आएर चुनाबी अभियानमा सक्रिय रहेकै बेला उम्मेदवारले नै गठबन्धनलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

तामाङ एमाले दमक नगर सचिवालय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदका अध्यक्षसमेत हुन् । एमालेले जालझेल र झुठो आश्वासन बाँडेर जनताबीच भ्रम छरेकोले दमक नगरवासी र आफ्नो वडाका मतदाताले दिएको सुझाब अनुनसार पार्टी र उम्मेदवारी त्यागेको उनले बताएका छन् ।

तामाङले दमकको विकासको लागि गठबन्धन नै मतदाताले रुचाएकोले आफू पनि त्यहि अभियानमा जोडिएको बताएका छन् । उनले एमाले परित्यागपछि राजनीतिक रुपमा भने स्वतन्त्र रहेको घोषणा गरेका छन् ।

बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट दमक नगर प्रमुखमा राप्रपाका राम थापा र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई उम्मेदवार छन् । एमालेले मेयरमा गिता अधिकारी र उपमेयरमा अम्बिका खनाललाई उम्मेदवार बनाएको छ ।

बैशाख २७, २०७९, दिउँसोको ०३:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर