विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश विकासको एजेन्डा लिएर अघि बढेकोले आगामी निर्वाचनमा सबैले एमालेलाई मतदान गर्नुपर्ने बताएका छन् ।
मोरङको मिक्लाजुङ गाउँपालिकाको मधुमल्लामा मंगलबार आयोजित चुनाबी सभामा ओलीले सरकार चलाउँदा एमालेले धेरै काम गरेको जिकिर गर्दै सत्ता गठबन्धनले चुननाब जिते मुलुक धेरै पछाडि पर्ने भएकोले मतदाता सचेत हुनुपर्ने उल्लेख गरे ।
स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न सबैमा आग्रह गर्दै ओलीले नेपाललाई आधुनिक युगमा पु¥याउने जिम्मा एमालेको भएको दावी गरे । आत्मनिर्भर अर्थतन्त्र, उत्पादन वृद्धि, उद्योग धन्दा सञ्चालन, कृषिको आधुनिकीकरण लगायतका सबै काम एमालेकै नेतृत्वमा हुने उनको भनाइ थियो ।
अहंकार पालेका केही व्यक्तिले एमालेलाई चोइट्याएर केही कार्यकर्तालाई अलमल्याइरहेको बताउँदै ओलीले आफूले बनाएको र वर्षौदेखि दुःख गरेको पार्टीलाई छाडेर अन्त भोट नहाल्न कार्यकर्तालाई अपिल गरे । एमालेका उम्मेदवार जिताउने जिम्मा जनताको र मुलुकको विकास गर्ने जिम्मा एमालेको भएको बताए ।
मधुमल्लाको सभापछि ओली झापाको गौरिगञ्जमा पुगेका थिए । ओलीले गौरीगन्जसहित कमल गाउँपालिका, गौरादह नगरपालिका र दमकमा आयोजित चुनाबी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले झापाका अध्यक्ष दिपक कार्कीले जानकारी दिए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!