विराटनगरको उपमेयरमा गठबन्धनलाई स्वतन्त्रको चुनौति

विराटनगर । प्रदेश १ को एकमात्र महानगर विराटनगरको चुनावी होड अन्तिम सयमा झन्–झन् रोचक बन्दै जाँदा उपमेयर पदमा कसले बाजी मार्ला भन्ने कौतुहल पनि उच्च छ । महानगरको उपमेयर पदका लागि गठबन्धन, एमाले, स्वतन्त्र र राप्रपा उम्मेद्वारहरु मुख्य प्रतिष्पर्धी मानिएका छन् ।

सत्ता गठबन्धनबाट उपमेयरमा लडिरहेका अमरेन्द्र यादव लामो समयदेखि जनस्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका व्यक्ति हुन् । जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा उनी पार्टीको महानगर अध्यक्षसमेत हुन् ।

चुनावी मिति नजिकै आउँदा उनी मुख्यतः दुईटा चुनौतीसँग जुध्नुपर्ने अवस्थामा पुगेका छन् । पहिलो त उनले आफ्नै पार्टीको मत जोगाउनुपर्नेछ भने दोस्रो काँग्रेस र गठबन्धनका अन्य दलको मत तान्नुपर्नेछ । यी दुवै काम उनका लागि सकसपूर्ण भइरहेको देखिन्छ ।

विराटनगरका धेरै मतदातासँग कुराकानी गर्दा मेयरमा काँग्रेसलाई मत दिने बताउने एकतिहाई मतदाताले उपमेयरमा कसलाई दिने भन्ने टुंगो गरिनसकेको बताएका छन् । यसको अर्थ काँग्रेसलाई मत दिने योजनामा रहेकाले उपमेयरमा अमरेन्द्रलाई रुचाएको देखिन्न ।

विराटनगर–७ की क ५३ वर्षीया कमला शर्मा अघिल्लो चुनावमा मेयर–उपमेयर दुवै मत काँग्रेसलाई दिएको बताउँछिन् । उनले यसपटक पनि मेयरमा रुखमै भोट दिने योजना सुनाइन् । तर, उपमेयरमा कसलाई दिने भन्ने टुंगो नगरेको उनी बताउँछिन् । ‘मेयरमा त रुखमै दिन्छु’, उनले भनिन् ‘तर, उपमेयरमा दिने बेलामा धेरै सोचविचार गर्नुपर्नेछ ।’

विराटनगरमा मधेशी र पहाडे समुदायबीचको आपसी अविश्वास प्रकट रुपमा अभिव्यक्त हुन छाडेको छ । तर, त्यो भावना पूरै मेटिएको छैन । उपमेयरमा ‘सोचेर मत हाल्ने’ वा ‘अहिलेसम्म टुंगो नगरेको’ बताउने एक तिहाइ मतदातामा ठूलो संख्या पहाडे समुदायको छ ।

मधेशी समुदायकै मतदाता, जसले यसअघि खुलेर तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) लाई भोट दिएको बताए, उनीहरुसमेत गठबन्धन उम्मेद्वार अमरेन्द्रलाई मत नदिने उल्लेख गरेका छन् । यसले आफ्नै समुदायगत र पार्टीको मत सबै नपाउने खतराको डिलमा अमरेन्द्र उभिएका छन् ।

अमरेन्द्रलाई चुनौति विराटनगरका प्रभावशाली रहेका उमेश यादव ‘फ्याक्टर’ बनेको छ । उम्मेद्वारी दर्ताको अघिल्लो दिन जसपा छाडेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उनको आक्रोश गठबन्धनभन्दा धेरै जसपा अध्यक्ष उपेन्द्र र उपमेयरुका उम्मेदवार रहेका उनका छोर अमरेन्द्रसँग छ ।

विराटनगरमा जसरी काँग्रेसभित्र तालमेल गर्न नहुने मत बलियो थियो, जसपाभित्रै पनि तालमेलको विपक्षमा माहोल थियो । उमेश यादव, भूराज राई लगायतका नेताहरु जसपाले काँग्रेसबाहेकका दलसँग तालमेल गर्नुपर्ने मत राख्दै आएका थिए । त्यो मत राख्ने नेताहरु अहिले पनि अमेन्द्रको पक्षमा खुलेका छैनन् । बरु उनीहरुले स्वतन्त्र उम्मेदवार उमेश यादव र नमिता न्यौपानेलाई सहयोग गरेको देखिन्छ ।

गठबन्धन गरेर मेयर छाड्ने निर्णयप्रति नै असन्तुष्ट रहेको जसपाको ठूलो पंक्ति अध्यक्षले छोरालाई नै उम्मेदवार बनाएपछि आक्रोशित छ । ‘उपेन्द्र यादव र छोरा मिलेर यहाँ गद्दारी गरे,’ विगतदेखि जसपालाई मत दिँदै आएका विराटनगर १८ का ७९ वर्षीय वर्षलाल यादव भन्छन् ‘यसपालि मेरो र परिवारको मेयर र उपमेयर दुवै भोट लालटिनमा जान्छ ।’

गठबन्धनका बागी उम्मेद्वार रहेको यादव र उपमेयरकी उम्मेदवार न्यौपाने दुबैको चुनाबचिन्ह लालटिन हो । उनी अघिल्लो निर्वाचनमा उपमेयरमा दोस्रो धेरै मत ल्याएकी माओवादी नेता हुन् । पार्टी महानगर सचिवबाट राजीनामा घोषणा गरेर स्वतन्त्र उम्मेदवारी दिएकी उनलाई माओवादीको अधिकांश मत जाने देखिन्छ ।
वडाहरुमा कतैपनि काँग्रेसले तालमेल नमिलाएको भन्दै माओवादी महानगरमा काँग्रेससँग रुष्ट छ । त्यो असन्तुष्टि नेताहरुले सार्वजनिक रुपमा नै व्यक्त गर्दै आएका छन् । माओवादी कार्यकर्ताले गठबन्धन नभएर लालटिनमा मत मागिरहेका छन् ।

अर्कोतिर अघिल्लो चुनावमा जसपा–माओवादी गठबन्धन हुँदा मेयर–उपमेयरका उम्मेद्वार रहेका यादव र न्यौपानेको अहिले स्वतन्त्र उम्मेदवार बन्दा एउटै चुनाबचिन्ह परेपछि अघोषित सहकार्यमा छन् । उपमेयरमा एमाले, राप्रपा र नमिता न्यौपानेलाई मत दिन्छु भन्ने विराटनगरमा उल्लेख्य भेटिएका छन् । धेरैजसो स्वतन्त्र मतदाताले गठबन्धनको नाममा उपमेयर पनि पुरुष भएको रुचाएका छैनन् । त्यसको फाइदा एमालेकी शिल्पा कार्की, स्वतन्त्र उम्मेदवार न्यौपाने, राप्रपा उम्मेदवारले पाउने देखिन्छ ।

एमाले उम्मेद्वार कार्की भने किर्ते मुद्दामा मुछिएकी छन् । उनले किर्ते गरेर उम्मेदवारी कायम गरेकोबारे सर्बोच्च अदालतमा रिट दायर भएको छ । उनको उम्मेदवारी खारेजबारे दायर रिटमा सर्वोच्चले वैशाख २८ गते अन्तरिम आदेश दिने कि नदिने फैसला सुनाउनेछ । अदालतले रिट सदर गर्दै कार्कीको उम्मेदवारी खारेज गरेरमा महानगरको चुनाबी प्रतिष्पर्धा झनै रोचक हुनेछ ।

बैशाख २७, २०७९, दिउँसोको ०१:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर