मोरङको चार स्थानीय तहमा पुरानै प्रतिस्पर्धी आमनेसामने

विराटनगर । मोरङका चार स्थानीय तहमा प्रायः पुरानै उम्मेदवार चुनावी मैदानमा छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जितेका र पराजित भएका व्यक्तिहरु नै प्रतिस्पर्धामा उत्रिएका हुन् ।

रंगेली नगरपाकिला, सुन्दरहरैचा नगरपालिका, ग्रामथान गाउँपालिका र जहदा गाउँपालिकामा जितेका र पराजित भएका पुरानै उम्मेदवार आमनेसामने भएका छन् ।

रंगेली नगरपालिको प्रमुखमा नेकपा (एमाले) बाट दिलिपकुमार अग्रवाल र नेपाली काँग्रेसबाट मोदराज घिमिरे उम्मेदवार छन् । २०७४ को चुनावमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका अग्रवालले १ हजार ८ सय ८२ मतले घिमिरेलाई पछि पार्दै रंगेली नगरपालिकाको प्रमुखमा जितेका थिए । उनले ८ हजार ६८ मत प्राप्त गरि विजयी बन्दा घिमिरेको मत ६ हजार १८६ थिउो ।

अग्रवाल माओवादी छोडेर एमालेबाट उम्मेदवार बनेका छन् । विगतको मत हेर्दा त्यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । माओवादीबाट प्रमुखमा लिलादेवी संग्रौला उम्मेदवार छन् । रंगेलीमा काँग्रेस र जनता समाजवादी पार्टीले गठबन्धन गरेका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिकामा पनि पुरानै प्रतिस्पर्धी मैदानमा छन् । अघिल्लो चुनावमा झैं यो पटक पनि सुन्दरहरैचाको प्रमुखमा कांग्रेसका शिवप्रसाद ढकाल र एमालेका केदारप्रसाद गुरागाई पुनः प्रतिस्पर्धामा छन् । त्यसबेला ढकालले ९६८ मतान्तरले गुरागाइलाई पराजित गरेका थिए । ढकालले १६ हजार ८२२ मत प्राप्त गर्दा गुरागाइले १५ हजार ८५४ मत ल्याएका थिए ।

यस पटक काँग्रेस र माओवादी केन्द्र गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् । जसले गर्दा सहज जित हुने मेयरका उम्मेदवार ढकालको दाबी छ । गठबन्धनबाट उपप्रमुखमा माओवादी केन्द्रबाट नवराज चापागाई उठेका छन् । उनी २०७४ चुनावमा पनि उपप्रमुखकै उम्मेदवार थिए ।

मोरङको जहदा गाउँपालिकामा पनि पुरानै उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट गाउँपालिका निर्वतमान अध्यक्ष कैलाशप्रसाद मण्डल उम्मेदवार बन्दा माओवादी केन्द्रबाट राजकुमार यादव र काँग्रेसबाट जितेन्द्रप्रसाद साह उम्मेदवार छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उनीहरू नै उठेका थिए । दलले पुरानै उम्मेदवारलाई चुनावी मैदानमा उतार्दा पुरानै प्रतिद्वन्द्वी आमनेसामने हुने भएका हुन् ।

२०७४ को निर्वाचनमा मण्डलले ५ हजार ५९ मत ल्याएर अध्यक्षमा विजयी हुँदा काँग्रेसका साहले ३ हजार ६५९ र माओवादी केन्द्रका यादवले २ हजार ९० मत ल्याएका थिए । सो पालिकामा यसपटक पनि त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिन्छ । माओवादी र काँग्रेस नयाँ जनमत खडा गर्ने र जसपाले बिरासत कायम राख्ने प्रयासमा छ ।

मोरङको ग्रामथान गाउँपालिकामा पनि २०७४ सालमै भिडेका उम्मेदवार चुनाबी मैदानमा छन् । एमालेले अघिल्लो निर्वाचनका विजेता शिवनारायण माझीलाई उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसले तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका जयप्रकाश थारुलाई उम्मेदवार बनाएको छ । त्यसबेला माझीले ४ हजार ७२० मत ल्याएर विजेता बन्दा थारुले ४ हजार ६६१ मत प्राप्त गरेका थिए । गाउँपालिकामा काँग्रेसका उम्मेदवार तेस्रो भएका थिए ।

बैशाख २६, २०७९, रातीको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर