लोडसेडिङ अन्त्यका लागि सबै काम मैले गरेँ, मयुरका प्वाँख लगाएर उनीहरुले प्रचार गरे : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा गठबन्धनका पाँचै दललाई एउटै बट्टामा पोको पारेर मिल्काउने बताएका छन् ।

ओलीले गठबन्धनका नेताहरूको बोली २७ गतेसम्म मात्रै भएको बताएका हुन् । वैशाख ३० गतेपछि गठबन्धनको ‘टाइँटाइँ फिस’ हुने समेत उनले बताए ।

उनले नेकपा (एकीकृत समाजवादी)लाई बिरालाको संज्ञा दिएका छन् । ‘मेरा घरका बिराला तपाईँका किचनमा म्याउ–म्याउ गर्दै आइरहेका छन् केही दिनुहोस् भनेर मैले शेरबहादुरजीलाई संसदमै भनेको थिएँ,’ उनले भने, ‘मेरो कुरा सुनेर उहाँले पनि एक–एक कचौरा दिएर राख्नु भएको छ ।’

ओलीले लोडसेडिङ आफ्नो पालामा अन्त्य भएको बताएका छन् । नेकपा एमाले विराटनगरले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मैले लोडसेडिङ अन्त्यका लागि सबै काम गरेँ तर पछि मयुरका प्वाँख लगाएर उनीहरूले प्रचार गरे,’ उनले भने । अध्यक्ष ओलीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई व्यङ्ग्य गर्दै यसो भनेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन बनेपछि देशमा अलच्छिन लागेको बताएका छन् । गठबन्धन बनेपछि देशमा राम्रो काम केही नभएको उनले बताए । ओलीले गठबन्धनका नेताहरूको हालत देखेर कुर्सी पनि रोइरहेको बताए । ‘मन्त्रीहरू बोल्न नजानेको देख्दा कुर्सीले पनि भन्दो हो कस्तालाई बोकिरहनु परेको छ,’ उनले भने  ।

आधा घण्टा जति भाषण गरेका ओलीले आफ्नो कार्यकालमा भएका कामको विस्तार लगाउने देखि आफू सरकारमा हुँदा गरेको कामले स्वर्ण पदक जितेको टिप्पणी समेत गरे ।

शनिबार, २४ बैशाख, २०७९, साँझको ०७:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर