कटहरीमा काँग्रेसको विरासतलाई टक्कर दिँदै ‘पाण्डे सर’

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा अध्यक्षमा ९ जना चुनावी मैदानमा छन् । काँग्रेसबाट देबराज चौधरी उम्मेदवार बन्दा नेकपा माओवादी केन्द्रले वडा नं. २ का निवर्तमान अध्यक्ष किशोर पाण्डे मैदानमा उत्रिएका छन् । एमालेले सुभाषकुमार सरदार र जसपाले मृत्युञ्जयकुमार झालाई उम्मेदवार बनाएको छ ।

काँग्रेसबाट उम्मेदवार बनाएका आदिवासी जनजाति महासंघका मोरङका पूर्वअध्यक्षसमेत रहेका चौधरी अघिल्लो निर्वाचनमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका थिए । फोरम लोकतान्त्रिक काँग्रेसमा एकीकरण भएपछि चौधरीले उम्मेदवारी पाएका हुन् ।

माओवादीबाट उम्मेदवारी दिएका पाण्डे २०७४ सालको स्थानीय तहको निर्वाचनमा कटहरी २ को वडाअध्यक्षमा निर्वाचित भएका थिए । शिक्षण पेशासँगै सामाजिक अभियानमार्फत ‘पाण्डे सर’ को रुपमा परिचत उनी वडामा सबै सदस्य काँग्रेसले जित्दा एक्लै वडाध्यक्षमा निर्वाचित भएका थिए ।

कटहरी ४ नयाँबजारको नेशनल नमुना विद्या मन्दिर हुँदै कटहरी २ मा रहेको आदर्श विद्या मन्दिरमा २०५३ सालदेखि शिक्षण गर्दै आएका पाण्डेकै बलमा कटहरीमा माओवादीको बलियो संगठनको आधार तयार भएको मानिन्छ ।

सामाजिक र बौद्धिक व्यक्तित्वको कारण वडाध्यक्ष निर्वाचित भएका पाण्डेले ५ वर्षमा गाउँपालिकाभरि आफ्नो छवि विस्तार गर्ने अवसर पाए । गाउँपालिका नेतृत्वको गलत काम र भ्रष्टाचार विरुद्ध खुलेर आवाज उठाउने उनले कार्यपालिकाका कतिपय बैठकमा फरक मत राखेर बहिष्कारसमेत गरेका थिए । उनै पाण्डे गाउँपालिका अध्यक्षको उम्मेदवार भएपछि चर्चा चुलिएको छ ।

शिक्षण पेशासँगै राजनीतिक भूमिकामा आएका पाण्डेले बिएड उत्तीर्ण गरेका छन् । उनको राजनीतिक मात्र नभएर सामाजिक भूमिकाको चर्चा धेरै रहेकोले अध्यक्षमा काँग्रेसलाई पछि पार्दै पाण्डेले बाजी मार्ने बताउन थालेका छन् । यसपटक थपिएका नयाँ मतदाता रिझाउन उम्मेदवारले धेरै जोड दिएका छन् । २०७४ को चुनावमा २१ हजार ४३० मतदाता रहेको कटहरीमा ४ हजार ६३३ मतदाता थपिएका छन् ।

यसअघिको स्थानिय तहको निर्वाचनका काँग्रेसबाट रामकुमार कामतले ४ हजार ५०६ मत ल्याएर निर्वाचित भएका थिए । यसपटको चुनावमा माओवादीले नयाँ जनमत खडा गर्ने र काँग्रेस बिगतलाई दोहर्याउने दाउमा रहेको छ ।

वडाअध्यक्ष रहदा कटहरी २ मा गरेको काम र पालिकाभरि स्थापित गरेको व्यक्तित्वकै कारण आफ्नो जित निश्चित रहेको पाण्डे सरको दावी छ । स्वतन्त्र मतसँगै एमाले र कांग्रेसका असन्तुष्टहरूले समेत आफूलाई साथ दिएको उनको भनाइ छ ।

‘चुनावी अभियानमा सबैजना एकजुट भएर लागेका छौं,’ उनले भने, ‘माओवादी केन्द्र एकढिक्का भएर लागेको छ, काँग्रेस र एमालेको पनि धेरै मत आउने अवस्था छ ।’ वर्षौदेखि कटहरीलाई नियालेको र चुनाव जितेर नमुना गाउँपालिको रूपमा विकास गर्ने योजना आफूसँग रहेको पाण्डेले बताए ।

काँग्रेसबाट अध्यक्ष उम्मेदवार रहेका चौधरीले निरन्तर पार्टीमा आफूले गर्दै आएको योगदानबाट उम्मेदवार बनेको दावी गर्दै नयाँ र पुरानो काँग्रेसको विवाद नरहेको बताए । आफूले सरल राजनीति गर्दै आएको र अघिल्लो पटकको निर्वाचनमा पराजित भएकोले इमान्दार मतदाताले सहानुभूतिका लागि पनि आफूलाई रोज्ने उनको भनाइ छ । कटहरीमा काँग्रेसको संगठन बलियो भएकाले पनि आफूले चुनाव जित्ने दाबी उनको छ । उनले काँग्रेसको भोट दायाँबायाँ नहुने बताए ।

शनिबार, २४ बैशाख, २०७९, दिउँसोको ०४:०८ बजे

प्रतिक्रिया

  1. नेकपा (माओवादी केन्द्र) को कटहरी मा जनसरकार आउनुपर्छ अनि मात्र गरिव विपन्न वर्ग सुकुम्बासी समस्या समाधान स्वास्थ्य शिक्षा र ओषधी उपचार नपाए मर्न लागेका मान्छे लाई निःशुल्क उपचार व्यवस्था मिलाउन कम्तीमा एक पटक माओवादी को सरकार आउने पर्छ।

प्रतिक्रिया:

सम्बन्धित खवर