विराटनगर । भारतसँग सीमा जोडिएको मोरङको दक्षिणपूर्वी नगरपालिका रतुवामाईमा चुनावी माहोल तातेको छ । नगरपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन छन भने नेकपा एमालेसहित अन्य ३ जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् ।
उपप्रमुखमा पनि एक जना स्वतन्त्रसहित ५ जनाको उम्मेदवारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अुनसार रतुवामाइमा ५२ पदको लागि २४० जनाको उम्मेदवारी परेको छ ।
विगतको चुनावी परिणामलाई आधार मान्दा रतुमाइमा पनि काँग्रेस र माओवादी केन्द्रको गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनबाट प्रमुखमा काँग्रेसका पाका नेता नागेश्वर सिंह र उपप्रमुखमा माओवादीका युवा नेता सुमन कालिकोटे चुनाबी मैदानमा छन् । एमालेले दुर्गाबहादुर बिष्टलाई प्रमुखको र निवर्तमान मेयर दमयन्तीदेवी चुडाललाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा प्रमुखमा काँग्रेसका रविन राईले बाजी मार्दा उपप्रमुखमा एमालेकी चुडाल विजयी भएकी थिइन् । उनले ३९ मतान्तरले जितेकी थिइन् । पाको उमेरकी उनी दोस्रो कार्यकालको लागि उपमेयरको चुनाबी मैदानमा उत्रिँदा गठबन्धनबाट माओवादी केन्द्रले बौद्धिक र सक्रिय युवा कालिकोटेलाई मैदानमा उतारेको छ ।
विद्यार्थी आन्दोलनबाट राजनीतिक भूमिकामा आएका कालिकोटेले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । उनको राजनीतिक मात्र नभएर सामाजिक भूमिकाको चर्चा धेरै रहेकोले मेयरमा परिणाम उल्ट्याउने दावी गरिरहेको नेकपा एमालेका कार्यकर्ताहरु नै उपमेयरमा भने कालिकोटेले बाजी मार्ने बताउन थालेका छन् ।
एमालेबाट उम्मेदवार बनेकी चुडालले अघिल्लो निर्वाचनमा सबै दल एकल रुपमा प्रतिष्पर्धामा उत्रँदा नेपाली काँग्रेसकी फुलवतीदेवि गोढीलाई झिनो मतअन्तरले जितेकी थिइन् । चुडालले ८ हजार ३७२ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसकी गोढीले ८ हजार ३३३ मत ल्याएकी थिइन् । त्यसबेला माओवादीको मत ३ हजार ७२८ थियो । अहिले गठबन्धन भएकोले एमाले सजिलै पराजित हुने गठबन्धनको दावी छ ।
नगरपालिकामा ३६ हजार २०७ जना मतदाता रहँदा प्रमुखमा काँग्रेसका रविन राई ९ हजार ९५ मतसहित निर्वाचित भएका थिए । एमालेका टेकेन्द्रबहादुर पोमुले ८ हजार १ सय मत ल्याएका थिए । विगतको चुनावी परिमाणलाई हेर्ने हो भने गठबन्धन एमालेभन्दा ४ हजारभन्दा धेरै मतले अगाडि रहेको छ ।
यसपटक रतुवामाइमा ७ हजार ३६७ मतदाता नयाँ थपिएका छन् । काँग्रेसले विगतमा एक्लै चुनाब जितेकोले अहिले गठबन्धनबाट सहजै जीत निकाल्ने दावी मेयरका उम्मेदवार सिंहको छ । माओवादीले नयाँ जनमत खडा गर्दै गएकोमा उपप्रमुखमा महिला उम्मेदवार गठबन्धनले नदिएको त्यसको फाइदा आफूलाई हुने एमालेको आंकलन छ ।
गठबन्धनसँग महिला उम्मेदवार नभएकोले पनि दोस्रो कार्यकालको लागि पनि आफू निर्वाचित हुने एमाले उपप्रमुखकी उम्मेदवार चुडालले दावी गरिन् । महिला, बालबालिका, अपांगता भएकाहरुका लागि थुप्रै योजना आफूसँग भएको दावी उनले गरेपनि गएको ५ वर्षेमा उनको भूमिका नगरपालिकामा नदेखिएको स्थानीय बताउँछन् ।
गठबन्धनबाट उपप्रमुखका उम्मेदवार कालिकोटेले अघिल्लो पटक उपमेयरमा विजेता भएर कुनै भूमिका देखाउन नसकेको एमालेले उनैलाई उम्मेदवार बनाएकोले आफूलाई सहज भएको दावी गरे । ‘नगरपालिकामा न्यायिक समिति, राजश्व परामर्श समिति, अनुगमन समितिसहित उपमेयरको नेतृत्वदायी भूमिका हुन्छ’ उनले भने, ‘तर, गएको ५ वर्षमा त्यसको कुनै भूमिका र प्रभाबकारिता नगरबासीले अनुभूत नगरेकोले आफूलाई नगरबासीको साथ हुनेछ ।’ आफू युवा र सचेत व्यक्ति भएकोले नयाँ र युवा पुस्ताको हितमा काम गर्नसक्ने र युवाले नेतृत्व गर्दा मात्र नगरको समग्र विकास हुने बुझाई नगरबासीको भएकोले विजय हुनेमा ढुक्क रहेको उनले बताए ।
गठबन्धन मात्र नभएर एमालेभित्रकै युवा, शिक्षित वर्ग र इमान्दार कार्यकर्ताको मत आफूलाई आउने कालिकोटेको दावी छ । रतुवामाइमा गठबन्धनको विजय अभियान अब घोषणा गर्न मात्र बाँकी रहेको उनले बताए ।
रतुवामाई नगरपालिकालाई समृद्ध बनाउने लक्ष्य बोकेर कालिकोटे २०३७ साउन १२ गते रतुवामाई नगरपालिका १ कल्याणपुरमा जन्मिएका हुन् । २०५२ सालमा कल्याणपुरकै सरस्वती मा.वि.बाट एसएलसी उत्तीर्ण गरेका उनी महेन्द्र मोरङ क्याम्पसबाट प्रमाणपत्र तह र स्नातक तह उत्तीर्ण गरि डिग्री क्याम्पस बिराटनगरबाट स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
उनी महेन्द्र मोरङ्ग क्याम्पसबाट २०५७ सालमा अखिल क्रान्तिकारीमा आबद्ध भएका थिए । क्याम्पस कमिटी सदस्यबाट सचिब हुँदै २०६० सालमा संगठनको मोरङ्ग जिल्ला समिति सदस्य भएका उनी। २०६३ सालमा अखिल क्रान्तिकारीको डिग्री क्याम्पस इकाइ उपाध्यक्ष, २०६५ सालमा सोही क्याम्पसको स्ववियू उपसभापति र २०६६ सालमा डिग्री क्याम्पसमा क्रान्तिकारीको इकाई अध्यक्ष भएका थिए । २०६७ मा अखिल क्रान्तिकारी मोरङ्गको सहसचिब हुँदै २०६८ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य, २०७० सालमा मोरङ्ग जिल्ला इञ्चार्ज, २०७१ सालमा केन्द्रीय सचिवालय सदस्य रहेका उनी पार्टीका जिल्ला सदस्य, क्षेत्रीय इञ्चार्ज हुँदै अहिले प्रदेश कमिटि सदस्य र रतुवामाई नगर इञ्चार्ज छन् ।
सुमन जि को जीत निश्चित छ । अग्रिम बधाई छ वहाँलाई ।