मोरङको उर्लाबारी : एमालेलाई जसको डर, काँग्रेसलाई उसकै भर

उर्लाबारी । सत्तारुढ दलहरुबीच गठबन्धन गरेर जाने सहमति कार्यान्वयन हुन नसक्दा मोरङको उर्लाबारी नगरपालिकामा आगामी स्थानीय तह निर्वाचनमा त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ ।

उर्लाबारीमा नेपाली काँग्रेसबाट मेयरमा खड्गबहादुर फागो र उपमेयरमा सीता कार्की उम्मेदवार छ्न भने नेकपा एमालेबाट मेयरमा गंगाप्रसाद खरेल र उपमेयरमा मीना खतिवडाको उम्मेदावारी छ । नगरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट मेयरमा समाजवादीका मानबहादुर श्रेष्ठ र उपमेयरमा माओवादीकी टीकाकुमारी भट्टराई (शीला) चुनावी मैदानमा उत्रिएका छन् ।

नेपाली काँग्रेसका प्रदेश सह–महामन्त्रीसमेत रहेका फागो निवर्तमान मेउर हुन् । उग्र कार्यशैलीको कारण पटक–पटक विवादमा आउने गरेका फागो ५ वर्षे कार्यकालमा गरेको विकास र जनपक्षीय कामबाट आफ्नो पक्षमा शतप्रतिशत जीत हात पार्ने दाबी गर्छन् । फागोको कार्यशैलीलाई नै आफ्नो जीतको आधार एमालेले मानेको छ ।

२०७४ को स्थानिय तहका निर्वाचनमा ३५ हजार २ सय ८८ मत खस्दा काँग्रेसबाट फागोले ११ हजार ६ सय ३२ मत ल्याएर निर्वाचित भएका थिए । त्यसबेलामा एमालेकाट भुपाल राईले ८ हजार ५४२ र माओवादी केन्द्रका राजेन्द्रप्रसाद पौडेलले १ हजार ९७९ मत ल्याएका थिए । उपप्रमुखमा एमालेकी लक्ष्मीदेवी भण्डारीले २५९ मतान्तरले ९ हजार ५३९ मत ल्याएर चुनाब जितेकी थिइन् । काँग्रेसकी सीता कार्कीको ९ हजार २८० र माओवादी केन्द्रकी धनमाया धिमालको २ हजार ४०६ मत थियो । उर्लाबारीका नौ वडामा काँग्रेसले ५ वटा र एमालेले ४ वटा जितेका थिए ।

यो पटक नगरमा ८ हजार ९२४ नयाँ मतदाता थपिएका छन् । ४४ हजार २७२ मतदाता रहेको नगरमा उम्मेदवारहरु अहिले घरघर पुगेर मत फकाउन व्यस्त छन् ।
कांग्रेसले आफूहरूले जित्ने दाबी गर्दै आएको उर्लाबारीमा गएको ५ वर्षमा जनताले अनुभुति हुने गरि काम नगरेकोले यसपटक आफू जित्ने एमालेको दावी छ । उता एमालेबाट विभाजित भएको समाजवादी र माओवादीको गठबन्धन पनि दुई दलसँग प्रतिष्पर्धा गर्ने हैसियतमा देखिन्छ । गठबन्धनबाट उम्मेदवार बनेका मानबहादुर श्रेष्ठको व्यक्तित्वले पनि त्यसमा काम गरेको छ ।

अघिल्लो पटक उपमेयरसहित बहुमत जनप्रतिनिधि एमालेले जित्दा पनि आफूले चुनाब जितेकोले यस पटक पनि समस्या नरहेको फागो दावी गर्छन् । पाका नेता खरेल भने काँग्रेसभित्रको असन्तुष्ट समूहको पनि भोग आफ्नो पक्षमा आउने भएकोले एमालेले आफ्नो पुरानो आधार जोगाउने बताउँछन् ।

पाँच वर्षे कार्यकालमा गरेको विकास र अधुरा कामहरू पुरा गर्न फेरि उठेको फागोले बताए । काँग्रेसको भातृ संगठन तरूण दलबाट २०४९ देखि राजनीति सुरु गरेका फागो पार्टीको जिल्ला सदस्य हुँदै दुई कार्यकाल क्षेत्रीय भएका थिए । उनी अहिले काँग्रेस १ का सहमहामन्त्री छन् । राजनीति शास्त्रमा स्नातक गरेका उनलाई हक्की र घमण्डी जनप्रतिनिधि पनि मानिन्छ ।

एमाले उम्मेदवार खरेल भने फागो जन्मेकै वर्ष २०३२ सालबाट राजनीतिमा सक्रिय छन् । गाउँ पार्टीमा आबद्ध भएर उपाध्यक्ष, क्षेत्रीय सदस्य र उर्लाबारीको इञ्चार्ज पनि भए । अहिले एमाले मोरङको सल्लाहकार सदस्य रहेका छन् । आइएसम्म अध्ययन गरेका उनी चार दशकदेखि उर्लाबारीलाई नियालेकोले चुनाव जितेर परिवर्तन र विकासको नेतृत्व गर्ने दावी गर्छन् ।

नगरपालिकामा आफू बलियो भएपनि गएको निर्वाचनमा आन्तरिक कारणले पराजित भएकोले यस पटक जीत निकाल्ने एमालेको दावी छ । तर, उसलाई पार्टी विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले काट्ने मतको डर छ । उता काँग्रेस पनि आफ्नो केहि मत विग्रिएको भएपनि श्रेष्ठले एमालेको मत काट्ने भएकोले विजयी बन्ने आशमा छ ।

उर्लाबारी नगरपालिकाको प्रमुखमा एक जना स्वतन्त्रसहित ७ जनाले उम्मेदवारी दिएका छन् । उपप्रमुखमा ८ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत ओमकरप्रसाद न्यौपानेले जानकारी दिए । उपप्रमुखमा एक जना स्वतन्त्रले उम्मेदवारी दिएका छन् । ४७ पदको लागि हुन लागेको निर्वाचनमा २ सय ४४ जनाले उम्मेदवारी दिएका छन् ।

शुक्रबार, २३ बैशाख, २०७९, दिउँसोको ०३:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर