विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाहरुमा चुनावी माहौल उत्कर्षमा पुगेको छ । राजनीतिक दलहरुले घरदैलो र अन्य माध्यमबाट मतदाताहरुसँग भेटघाटलाई तीब्रता दिएका छन् । विस्तारै वैशाख ३० गते हुने चुनावको परिणाम कता जान्छ भनेर अनुमान लगाउन थालेका छन् ।
चुनावको माहौल बढ्दै जाँदा २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसले जितेको विराटनगरको ८ नम्बर वडामा यसपटक काँग्रेसप्रति खास उत्साह देखिदैन । टिकट वितरणमा जनताका बीचमा कम लोकप्रिय र कम परिचित व्यक्ति छनौट भएका कारण चुनावी दौडमा काँग्रेस पछि परेको हो ।
विराटनगर ८ मा यतिबेला नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा चलिरहेको छ । नेपाली काँग्रेसका असन्तुष्ट मत जसले पाउँछ उसैले चुनावी परिणाम हातपार्ने सम्भावना बढेको स्थानीयहरु बताउँछन् ।
‘हाम्रो वार्डमा त्रीपक्षीय प्रतिस्पर्धा हुन्छ तर काँग्रेस अहिले पछि परिसकेको छ,’ नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार ज्ञानु भट्टराईले भने ‘हामी र एमालेबीचमा कडा प्रतिस्पर्धा चलिरहेको र दुई दिनभित्रमा हामी जितको वातावरण निश्चित गर्नेछौं ।’
वडा नम्बर ८ को सुकुम्बासी बस्ती, बलुवाही र विश्वकर्मा चोक यतिबेला माओवादीको बढी समर्थक भएका क्षेत्रहरु हुन् । स्थानीय र योग्य उम्मेदवार भएका कारण अशोक चोक क्षेत्रमा पनि माओवादीको राम्रो माहौल देखिएको छ । यी ठाउँहरुमा नेकपा एमाले कमजोर छ । राजवंशी बस्तीमा बाहेक एमालेको मत सबैतिर छरिएर रहेकोले पनि अब एमालेले केही युवापङ्तिको बाहेक मत थप्ने अवस्था नरहेको बताइएको छ ।
नेकपा एमालेले वडाध्यक्षमा उठाएको उम्मेदवार राम पोखरेल वडामा परिचित व्यक्ति हुन् । सामाजिक विकास मन्त्रालयमा रहेर झण्डै तीन वर्ष काम गर्दा उनले सामाजिक सम्बन्ध जोडेको लाभ यो चुनावमा लिने प्रयत्न गरेका छन् ।
नेपाली काँग्रेसले सन्तनु रेग्मीलाई वडाध्यक्षको उम्मेदवार बनाएपछि काँग्रेस कार्यकर्ताहरु निराश र निस्कृय बनेका छन् । निवर्तमान वडाध्यक्ष निश्चल अर्याललाई दोहो¥याउनु पर्छ भन्ने लबिइङ गरिरहेका काँग्रेस कार्यकर्ताहरु रेग्मीको उम्मेदवारीबाट असन्तुष्ट बनेका छन् । रेग्मीको उम्मेदवारीबाट असन्तुष्ट एक कार्यकर्ताले भने ‘हामी राम्रो काम गरेका अर्यालनै उम्मेदवार बनुन् भन्ने चाहन्थ्यौं, नभए राम कुँवर वा केदार घिमिरे मध्ये कसैलाई टिकट दिएको भए फेरि काँग्रेस जित्ने थियो तर अब सबै सम्भावना सकियो ।’ पछिल्लो समय चुनावी दौडमा माओवादी र एमालेले काँग्रेसलाई छोडेर अगाडि बढिसकेको विश्लेषण हुन थालेको छ । निर्णयबाट बिच्किएका काँग्रेसका मतदाताहरु भट्टराई वा पोखरेल कसलाई रोज्ने भन्ने अन्यौलमै छन् । भट्टराईले भने ‘हामीले चुनाव जित्नेमा ढुक्क रहनुहोला किनभने वडाबासीले यस पटक नयाँ निर्णय लिने कुरा हामीलाई बताइसक्नुभएको छ ।’