विराटनगर । सुनसरीको राम धुनी नगरपालिका ८ न. वडामा काँग्रेसमा विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका ५७ वर्षीय गणेश बहादुर पौडेल सम्पर्कविहीन भएका छन् ।
चुनावी अभियानमा होमिएका पौडेल इनरुवामा पेट्रोल किन्न जान्छु भनेर हिँडेका उनी बुधवार दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । घरमा मोबाइल छोडेर हिँडेका पौडेललाई काँग्रेस भित्रकै कार्यकर्ताहरूले अपहरण गरेको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरी दिने तयारी गरिएको पौडेलका भाइ प्रेम पौडेलले जानकारी दिए ।
इनरुवा १ महानन्द चौकदेखि बेपत्ता भएको आफन्तको भनाई छ । ‘रामधुनि ८ मा स्वतन्त्र उम्मेदवारको ठुलो र्यालीनिकाल्ने तयारी गरिएको थियो । त्यसको लागि दाजु पेट्रोल लिन इनरुवा जानुभएको थियो । पेट्रोल लिन पम्पमा पनि पुग्नु भएको रहेछ । तर, त्यहाँ पेट्रोल सकिएको रहेछ । त्यसपछि इनरुवा बजारतिर लाग्नु भएको थियो । दाजुलाई देख्नेहरूले बुधवार दिउँसो महानन्द चौकमा देखेको र त्यसपछि सम्पर्कविहीन हुनुभएको छ,’ भाइ प्रेमले भने ।
पौडेलले चढ्ने मोटरसाइकल पार्किङ गरेर राखेको सहिद गेट नजिक रहेको छ । वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलको चुनाव चिन्ह ‘कैँची’ हो । उनी काँग्रेसको क्षेत्री प्रतिनिधि रहेका थिए । पार्टीले टिकट नदिएपछि उनले बागी स्वतन्त्र भएर उम्मेदवारी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख संन्जय सिंह थापाले बुधवार राती परिवारबाट हराएको जाहेरी आएको अहिले खोजी कार्य तीव्र बनाएको बताए । ‘हराएको उजुरी आएपछि हामीले खोजी प्रतिकार्य बनाएका छौँ,’ उनले भने, ‘सबै कोणबाट हामीले अनुसन्धान पनि थालेका छौँ ।’



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।