लोड हुँदैछ...

मेनु

शिल्पा कार्कीविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा

शिल्पा कार्कीविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा

विराटनगर । विराटनगर महानगरपालिकाको उपप्रमु्ख पदमा नेकपा एमालेबाट उम्मेदवार बनेकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा अदालतमा दायर भएको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ ।

फुयालको इजलासको पाँचौं नम्बरमा रिटको पालो रहेको छ । अहिले न्यायाधीश फुयालको इजलासमा चौथो नम्बरको मुद्दा सुनुवाइ भइरहेको छ । फुयाल केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनको महान्यायाधीवक्ता थिए । त्यसैले उनले रिट हेर्न नमिल्ने भन्दै सुनुवाई नगर्नसक्ने संभावना पनि रहेको बताइएको छ ।

उम्मेदवार कार्कीले बुझाएको किर्ते राजीनामाको कागजातको आधारमा जानाजान मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी सदर गराएको भन्दै उम्मेदवारी बदर गराउन जसपाबाट उपमेयरको उम्मेदवार भएका अमरेन्द्र यादवले रिट दर्ता गरेका हुन् ।

निर्वाचन आयोगले आफैं आचारसंहिताको निर्देशिका उल्लंघन गरेर कार्कीविरुद्धको उजुरी सुनुवाई नगरेको भन्दै रिटमा आयोगलाई पनि विपक्षी बनाइएको छ । कार्कीले कोशी अस्पाताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिइ उम्मेदवारी दिएको भन्दै विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले उम्मेदवारी खारेजी माग गर्दै उजुरी दिएका थिए ।

निर्वाचन कार्यालयले उजुरकर्ताको माग दाबी नपुगेको भन्दै कार्कीको उम्मेदवारी सदर गराएपछि यादव न्याय खोज्दै सर्वोच्चसम्म पुगेका हुन् । निर्वाचन कार्यालयले पनि किर्ते पत्रको छानविन नै नगरि उम्मेदवारी सदर गरेको रिटमा दावी गरिएको छ ।

कानुन व्यवसायीहरुका अनुसार सर्वोच्चले चाहेमा बिहीबार पहिलो सुनवाइमै अन्तरिम आदेश जारी गरेर एमाले उम्मेदवार शिल्पालाई चुनावी प्रतिस्पर्धा गर्नबाट रोक लगाउन सक्नेछ । अन्तरिम आदेश जारी नगरि मुद्दा लम्बिएर दावी प्रमाणित भएमा भने कार्की विजयी भएपनि पद खारेज हुनेछ ।

कोशी अस्पताल विकास समिति सदस्यमा बहाल रहेको अवस्थामा उम्मेदवारी दिएकी कार्कीले त्यसविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेपछि २०७९ वैशाख ९ गतेको मिति राखेर राजीनामा अस्पतालमा बुझाएकी थिइन् । तर, अस्पतालले विकास समितिको सदस्यको राजिनामा स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्नुपर्ने बताएपछि उनले ११ बैशखमा मन्त्रालयमा राजिनामा दर्ता गरेको प्रतिलिपि निर्वाचन कार्यालयमा पेश गरेकी थिइन् ।

कार्कीले निर्वाचन कार्यालयमा पेश गरेको राजीनामाको दर्ता नम्बर नै किर्ते रहेको प्रमाणित भइसकेको छ । कार्कीको राजिनमा मन्त्रालयमा दर्ता नभएको मन्त्रालयले नै पुष्टि गरिसकेको छ । मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले उपलब्ध गराएको आधिकारिक सूचना विवरण अनुसार कार्कीले राजीनामा स्वीकृत गरेको मिति र दर्ता नम्बरमा उक्त दिन मन्त्रालयको मुल दर्ता किताबमा सुर्य नेपाल प्रालि काठमाडौंको सुर्तिजन्य पदार्थ ऐनबारेको कागजात दर्ता भएको पाइएको छ ।

वैशाख १२ गते उपमेयरमा उम्मेदवारी दर्ता गर्दा अस्पताल विकास समिति सदस्यबाट राजीनामा नदिएको भन्दै उनको विरुद्ध उजुरी परेको थियो । उजुरीपछि उनले वैशाख ११ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएको भन्दै ७२९९ नम्बरको दर्ता नम्बरसहितको प्रतिलिपि आयोगमा बुझाएकी थिइन् ।

कार्कीले बुझाएको कागजातको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी सदर गरिसकेको छ । तर, उनले मन्त्रालयमा बुझाएको भनिएको राजीनामाको दर्ता नम्बर नै किर्ते रहेको पाइएको हो । मन्त्रालयको दर्ता किताबमा वैशाख ११ गते ७२९९ नम्बरमा कार्कीको राजीनामा नभएर अर्कै पत्र दर्ता भएको देखिन्छ ।

मन्त्रालयको दर्ता किताबमा ७२९९ नम्बरमा सुर्य नेपाल नामक कम्पनीले पत्र दर्ता भएको छ । मन्त्रालयले ७२७८, ७२९९ र ७३०० नम्बरको दर्ता नम्बरमा सुर्य नेपाल नामक कम्पनीको पत्र दर्ता रहेको पुष्टि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।