सभागृहको नाम फेर्नेः गुरुको आशिर्वाद भने चाहिने

दमक । आफ्नै गृहनगर झापाको दमकमा नेकपा एमालेलाई पाराजित गर्न महागठबन्धन बनेपछि बेचैन भएका एमाले अध्यक्ष केपी ओलीले बुधबार इलामको माङसेवुङ लारुम्बा पुगेर किराँत धर्मगुरु आत्मान्द लिङदेनसँग आशिर्वाद लिएका छन् ।

झापाका विभिन्न चार स्थानमा आयोजना गरिएका चुनावी कार्यक्रमलाई सम्बोधन गर्न मंगलबार नै गृहजिल्ला आएका ओली बुधबार धर्मगुरु भेट्न पुगेका हुन् ।

नेता सुवासचन्द्र नेम्वाङसहित ओली लारुम्बा पुगेका थिए । लारुम्बामा ओलीले किरात धर्मगुरु आत्मानान्द लिङ्देनको आर्शिवाद लिएको एमालेले जनाएको छ ।
माङसेवुङस्थित लारुम्बा किराँत धर्मको प्रमुख आस्थास्थल मानिन्छ । ओलीले गुरुमार्फत आप्mना पार्टीका उम्मेद्वार जिताउनका लागि सहयोग मागेको आश्रम स्रोतले जनाएको छ । अघिल्लो निर्वाचनताका पनि ओली लिङ्देनको आशिर्वाद लिन लारुम्बा पुग्ने गरेका थिए ।

ओली धर्मगुरुको आशिर्वाद लिन लारुम्बा पुगेपनि किराँत धर्मावलम्बीहरु भने ओलीको गृहनगरकै एमालेसँग असन्तुष्ट छन् । दमकमा निर्माणको अन्तिम चरणमा पुगेको सभागृहको नामको विषयलाई लिएर किराँत धर्माबलम्बिहरु एमालेसँग असन्तुष्ट भएका हुन् ।

ओली पहिलो पटक प्रधामन्त्री भएका बेला निर्माण थालिएको दमकको सभागृहको नाम राष्ट्रिय बिभुतिसमेत रहेका किराँत महागुरु फाल्गुनन्द लिङ्देनको नाममा रहने भन्दै शिलान्यास भएको थियो । २०७३ साल जेठ २८ गते ओलीले प्रधानमन्त्रीकै हैसियतमा सभागृह शिलान्यास गरेका थिए । तर, पछि एमाले नेतृत्वमा रहेको दमक नगरपालिकाले नाम परिवर्तन गरेर दमक सभागृह मात्रै राखेपछि किराँती समुदाय असन्तुष्ट छन् ।

दमकमै आदिवासी संग्रहालय निर्माण गर्ने प्रतिबद्धता जनाएर काम नगरेको झापाकै कमल गाउँपालिकामा आदिवासी समुदायका मृतकहरुको चिहान उखेलेर रंगशाला बनाउने सहमति भएकोमा एमालेले नाम परिवर्तन गरि मदन भण्डारी राखेको विषयमा पनि किरात समुदाय रुष्ट छन् । कमलमा निर्माण गर्ने भनिएको रंगशालामा एमाले नेतृत्वको अघिल्लो सरकारले नाम परिवर्तन गरेपछि विवाद भएकोले ओलीले गृहनगर दमकमै त्यो योजना सारेर मदन भण्डारीकै नाममा काम भइरहेको छ ।

बुधबार ओलीसँगको भेटमा किराँत धर्मगुरु लिङ्देनले दमकको सभागृहको नामाकरणको विषयमा असन्तुष्टि जनाएको बताइएको छ । दमकमा महागुरु फाल्गुनन्दको पहिचान मेटाएर लारुम्बामा धर्मगुरु आत्मानन्दको आशिर्वाद लिएका ओलीलाई आशिर्वादले काम नदिने दमकै किरात समुदायको भनाइ छ ।

बुधबार, २१ बैशाख, २०७९, रातीको ०९:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर