एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवारविरुद्ध पक्राउ पुर्जी जारी

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष उम्मेदवार बनेका मिलनकुमार विष्टलाई पक्राउ गर्न जिल्ला अदालतले भक्तपुरलले पक्राउ पुर्जी जारी गरेको छ ।

विष्टविरुद्ध जिल्ला अदालत भक्तपुरबाट ठगी र किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयका ओखलढुङ्गाले जनाएको छ ।

बैंकिङ कसुर तथा किर्ते गरेको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । वैशाख १६ गते अदालतले ओखलढुंगा प्रहरीलाई पक्राउ पुर्जी पठाएको हो । पक्राउ पुर्जीमा उनलाई ठगी तथा लिखतसम्बन्धी कसुरमा फरार सूचीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिँदै सबै प्रक्रिया पूरा भइसकेपछि पक्राउ गरि अदालत लैजाने जनाएको छ । नेपाली कांग्रेसको तर्फबाट लिखु गाउँपालिकाकै अध्यक्ष पदका उम्मेदवार अशोक कार्कीले विष्टविरुद्ध निर्वाचन अधिकृतलाई दोहोरो नागरिकता र बैंकिङ कसुरमा कालोसूचीमा परेको भनी उजुरी दिएको भएपनि निर्वाचन अधिकृतको कार्यालय उम्मेदवारी खारेज गरेको थिएन ।

विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दोहोरो नागरिकता लिएको जाहेरी परेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट मिलनकुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टको नाममा दोहोरो नागरिकता लिएको जाहेरीमा आरोप उनीमाथि लागेको छ ।

विष्टविरुद्ध दोहोरो नागरिकता सम्बन्धी कसुरमा जाहेरी आएपछि अनुसन्धान भइहरेको बेला जिल्ला अदालत भक्तपुरबाट पक्राउ पुर्जी जारी भएको ओखलढुङ्गाका प्रहरी प्रमुख डिएसपी सुकदेव खनालले जानकारी दिए । अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको हो ।

विष्टको निर्वाचन आयोगको मतदाता नामावली सूचीमा पनि फरक(फरक दुई नाम रहेको पाइएको छ । आयोगको मतदाता नामावली सूचीमा क्र.सं.१३६३ को मतदाता नम्बर ३७९८२९२ र क्र.सं.२१७४ को मतदाता नं. १७७६४४३० मा उनको नाम मिलनकुमार विष्ट र होमबहादुर विष्ट भनेर उल्लेख गरिएको छ ।

विष्टले २०४७ मा ओखलढुंगा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टका नाममा नागरिकता लिएका छन् । त्यसैगरी २०५१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मिलनकुमार विष्ट नाममा अर्को नागरिकता लिएको पाइएको छ । दुवै नागरिकतामा बुवाको नाम गणेशबहादुर विष्ट र ठेगाना पोकली ४ ओखलढुंगा छ ।

बुधबार, २१ बैशाख, २०७९, बिहानको ११:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर