धरान । वैशाख ३० गते हुने सुनसरीको धरान उपमहानगरपालिकाको निर्वाचनमा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारहरुप्रति धराने मतदाताले उत्साहपूर्ण मतदान गर्ने अवस्था पाइएको मेयर र उपमेयरका उम्मेदवारद्वयले बताएका छन् ।
संघीयतापछि धरानमा पहिलो पटक लोकतन्त्रवादी र बामपन्थी शक्ति मिलेर धरानलाई नयाँ गति दिने अठोट गरेकाले धरानबासीमा नयाँ उत्साह पाइएको उनीहरुको दावी छ ।
चुनावी अभियानमा धरानका वडाहरुमा जनताको घरदैलोमा पुग्दा मतदाताहरुले उत्साहपूर्ण रुपमा स्वागत गर्दै गठबन्धनप्रति ठूलो आशा र भरोसा रहेको बताएको मेयरका प्रत्यासी किशोर राईले बताए । धरानका ७ वटा वडाहरुमा गठबन्धनका वडाअध्यक्ष र सदस्यहरुसहित घरदैलो पुरा गर्दा जीत निश्चित भएको उपमेयरका प्रत्याशी आइन्द्रविक्रम वेघाको दावी छ ।
गठबन्धनबाट मेयरका प्रत्याशी राईले उपनिर्वाचन अघिसम्म लामो समय एउटै पार्टीले हालीमुहाली चलाउँदै आएकोले उपमहानगरपालिकाको नीति निणर्य पारदर्र्शी नभएको र जनभावनाको सुनवाई हुन नसकेकोले जनताले परिवर्तन चाहेको बताए । धरानको भविष्य बनाउन धराने जनताको चाहनाको प्रतिनिधित्व गठबन्धनले गर्ने विश्वास मतदातामा रहेको उनको दावी छ ।
धरान खानेपानी आयोजना धरानका सबै राजनीतिक पार्टीहरुको पहलमा आएकोमा आयोजना प्राविधिक रुपमा सम्पन्न नभईसकेको अवस्थाका कारण खानेपानीको समस्या धरानबासीले सामना गर्नुपरेको भन्दै राईले आयोजना पूर्ण क्षमतामा सञ्चालन गरी खानेपानी आपूर्ति गरिने बताए । उपमहानगरपालिकाको सम्पूर्ण बजेट खानेपानीकै लागि खर्च गर्नुपरे पनि समस्या समाधान गरेर छोड्ने उनको भनाइ छ ।
गठबन्धनबाट उपमेयरका प्रत्याशी वेघाले परिवर्तनको पक्षमा रहँदै आएका धराने मतदाताले यसपाली लोकतान्त्रिक र बाम गठबन्धनलाई व्यक्ति परिवर्तन भन्दा नेतृत्वमा नयाँ परिवर्तनकारी स्वरुपका रुपमा लिएको बताए । धरानको खानेपानी, सुकुम्बासी समस्या समाधान पनि आफूहरु नेतृत्वमा आएपछि संभव हुने उनले बताए । उपनिर्वाचनले उपमहानगरपालिकाको नेतृत्व परिवर्तन गरेपछि नयाँ ढंगले नीतिगत कामहरु भएकोमा अब गठबन्धनले त्यसलाई निरन्तरता दिने जनाएको छ ।
गठबन्धन चुनाव प्रचार समितिका संयोजक श्याम पोखरेलको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा पूर्वमेयर तिलक राईले उपमहानगरपालिकामा आफ्नो कार्यकालमा भएका काम कार्वाहीका बारेमा गठबन्धनका उम्मेदवारहरुलाई कसैले प्रश्न उठाए आफू जवाफ दिन साथै रहने बताए ।