विराटनगरमा २३ जनाको उम्मेदवारी फिर्ताः जसपा र माओवादीका विद्रोहीको कायमै

विराटनगर । स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका तीनसहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले उम्मदेवारी फिर्ता लिन दिएको शुक्रबार साँझ ५ बजेसम्मको समय सकिँदा उपप्रमुखका उम्मेदवार दुई जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

मेयरमा उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, नेपाल परिवार दलका महेश निरौला र स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी केन्द्रकी केमुना ओडारी मैनालीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।

यस्तै उपप्रमुखमा उम्मेदवारी दिएका स्वतन्त्र उद्धबप्रसाद कोइराला र परिवार दलका दिपक पोखरेलले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ । जनता समाजवादी पार्टीबाट विद्रोह गरि मेयरमा उम्मेदवारी दिएका उमेश यादव र उपमेयरमा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नमिता न्यौपानेको भने उम्मेदवारी कायमै रहेको छ ।

गठबन्धन दलले गठबन्धनको आवश्यकता महशुस नगरेकोले कार्यकर्ताको भावना अनुसार उम्मेदवारी कायम राखेको न्यौपानेले बताएकी छन् । उनले पार्टी केन्द्रबाटै महानगरको गठबन्धन भएको भएपनि वडाहरुमा गठबन्धन गर्नसमेत काँग्रेस र जसपा तयार नभएकोले उम्मेदवार बनेको बताइन् ।

पार्टीले गठबन्धन गरेकोले त्यसविरुद्ध आफू उभिएको कारण महानगरको सचिब पदबाट राजीनामा दिएको उनले बताएकी छन् । महानगरमा सत्तारुढ गठबन्धनले मेयरमा काँग्रेसबाट नागेश कोइराला र उपमेयरमा जसपाबाट अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको भएपनि वडा तहमा तालमेल नहुँदा गठबन्धन धरापमा परेको छ ।

महानगरमा स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका ८ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

बैशाख १६, २०७९, साँझको ०६:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर