दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक यतिबेला सबैको चासोको विषय बनेको छ । यो चासोका पछि यहाँको द्विपक्षीय चुनावी भिडन्त मुख्य कारण बनेको छ ।
एकातिर राप्रपासहित सत्तारुढ दलहरुको मोर्चाबन्दी, अर्कातिर कमल थापा नेतृत्वको राप्रपा नेपाल र परिवार दलसहितको एमाले मैदानमा छ । यसपटकको स्थानीय निर्वाचनमा रोचक प्रतिष्पर्धाको थलो बन्दैछ, दमक ।
२०४६ पछिका सबै स्थानीय निर्वाचनमा एमालेले एकलौटी जित हासिल गर्दै आएको दमकमा यसपटक उसले राप्रपा, काँग्रेस, माओवादी, जसपा लगायतका दलहरुको संयुक्त मोर्चासँग प्रतिष्पर्धा गर्नुपर्ने चुनौती छ । गठबन्धनलाई पनि एमालेको बलियो किल्लामा मोर्चालाई बलियो सावित गर्नुपर्ने चुनौती छ । यो रोचक चुनावी प्रतिष्पर्धामा गठबन्धनको नेतृत्व मेयरका रुपमा राप्रपाका राम थापाले गर्दैछन् भने एमालेबाट गीता अधिकारी नेतृत्वको टिम मैदानमा छ । अधिकारी हालकी उपमेयरसमेत हुन् ।
केही दिनअघिसम्म झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी सबैको तानातानमा थियो । पछिल्लो निर्वाचनको नतिजामा दोस्रो धेरै मत ल्याएको राप्रपालाई आफ्नो पक्षमा उभ्याउन सके चुनाव सहजै जितिने आशा पाँच दलीय गठबन्धन र एमाले दुवैलाई थियो । त्यसैले दुवै पक्ष राप्रपा मनाउने प्रयासमा प्रतिष्पर्धा गरे जसरी दौडधुपमा थिए ।
सत्ता गठबन्धन र एमाले दुवैको तानातानमा रहेको राप्रपा भने जसले मेयर दिन्छ, उसैसँग चुनावी तालमेल गर्ने अडान लिएर दुवैतिर संवादमा थियो । राप्रपा मनाउने दौड सत्ता गठबन्धनका दलहरुले जिते । राप्रपालाई मेयर दिएर भएपनि उनीहरुले गठबन्धन बनाए, जसलाई दमकमा ‘महागठबन्धन’ भन्न थालिएको छ । राप्रपालाई मेयर दिन नसकिने एमाले अडानले राप्रपालाई सत्ता गठबन्धन नजिक पुर्याएको थियो ।
२०४९ यताका तीन वटै स्थानीय निर्वाचन जितेको र अध्यक्ष केपी शर्मा ओलीको गृहनगरसमेत भएका कारण मेयर पद नै राप्रपालाई सुम्पिन नसक्ने बाध्यता एमालेलाई थियो । त्यसैले राप्रपासँगको चरणबद्ध छलफलमा एमालेले ‘उपमेयर दिन सकिने, मेयर दिन नसकिने’ बताएको थियो ।
मेयर दिन नसकिने एमालेको बाध्यता र मेयर नभई नहुने राप्रपाको अडान पाँच दलीय गठबन्धनका लागि भने एमाले एक्ल्याउने अवसर बन्योे । गठबन्धनले अन्ततः मेयर राप्रपालाई दिएर तालमेल गर्ने विकल्प रोज्यो ।
राप्रपाका प्रदेश अध्यक्ष राम थापालाई प्रमुख र काँग्रेसकी रेगिना भट्टराईलाई उपप्रमुखको उम्मेद्वार बनाएर ‘महागठबन्धन’ चुनावी मैदानमा होमिएको छ । १० वटा वडा रहेको दमकमा राप्रपाले मेयरसहित २ वडा, काँग्रेसले उपप्रमुखसहित ४ वटा वडा र माओवादीले ४ वटा वडामा उम्मेद्वार खडा गरेका छन् । नेकपा एकीकृत समाजवादी झापामा गठबन्धनबाट बाहिरिसकेको छ भने जनता समाजवादी पार्टीले वडा सदस्यहरु लिएर आफूलाई गठबन्धनमै उभ्याएको छ ।
एमाले हालकी उपमेयर गीता अधिकारीलाई प्रमुख र अम्बिका खनाललाई उपप्रमुखको उम्मेद्वार बनाएर एक्लै चुनावी मैदानमा छ । दमकमा शक्तिशाली रुपमा आफूलाई उभ्याएर अहिलेसम्मका सबै चुनाव जितेको एमालेलाई यसपटक मुख्य विपक्षी दलहरुले मोर्चा बनाएरै घेराबन्दी गरेका छन् ।
यद्यपि यस्तो घेराबन्दीले चुनावी नतिजामा कुनै असर नपार्ने एमाले नेताहरु बताउँछन् । ‘अरु सबै एकातिर र हामी एक्लै एकातिर हुँदा पनि हामी सजिलै चुनाव जित्दैछौं,’ दमकका एमाले नेता होम थापाले आत्मविश्वासपूर्वक भने ‘यहाँको हाम्रो वर्चश्व पुनःस्थापित गर्नेछौं ।’
एमालेबाट मेयरको उम्मेद्वार बनेकी गीता अधिकारी पनि नेता थापासँगै सही थाप्छिन् । ‘आजको विकसित र समृद्ध दमक एमालेकै देन हो,’ अधिकारीको भनाइ छ ‘यहाँ हाम्रो सांगठनिक पकड पनि बलियो छ । साथै स्थानीय, संघ र प्रदेश सरकारबाट भएका कामहरुको मुल्यांकन पनि जनताले राम्ररी गर्नुहुनेछ । यसर्थ हामीलाई गठबन्धनको कुनै चिन्ता छैन ।’
एमाले ने्ताहरुले सार्वजनिक रुपमा यस्तो आत्मविश्वास देखाइरहँदा गठबन्धनभित्रका दलहरु पनि ढुक्क सुनिन्छन् । एमालेविरुद्ध मुलुकव्यापी गठबन्धनमा रहेका पाँच दलका लागि दमकको मेयर पद ठूलो नभएको, गठबन्धनमार्फत आर्जित हुनसक्ने उपप्रमुखसहितका अन्य पदहरु नै उपलब्धि सावित हुने सम्भावनाका कारण राप्रपालाई मेयर दिएर एमालेविरुद्धको घेराबन्दी बलियो पारिएको गठबन्धनका नेताहरु बताउँछन् ।
‘हामीसँग दमकमा गुमाउनका लागि केही थिएन,’ काँग्रेस दमकका उपसभापति युवराज खनालले भने ‘यदि राप्रपासहितको महागठबन्धन बन्यो भने एमालेलाई सजिलै हराउन सकिन्छ भन्ने निष्कर्ष स्वरुप हामी राप्रपाको नेतृत्व स्वीकार्ने ठाउँमा पुग्यौं ।’
एमालेको परम्परागत गढ मानिने दमकमा गठबन्धनका दलहरुलाई उत्साही तुल्याउने एउटा मुख्य आधार २०७४ को चुनावी नतिजा नै हो । अन्य सबै दलहरुले विगतमा पाएको मत एकै ठाउँ मिसाउँदा एमालेभन्दा धेरै हुने आंकलनका कारण उनीहरु दमकमा ‘नयाँ इतिहास’ कोरिने बताउँछन् ।
२०७४ को स्थानीय निर्वाचनमा एमालेले दमकमा मेयर, उपमेयरसहित ८ वटा वडा जितेको थियो । बाँकी दुईवटा वडामा राप्रपा विजेता बनेको थियो । प्रमुख पदमा एमालेका रोमनाथ ओली १० हजार ८ सय ६ मत ल्याएर दोस्रोपटक विजेता बन्दा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापा ७ हजार ६ सय ५५ मत ल्याएर दोस्रोपटक ‘दोस्रो’ भएका थिए ।
२०५४ को निर्वाचनमा पनि दमकमा रोमनाथ ओली मेयरमा निर्वाचित हुँदा पनि थापा नै निकटतम प्रतिष्पर्धी थिए । ‘यसपटक हामी इतिहास रच्दैछौं,’ गठबन्धनका मेयर उम्मेद्वार राम थापाले भने ‘पहिलो कुरा दमकका जनता यसपटक हामीलाई न्याय दिन चाहन्छन् । दोस्रो कुरा एमालेको एकल शासनमा मौलाएको भ्रष्टाचार, अनियमितताको अन्त्य पनि यहाँका जनताले खोजेका छन् ।’
आफ्नो जीत निश्चित रहेको बताउने उम्मेद्वार थापाले अघिल्लो चुनावमा पाएको मतको हिसाबकिताब पनि सुनाए । यो हिसाब सुनाउँदा उनले एमालेभन्दा ‘धेरै बढी मत गठबन्धनमा रहेको’ निष्कर्ष निकाले । पछिल्लो चुनावमा थापाले दोस्रो धेरै मत ल्याउँदा माओवादी तेस्रो र काँग्रेस चौथो बनेका थिए । माओवादीले ६ हजार ८ सय ९८ मत ल्याउँदा कांग्रेसले ५ हजार ५ सय ३९ मत प्राप्त गरेको थियो ।
‘पछिल्लो चुनावको गणित र जनताले खोजेको परिवर्तन दुवै कुराले हामी बलियो अवस्थामा छौं,’ गठबन्धनबाट उपप्रमुखको उम्मेद्वार रहेकी काँग्रेसकी रेगिना भट्टराईले भनिन् ‘दमकमा लामो समयदेखि एमालेको एकतन्त्रीय शासन छ । जनता यसबाट मुक्ति चाहन्छन् । जनताको त्यही भावना अनुसार हामीले गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेका हौं ।’
एमाले नेताहरु गठबन्धन दलहरुभित्र समस्या नै समस्या रहेको तर आफ्नो पार्टीमा कुनै ‘अन्तरविरोध’ नरहेको बताउँदै चुनाव सजिलै जितिने दाबी गरिरहेका छन् । ‘अहिले जसरी राप्रपाबाट राम थापालाई अघि सारिएको छ, यो राप्रपा पुरानो अवस्थाको छैन, विभाजित भइसकेको छ ’, एमाले नेता थापाले थपे ‘र, अहिलेको राम थापा पुरानो राम थापा पनि होइनन् । उहाँको प्रभाव घटिसकेको छ । एमाले विगतमा भन्दा एकताबद्ध छ । अन्तरविरोध छैन । हामीसँग अहिलेको विकसित दमक बनाएको विरासत पनि छ । त्यसैले एमालेलाई जीतबाट कसैले रोक्न सक्नेछैन ।’
गठबन्धनका मेयर उम्मेद्वार थापा र उपमेयर उम्मेद्वार भट्टराई भने ‘टिममा कुनै समस्या नभएको’ दाबी गर्छन् । ‘दमकमा दशकौंदेखिको एकाधिकार तोड्ने कुरा मुख्य प्राथमिकता भएको छ,’ भट्टराईले भनिन् ‘यसक्रममा दलहरु एकताबद्ध अवस्थामा छौं । यसपटक दमकबाट परिवर्तनको सुरुआत हुँदैछ ।’