मोरङमा एमाले उम्मेदवारको उम्मेदवारी खारेज

विराटनगर । आगामी स्थानीय तहको निर्वाचनको लागि मोरङको केराबारी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी एक जनाको उम्मेदवारी खारेज भएको छ ।

केराबारी १ मा महिला सदस्यमा उम्मेदवारी दिएकी ४७ वर्षीया पवित्रा लिम्बूको उम्मेदवारी खारेज भएको छ ।

लिम्बूको उम्मेदवारीमाथि दाबीविरोध परेकोमा आवश्यक छानविनपछि उम्मेदवारी खारेज भएको निर्वाचन कार्यालय केराबारीका प्रमुख भानुभक्त न्यौपानेले जानकारी दिए । लिम्बू केराबारी गाउँपालिकाको महिला स्वंयमसेविकाको जिम्मेवारीमा बहाल रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको थियो । उजुरीउपर निर्वाचन कार्यालयले निर्णय गरि उम्मेदवारी खारेज गरेको हो ।

केराबारीमा नेकपा एमालेका चार जना उम्मेदवार विरुद्ध उजुरी परेको थियो । अन्य तीन जनाले भने सफाइ पाएका छन् ।

एमालेबाट केराबारी गाउँपालिका ८ नं. वडामा वडाअध्यक्षको उम्मेदवारी दिएका ५७ वर्षीय टिकाराम चापागाई, वडा सदस्यमा एमालेबाट उम्मेदवार बनेका २७ वर्षीय दिलबहादुर राई र महिला सदस्यको उम्मेदवार ३७ वर्षीय सन्तोषी सार्कीविरुद्ध पनि उजुरी परेको थियो । उनीहरुको हकमा निर्वाचन कार्यालयले सफाइ दिएको छ ।

केराबारी गाउँपालिकामा १९० जनाको उम्मेदवारी परेको छ । प्रमुखमा ७, उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । यस्तै वडाअध्यक्षमा ४०, महिला सदस्यमा ३३, दलित महिला सदस्यमा ३४ र खुल्ला सदस्यमा ७० जनाको उम्मेदवारी परेको छ ।

बिहिबार, १५ बैशाख, २०७९, साँझको ०५:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर