काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार रहेका केशव स्थापित एक सार्वजनिक कार्यक्रममा ‘मि टु’ बारे प्रश्न गरेपछि जङ्गिएका छन् ।
नेशनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीहरुले स्थापितलाई लागेको ‘मी टु’ आरोपबारे प्रश्न गर्दा प्रश्नकर्तामाथि अराजक रुपमा प्रस्तुत हुँदै दुव्र्यवहार गरेका थिए ।
प्रश्नकर्ताले प्रश्न सक्न नपाउँदै बसेको कुर्सीबाट उठेर उनी जंगिएका थिए । आरोप लगाउनेसँग प्रमाण हुनुपर्ने भन्दै उनले प्रश्न गर्ने विद्यार्थीप्रति भने ‘ यु आर नाइस लेडी । तर, तपाईको थुतुनो ठिक छैन ।’ आक्रोशित भएका स्थापितलाई मेयरका अन्य उम्मेदवारले आफ्नो स्थानमा बस्नको लागि तानेका थिए ।
साथमै रहेकी विवेकशील साझा पार्टीको तर्फबाट महानगरको उम्मेदवारी दिएकी समिक्षा बास्कोटाले उनलाई सम्झाएकी थिइन् । तर, उनी फेरि उठेर जंगिए । केशव स्थापित रिसको भाडा भएको बताउँदै उनले आफूलाई नरिसाउनु भन्न नपाइने बताए ।
प्रश्नकर्ता अभियानकर्मी भावना राउतले स्थापितमाथि ‘मिटु’ अभियानका क्रममा लागेको आरोपबारे जिज्ञासा राखेकी थिइन्। स्थापितले आरोप लागाउने महिलालाई भ्रष्टाचार गरेकाले निकालिएको जवाफ दिए। राउतले आरोप लागिसकेपछि कि त खण्डन गरेर निर्दोष रहेको प्रमाणित गर्नुपर्यो नभए मेयर जस्तो पदमा बस्ने नैतिकता हुन्छ र भन्ने प्रश्न गरेकी थिइन् ।
राउतमाथि चोर औंला देखाउँदै स्थापित जंगिएपछि होहल्ला भएको थियो। अन्तरक्रियामा सहभागी विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार बाँस्कोटाले स्थापितको व्यवहारप्रति मञ्चमै आपत्ति जनाइन्।
चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरूमाथि स्थापितले मेयर छँदा यौन दुर्व्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए। आफूमाथि कुनै बेला भएको दुर्व्यवहारबारे विश्वभरका महिलाले आवाज उठाइरहेको त्यो समयमा रश्मिला र उज्जलाले पनि स्थापितबाट भएका यौन दुराचारको घटना बाहिर ल्याएका थिए। विश्वभरिका महिलाहरूले सुरू गरेको उक्त अभियान ‘मिटू’ भनेर चिनिएको थियो।
त्यसबेला स्थापितले भने आफूमाथि लागेको आरोप झूटो भन्दै कानुनी कारबाहीमा जाने बताएका थिए। तर, उनले कानुनी कारर्वाहीको प्रक्रिया अगाडि बढाएनन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।