लोड हुँदैछ...

मेनु

विराटनगरको मेयर बन्ने दौडमा काँग्रेसका आधा दर्जन नेता, गोपाल रेग्मी पनि मैदानमा

विराटनगरको मेयर बन्ने दौडमा काँग्रेसका आधा दर्जन नेता, गोपाल रेग्मी पनि मैदानमा

विराटनगर । चौडा बाटोघाटोसहितको अहिलेको विराटनगर सहर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको सकारात्मक परिचय बनाएका गोपालप्रसाद रेग्मीले विराटनगर महानगरपालिकाको मेयर पदमा उममेदवार बन्न लबिईङ तीब्र बनाएका छन् । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि रहेका उनी उम्मेदवार बन्न केन्द्रीय तहका नेताहरुसँगको भेटघाट, छलफल र लबिइङमा छन् ।

रेग्मी स्थानीय निकायमा जनप्रतिनिधि नभएको बेला पटक–पटक गरी झण्डै ३ वर्षभन्दा बढी समय विराटनगर उप–महानगरपालिकाको कार्यकारी अधिकृत थिए । उनकै कार्यकालमा विराटनगरको सडक विस्तार र नाला तथा ढल निर्माणको काम अगाडि बढेको थियो ।

लामो समयदेखि विकासको मृगतृष्णा बोकेका विराटनगरबासीको चाहना अनुसार सामाजिक सुधार र पूर्वाधार विकासका योजनाहरु अगाडि नबढेको बेला नगरबासीले रेग्मीको उम्मेदवारीको चर्चालाई चासोका साथ हेर्न थालेका छन् । रेग्मीले पनि नेपाली काँग्रेसभित्रका अगुवा कार्यकर्ता, सबै पक्षका नेताहरु र सामाजिक क्षेत्रका अगुवा र युवापङ्तिका बीचमा छलफल बढाएको बताएका छन् ।

विराटनगरको विकासमा मैले कर्मचारीको हैशियतमा केही काम गरेको भन्दै रेग्मीले त्यसबेला गरेको कामको बारेमा विराटनगरका नागरिक जानकार रहेको बताए । ‘अब पनि विराटनगर बनाउनका लागि मसँग भएको भिजन र सपना कार्यान्वयन गर्न महानगरको नेतृत्व चोहको छु’ उनले भने, ‘नगरवासीले पनि मलाई नेतृत्व लिइदिन भनिरहेकोले पार्टीभित्र छलफल बढाएको छु ।’

निर्वाचनअघिको ५ वर्ष र जनप्रतिनिधि आएपछिको ५ वर्षको अवधिलाई मूल्यांकन गर्दै नगरबासीहरुले रेग्मीको चुनावी दौडलाई आशाका साथ हेरेका हुन् । ‘विगत १० वर्षको मूल्यांकन गर्ने हो भने हामीले नढाँटी भन्न सक्नुपर्छ विराटनगरलाई अहिलेको स्वरुपमा ल्याउनका लागि बनेको योजना रेग्मीले नै सफलतापूर्वक कार्यान्वयन गरेका हुन्,’ सामाजिक अभियन्ता उत्तम ढुंगेलले भने ‘जनप्रतिनिधिले नेतृत्व गरेको पछिल्लो ५ वर्षमा भने देखिनेगरि काम भएको अनुभूति हुन सकेन ।’

जनप्रतिनिधि आएपछिको यो कार्यकालमा सामाजिक क्षेत्रको विकास, शिक्षा र स्वास्थ्य सेवा, जनचेतना, रोजगार आदि क्षेत्रमा महानगरले अपेक्षाकृत योजना अगाडि बढाउन नसकेको नगरबासीको बुझाइ रहेको ढुंगेलको भनाइ छ । भौतिक पूर्वाधार विकासमा पुराना योजना कार्यान्वयनबाहेक भीम पराजुलीको नेतृत्वमा उल्लखनीय काम नभएको उनले बताए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नगरबासीहरुले उम्मेदवारको बारेमा चासो राख्दै गर्दा महानगरलाई फरक ढंगले नेतृत्व गर्ने, लामो समयसम्मको भिजन राखेर योजना बनाउन सक्ने र समग्रमा सोसियल इन्जिनियरिङ्ग गर्ने क्षमता भएको नेतृत्वको माग जनस्तरबाट भइरहेको छ । प्रदेश सरकारका पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे विराटनगरले योग्य नेतृत्व पाउन नसक्दा पछि परेको ठान्छन् ।

‘विराटनगरबासीको एउटैमात्र चिन्ता के छ भने विराटनगरलाई राम्ररी बुझेको, यसको सामाजिक पाटापक्षहरु केलाउन सक्ने र आवश्यकताको सही मूल्यांकन गरी योजना बनाउनसक्ने नेतृत्व आउन सकेन’ घिमिरे भन्छन्, ‘वर्तमान नेतृत्व र अहिले दृष्यमा देखिएका व्यक्तिहरुबाट उनीहरुले आफ्नो अपेक्षा पुरा हुने विश्वास छैन ।’ मेयरको निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रहेका एमाले नेता विनोद ढकाल काँग्रेसले विराटनगरलाई कामत मात्र ठान्ने गरेकोले पछिल्लो ५ वर्ष त्यसै खेर गएको बताउँछन् । उनको बुझाईमा अहिले विराटनगरमा भएको विकासको काम रमेशचन्द्र पौडेल र त्यसपछिको अबधिमा बनेका योजनाको कार्यान्वयन मात्र हो ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा विराटनगर महानगरपालिकाको नेतृत्वका लागि विभिन्न राजनीतिक दलहरुबाट झण्डै डेढ दर्जन व्यक्तिहरु अगाडि सरेका छन् । नेपाली काँग्रेसका तर्फबाट दाबी गर्नेहरुको संख्या सबैभन्दा धेरै छ ।

वर्तमान मेयर भीम पराजुली महानगरमा थप एक कार्यकाल नेतृत्व गर्न चाहेका छन् । केन्द्रीय सदस्य अमृत अर्याल र डिला संग्रौला पनि मेयरको दावेदार छन् । पराजुली र अर्याल २०७४ को निर्वाचनमा मेयरको दावेदार हुँदा डा.शेखर कोइरालाको जोडमा उनले बाजी मारेका थिए । तर, यसपटक कृष्णप्रसाद सिटौलाको समूहमा खुलेको कारण उनलाई शेखर पक्षले सहयोग गर्ने संभावना छैन ।

पराजुलीलाई आफ्नै जोडबलमा मेयर बनाएको भएपनि अहिले धोका दिएको भन्दै डा.शेखर पक्ष उनीसँग आक्रोशित छ । मेयरको दावी गर्ने अर्याल र संग्रौला काँग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् । यस्तै मेयरको टिकटमा दावी गरेका गोपाल रेग्मी पनि देउवा निकट छन् । त्यसैले पनि पराजुलीलाई मेयर दोहोर्याउन देउवा सहमत हुने संभावना कमजोर रहेको दावी काँग्रेसभित्र गरिन्छ । यद्यपी काँग्रेसको पछिल्लो समिकरणमा देउवालाई सहयोग गर्दै आएका सिटौलाको जोडबल पुगेको अवस्थामा भने पराजुली नै दोहोरिने संभावना पनि छ ।

अर्कोतिर पार्टी सभापतिमा पराजित भएपनि विराटनगर महानगरको सभापति डा.शेखरको चाहना बाहिरबाट हुने संभावना नरहेको काँग्रेस नेताहरु बताउँछन् । ‘अघिल्लो पटक पनि सभापति देउवा नै रहेको बेला उनकै निकटका अमृत अर्यालले टिकट नपाएका हुन् नि’ काँग्रेस प्रदेश समितिका एक सदस्यले भने, ‘त्यो बेला पार्टीभित्र कमजोर भूमिकामा रहेका शेखरकै रोजाईमा पराजुलीले मेयरको टिकट पाएका थिए भने अहिले पार्टीको ४० प्रतिशत खेमाको नेतृत्व गर्ने शेखरको रोजाईबाहिर महानगरको मेयर बन्ने संभावना छैन ।’

डा.शेखरको समूहबाट भने पार्टीको जिल्ला उपसभापति रहेका नागेश कोइराला मेयरको सशक्त दाबेदार छन् । यस्तै महानगरको उपमेयर रहेकी इन्दिरा कार्कीले पनि मेयरको दावी गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।