विराटनगर । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर घोषणा गरेको एक महिने ‘घर घर जाऔं कांग्रेसलाई जिताऔं’ कार्यक्रमको मोरङ जिल्लामा पनि शुभारम्भ भएको छ । विराटनगर महानगरपालिकाको वडा नम्बर ८ भगवती थानबाट नेपाली कांग्रेसले अभियानको शुभारम्भ गरेको हो ।
कार्यक्रमको शुभारम्भ पछि नेपाल पत्रकार महासंघ मोरङको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै अभियानका मोरङ प्रतिनिधि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेसको यो अभियानलाई टोलटोलसम्म पु¥याउने दायित्व मोरङ जिल्लामा आफूले लिएको बताए । आवश्यक परेको बेला कांग्रेस जहिले पनि एक भएको इतिहास रहेकाले महाधिवेशनको प्रतिस्पर्धाको कुरालाई लिएर अड्कल नकाट्न उनले आग्रह गरे ।
बुढाथोकीले कांग्रेस निर्वाचनसम्म नै एक भएर जाने विश्वास दिलाउँदै उम्मेदवार र गठबन्धनका बारेमा पनि टोल कमिटि र वडा कमीटीले गर्ने निर्णय नै यो पटकको बलियो आधार भएको बताए ।
उनले अहिलेको गठबन्धनको सरकारलाई निर्वाचनसम्म लिएरसँगै जाने या निर्वाचनमा कांग्रेस एक्लै जाने भन्ने विषयपनि टोलबाट आएको सुझावका आधारमा तय गरिने जानकारी दिए । उनले ३० दिनको यो अभियानमा टोल, वडा र नगरले छानेका उम्मेदवार नै प्रमुख दावेदार हुने बताए । पहिले जस्तो नेताले तोकेको भरमा भन्दा यो पटक टोलले छानेको उम्मेदवारले पहिलो प्राथमिकता पाउने जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा संसद डा. डिला संग्रौलाले १४ औं महाधिवेशनपछि पार्टी एक ढिक्का भएर अघि बढीरहेकाले अब निर्वाचनबाट नेपाली कांग्रेसलाई अब्बल दर्जाको पार्टी बनाउने र संगठनलाई ब्यवस्थित बनाउने अठोट गरेको बताइन ।
यो पटक राष्ट्रिय एजेण्डा पार्टीको केन्द्रिय समितिले घोषणा गरे पनि प्रदेश, जिल्ला र नगरहरुको एजेण्डाको घोषणा स्थानीयस्तरबाटै हुने बताउँदै संग्रौलाले कांग्रेस विषेश परिस्थितिमा मात्र सरकारमा सहभागी भएको बताइन । उनले भनिन्, ‘जनताले नेपाली कांग्रेसलाई प्रतिपक्षको भूमिकामा बस्न भनेपनि दुई तिहाइको बलमा संविधानमाथि पटक पटक प्रहार हुने थालेपछि संविधान र मुलुकको रक्षाका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नु परेको हो ।’ उनले टोलटोलमा जाँदा नेपाली कांग्रेसले स्वास्थ्य, शिक्षा रोजगारीलगायतका बिषहरुमा प्रतिबद्धता प्रकट गर्ने समेत खुलाइन् ।

