विराटनगर । नेकपा एमालेले मोरङको रंगेलीमा आज (बुधबार) गरेको आम सभामा ४० हजार मानिस उतार्ने दाबी गरेको थियो ।
केही दिनअगाडि विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा बोल्दै एमालेका महासचिव शंकर पोखरेललगायतले ५ हजार बढी प्रवेश गर्ने र ४० हजार बढीले कार्यक्रममा सहभागीता जनाउने दाबी गरेका थिए ।
उक्त दाबीले अन्य पार्टीलाई ठूलो चुनौति पनि थपिदिएको थियो । उसले गरेको कार्यक्रममा त्यति संख्यामा मानिस सहभागी हुने हो भने एमालेले आगामि निर्वाचनमा मोरङका पालिका मात्रै होइन हरेक वडा जित्नु स्वभाविक हो । तर, यथार्थ त्यस्तो थिएन । सुरक्षास्रोतले दिएको जानकारी अनुसार रंगेलीको उक्त कार्यक्रममा लगभग ५ हजार मानिस सहभागी थिए ।
‘हामीले मानिस ओसारिएका बस, मोटरसाइकल पार्किङको अवस्था, साना गाडीहरुको संख्या र स्थानीय मानिस सहभागीताका आधारमा हेर्दा ५ हजार आसपास मानिस कार्यक्रममा सहभागी भएको देखियो,’ स्रोतले भन्यो । उक्त स्रोतका अनुसार एमालेले भनेजस्तो ४० हजार मानिस त के ५ हजार पुर्याउनै धेरै मेहनत गर्नुपर्यो ।
एमालेले प्रचार गरेअनुसार रंगेलीको मेयर दिलिप बगडिया, उपमेयर केशबकुमारी खराललगायत एमाले प्रवेश गरे । त्यसक्रममा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले ४ हजार ७ सय १० जना अन्य पार्टीका नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको जानकारी गराए । तर, पोखरेलले केही सयको मात्रै नाम वाचन गरेका थिए । उक्त दाबी झुठो भएको अन्य पार्टीका नेताहरुले बताएका छन् ।
एमालेले झुठो प्रचारबाजी गरेको माओवादी केन्द्र प्रदेश १ सचिव गणेश उप्रेतीले बताए । ‘एमालेको जात नै झुठो प्रचार गरेर ठूलो देखिने हो, उसले भनेजस्तो त्यति धेरै मानिस प्रवेश गरेको पनि होइन,’ उनले भने, ‘त्यति मानिस प्रवेश गरेका हुन् भने सहभागीको संख्या २० हजार बढी देखिनुपर्ने थियो, तर कार्यक्रममा त २ हजार २५ सय मात्रै देखियो ।’
कांग्रेस रंगेलीका नेता तथा क्षेत्रीय प्रतिनिधि अभिषेक अधिकारीले आफूले पनि रंगेलीको एमाले सभा नजिकबाट हेरेको बताए । उनले एमालेले भनेजस्तो हजारौं मानिस सहभागी नभएको बताए । ‘एमालेले प्रचार गरेजस्तो देखिएन, बाहिरका मानिस धेरै थिए, स्थानीय मानिसको त्यति रुची देखिएन,’ उनले भने, ‘आउने चुनावमा कति मानिस गएका रहेछन् भन्ने विषय देखिन्छ, हेर्दै जानु होला नि ।’ अधिकारीले यस पटकको निर्वाचनमा कांग्रेसले जित्ने अवस्था बनेको दाबी पनि गरे ।

