विराटनगर । माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख तथा उपप्रमुखसहित नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज रंगेलीमा आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।
एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार प्रमुख, उपप्रमुखसहित रंगेली नगरपालिका वडा नम्बर ७ का रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि एमालेमा प्रवेश गरेका हुन् ।
सोही कार्यक्रममा उनीहरुसहित मोरङका ७ वटा पालिकाबाट ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेको एमालेले जनाएको छ । एमालेमा प्रवेश गरेका वडाध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।

