विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् ।
मोरङको रंगेलीमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै ओलीले यस्ता बताएका हुन् । ‘अब कांग्रेसमा लागेर केही काम छैन । कांग्रेस विस्तारै विस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो,’ खोलीले भने, ‘चुनाव चिन्ह हरियो हुँदा कांग्रेस बौरँदैन ।’
उनले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिए । माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका प्रमुख दिलिपकुमार बगडिया र उपप्रमुख केशवकुमारी खराललगायतलाई पार्टी प्रवेश गराएपछि ओली कांग्रेसको आलोचनामा खनिएका थिए ।
‘कांग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन,’ उनले भने, ‘कांग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब कांग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।’
उनले आफू प्रधानमन्त्री हुँदा दशकौंसम्म बन्न नसकेको काम भएको दाबी गरे । ‘दशकौंसम्म बन्न नसकेको नेपाल नेकपा एमालेको सरकार हुँदा तीन वर्षमा असाधारण काम अगाडि बढेको छ,’ ओलीले भने ।
ओलीले आफूले संसद विघटन काम गर्न नदिएको कारण गरेको बताए । ‘अलिअलि कमिसन खाएर देशलाई गरिव बनाइराख्नेहरु एमालेबाट आत्तीए,’ उनले भने, ‘संसद चल्न नदिने, संसदलाई अगाडि बढ्न नदिने, संसदलाई काम गर्न नदिने अवस्था भएपछि हामीले जनतामा जाने अठोट गरेका हौं । पार्टी फुटाउन खोजेपछि, सरकार ढाल्न थालेपछि, आफ्नै पार्टीका सांसदहरु विकेर विपक्षमा मतदान गर्न थालेपछि, संसद विघटन गर्नु हाम्रो बाध्यता थियो ।’
उनले अदालतले आफू र आफ्नो पार्टी तथा देशप्रति अन्याय गरेको पनि बताए । ‘नेपाली जनताले न्याय दिनुपर्ने भएको छ । अदालतबाट अन्याय पाएका छौं । देशले पनि न्याय पाउनु पर्यो,’ उनले भने ।
ओलीले केही समय मैथिली भाषामा पनि भाषण गरेका थिए । नवप्रवेशीहरुलाई हौसला दिँदै ओलीले भर्खरै पार्टीमा आएको भनेर कुनै पनि भेदभाव नगर्ने र यथोचित जिम्मेवारी दिने बताए ।
रंगेलीका मेयर तथा उपमेयरसहित एमालेमा प्रवेश सोही कार्यक्रममा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख तथा उपप्रमुखसहित नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज रंगेलीमा आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।
एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार प्रमुख, उपप्रमुखसहित रंगेली नगरपालिका वडा नम्बर ७ का रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि एमालेमा प्रवेश गरेका हुन् ।
सोही कार्यक्रममा उनीहरुसहित मोरङका ७ वटा पालिकाबाट ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेको एमालेले जनाएको छ । एमालेमा प्रवेश गरेका वडाध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।