विराटनगर । गाँउपालिका प्रमुखको मिलेमतोमा करोडौं रकम हिनामिना भएको र राजश्व रकममा भएको अनियमितता छानविन गर्न माग गर्दै मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधिहरुले आज विशेष गाउँसभा बहिष्कार गरेका छन् ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुले कटहरी गाउँपालिकाको विशेष गाउँसभा बहिष्कार गरेका हुन् । उनीहरुले कटहरी गाउँपालिकाले लोहन्द्रा खोलाबाट गिटी बालुवा उत्खनन् गर्न ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो गरेको र गाउँपालिकालाई १ करोड भन्दा बढी रकम नोक्सानी गरेको भन्दै छानविन गर्नु पर्ने बताएका छन् । कटहरी गाउँपालिकाका वडा नम्बर २ का अध्यक्ष किशोरकुमार पाण्डेले भने ‘गाउँपालिकामा भएको आर्थिक अनियमितता छानविन गर्नुपर्ने माग सुनुवाई भएन सँगसँगै चुनावको मुखैमा चुनावी बजेट अनुमोदन गर्ने एजेण्डा अघि बढाउनु उपयुक्त हुँदैन भन्ने विषयमा अध्यक्ष गम्भीर नभएपछि सभा बहिष्कार गरेका हौं ।’
गाउँपालिकाले आर्थिक अनियमितताको विषय छानविन गरेर सत्यतथ्य सार्वजनिक गरेपछि मात्र विशेष गाउँसभा बसाउनु पर्ने अध्यक्ष पाण्डेले बताए ।
निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिन लागेको र स्थानीय तहको निर्वाचन आउन ६५ दिन मात्र बाँकी रहेको बेला आगामी निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले गाउँपालिकाले हतारमा विशेष गाउँसभा गर्नु पनि भ्रष्टाचारको अर्को प्रयत्न भएको आरोप उनीहरुले लगाएका छन् ।

