लोड हुँदैछ...

मेनु

दल र नेताहरु विस्तारै चुनाबको तयारीमा : विराटनगरको मेयरमा कसको दावी ?

दल र नेताहरु विस्तारै चुनाबको तयारीमा : विराटनगरको मेयरमा कसको दावी ?

विराटनगर । वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको तयारीमा राजनीतिक दलहरु जुटिरहँदा उम्मेदवार बन्न दौडधुप सुरु भएको छ । उम्मेदवारीको दाबीसँगै उनीहरुले भेटघाट, छलफल र परामर्शसमेत थालेका छन् ।

स्थानीय तहको निर्वाचन आउन ६५ दिन मात्र बाँकी छ । आगामी निर्वाचनमा कसरी टिकट लिने भन्ने प्रयत्नमा विराटनगरका एकथरी नेताहरु आन्तरिक रुपमा सक्रिय छन् भने अर्काथरी नेताहरु आन्तरिक छलफल र परामर्शमा रहेको पाइएको छ ।

विराटनगर महानगरको नेतृत्व दाबी गर्दै तयारी सुरु गर्नेमा यतिबेल नेपाली काँग्रेस अग्रपङ्तिमा देखिएको छ । नेपाली काँग्रेसबाहेक अन्य दलका नेताहरुले खुलेर आफ्नो दाबी सार्वजनिक गरेका छैनन् । तर, उनीहरुले आन्तरिक छलफल र परामर्शलाई बढाएका छन् । टिकटका लागि आफू निकटका नेताहरुलाई आग्रह गर्ने र तल्लो तहबाट दवाव सिर्जना गर्दैजाने नीति सबैले अगाडि बढाइसकेका छन् ।

काँग्रेसमा आकांक्षी धेरै

महानगरको नेतृत्व गरिरहेको दल भएका कारणले पनि भावी मेयर बन्ने सपना बुनेर सक्रिय हुने संख्या बढ्नु काँग्रेसमा धेरै छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा दुई गठबन्धनका उम्मेदवारलाई हराएर निर्वाचित भएका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्की दुबै आगामी निर्वाचनमा मेयर पदका दावेदार हुन् ।

‘मैले विराटनगरमा सुरु गरेका योजनाहरु सम्पन्न गर्न अब एक कार्यकाल पुनः काम गर्ने चाहना हो,’ नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुली भन्छन् ‘हिजो संकटमा चुनाव जित्नसक्छ भनेर पार्टीले पत्याएको र मेयर भएर धेरै काम गरेका कारण मैले टिकट पाउनेमा कुनै आशंका छैन ।’ एक कार्यकाल उपप्रमुखको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको र कुशल तथा बौद्धिक नेतृको रुपमा परिचय बनाएकी उपप्रमुख इन्दिरा कार्की पनि महानगरको नेतृत्व गर्ने दौडमा छन् । समावेशी आधारमा पनि पार्टीले अब उपप्रमुख महिलाहरुको अघिल्लो प्रस्तुति हेरेर टिकट दिनुपर्ने उनको दावी छ ।

संविधानसभा सदस्य तथा काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल पनि महानगरको मेयरको दौडमा छन् । अघिल्लो निर्वाचनमा पनि मेयर दावी गरेका उनले यस पटक अहिलेसम्म सार्वजनिक रुपमा मुख खोलिसकेका छैनन् ।

काँग्रेस मोरङका उपसभापति नागेश कोइराला पनि मेयरको दावेदार हुन् । आफू चुनावको तयारीमा जुटिसकेको उनले बताए । ‘म चुनावको तयारीमा जुटिसकेको छु, पार्टीले काम गर्ने व्यक्तिलाई नै टिकट दिनेमा विश्वस्त छु’ उनले भने ।

महानगरपालिकाको मेयरमा काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डिला संग्रौलाको पनि दावी रहेको बताइन्छ । यद्यपि नेतृ संग्रौलाले भने त्यस विषयमा खासै खुलेकी छैनन् । ‘चुनावका लागि निकै समय बाँकी छ, अहिले निर्णय लिने बेला भएको छैन,’ उनले भनिन् ‘राजनीतिमा सम्भावनाहरु सबै हुन्छन्, त्यो सम्भावना छैन नै भन्ने कुरा होइन, साथीहरुले आग्रह गर्नुभएको छ ।’

विराटनगरको पछिल्लो विकासको आधार तयार पार्न अहम् भूमिका निर्वाह गरेको भन्दै विराटनगरबासीबीच सकारात्मक परिचय बनाएका गोपाल रेग्मी मेयर पदका अर्का दावेदार छन् । विद्यार्थीकालमै काँग्रेस राजनीतिमा सक्रिय रहेका उनी हक्की स्वभावका पूर्वकर्मचारी हुन् । विराटनगर उपमहानगरपालिकाको कार्यकारी प्रमुख हुँदा विराटनगरको बाटो चौडा गर्नेदेखि अहिलेको ढल निकास परियोजना र सडक निर्माणका दुई ठूला योजना ल्याएको जस नगरबासीले उनलाई दिने गरेका छन् । रेग्मी पनि मेयरको टिकट लिने दौडमा छन् ।

एमालेबाट पूर्वमन्त्रीको दावी

नेकपा एमालेले बुधबार मोरङको रंगेलीमा जनसभा आयोजना गरेर औपचारिक रुपमा जिल्लामा चुनावी अभियान सुरु गर्दैछ । प्रदेश १ को राजधानी विराटनगरमा चुनाव जित्ने एमालेको अभिष्ट कसरी पूरा होला भन्ने हिसाबकितावमा उनीहरु लागेका छन् । एमालेबाट महानगरमा कसलाई उठाउने भन्ने छलफल गरिरहेपनि उनीहरुका सामु धेरै विकल्प भने देखिएको छैन ।

एमालेभित्र पूर्वमन्त्रीहरु लालबाबु पंडित र जीवन घिमिरेको नाममा छलफल भइरहेको छ भने उनीहरु दुवैजना आन्तरिक परामर्शमा व्यस्त छन् । राजनीतिक उचाइका कारण उनीहरुलाई उम्मेदवारी दिएर हार्ने छुट नहुने भएका कारण निष्कर्शमै भने नपुगेको नेताहरु बताउँछन् ।
नेकपा एमालेबाट महानगर कमिटी अध्यक्ष सागर थापा स्वभाविक दावेदार हुन् ।

उनी आफूले टिकट पाउनेमा करिव विश्वस्त देखिन्छन् । २०७४ सालको निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकसँग तालमेल गरेर चुनावमा गएको एमाले दोश्रो स्थानमा थियो । लोकतान्त्रिक फोरमले नेपाली काँग्रेससँग पार्टी एकता गरिसकेको र एमाले आफैं विभाजित भएको अवस्थामा आगामी चुनावमा केन्द्रीय नेता मैदानमा नआउने भएकोले आफ्नो दावेदारी बलियो रहेको थापाको बुझाई छ । एमालेबाट व्यवसायी तारा निरौला पनि मेयरको दावी गर्ने सुचीमा छन् ।

नेकपा माओवादी केन्द्रबाट आगामी निर्वाचनमा मेयरको उम्मेद्वारी दावी गर्ने भोगेन्द्र यादव र नमिता न्यौपाने हुन् । अघिल्लो पटक अन्तिम समयमा तालमेलका लागि भन्दै पार्टीले उम्मेद्वारीबाट ब्याक गरेका कारण पनि यादवले यसपटक मेयरमा सशक्त दाबेदारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट अघिल्लो पटक उपमेयर पदमा उम्मेदवारी दिएकी नमिता न्यौपानेले पनि मेयरमा चुनाव लड्ने आकांक्षा राखेकी छन् । अघिल्लो पटकको निर्वाचनमा उनी उपमेयरमा प्रमुख प्रतिद्वन्दी बनेकी थिइन् ।

जनता समाजवादी पार्टीका तर्फबाट प्रदेश सरकारका बहालवाला स्वास्थ्यमन्त्री जयराम यादव, अघिल्लो पटक मेयरमा पराजित उमेश यादव र पूर्वउपमेयर भूराज राई र जसपाका केन्द्रीय सदस्य तेजलाल कर्णले मेयरको दाबी गरेका छन् । २०५४ सालमा नेकपा एमालेबाट उपमेयर निर्वाचित भएका राई विराटनगरका परिचित, शिक्षित र शालिन नेताको रुपमा परिचित छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन बनाएर मेयरमा उम्मेद्वारी दिएका उमेश यादव मेयर पदका अर्का दाबेदार हुन् । यस पटक पनि उम्मेदवारी दिने गरी पार्टीमा उनले लबिइङ बढाएका छन् । प्रदेश सरकारका मन्त्री रहेका जयराम यादवले पनि पार्टीले उम्मेदवार बनाएको खण्डमा मेयर भिड्ने सोचमा रहेको बताएका छन् । मजदुर आन्दोलनबाट विराटनगरमा स्थापित नेता तेजलाल कर्णले पनि निर्वाचनमा उम्मेदवारी दिने तयारी गर्दै पार्टीभित्र पहल बढाइरहेका छन् । केही दिनदेखि सामाजिक क्षेत्रका व्यक्तिहरुसँग परामर्श गरिरहेको उनले बताए ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट पोलिटब्यूरो सदस्य महेश रेग्मीले उम्मेदवारीको चाहना व्यक्त गरेका छन् । उनले भने ‘पार्टीले निर्णय गरेर पठाउँछ भने जहाँपनि जिम्मेवारी लिन र काम गर्न सँधै तत्पर भएकै छु अब नि हुन्छु ।’

कसको कति मत थियो ?

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा त्रिपक्षीय प्रतिपर्धा भएको थियो । नेपाली काँग्रेस एक्लै चुनावमा उत्रिएको थियो भने नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठबन्धन बनाएर चुनावमा गएका थिए ।

एमालेले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)लाई उपमेयर दिएर चुनावी तालमेल गरेको थियो भने नेकपा माओवादी केन्द्रले संघीय समाजवादी फोरमसँग तालमेल गरी उपप्रमुख लिएर चुनावमा गएको थियो । तत्कालीन अवस्थामा १ लाख १२ हजार मतदाता रहेको विराटनगरमा निर्वाचनमा काँग्रेसका उम्मेदवार भीम पराजुली २३ हजार ३१ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

पराजुलीका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार विनोद ढकाल भए । उनले १७ हजार ३२१ मत प्रप्त गरेका थिए भने नेकपा माओवादी केन्द्रसँग गठबन्धन बनाएको संघीय समाजवादी फोरम नेपालका उम्मेदवार उमेशकुमार यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रल्हाद साहले ५ हजार ५२४ मत प्राप्त गरेका थिए ।

उपप्रमु्खमा काँग्रेसकी उम्मेदवार इन्दिरा कार्की २० हजार १४६ मत प्राप्त गरी निर्वाचित भइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५२४ मत ल्याएकी थिइन् । एमालेसँग गठबन्धनमा रहेकी सूचि चौधरीले १० हजार ५३६ मत प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।