विराटनगर । नेकपा एमालेले ६ वर्षपछि मोरङको रंगेलीमा बृहद् सभा गर्ने भएको छ । जसरी पनि कार्यक्रम गर्ने एमालेको जबरजस्ती र त्यसलाई कसैगरी रोक्ने तत्कालीन मधेशी मोर्चाको हठले तीन जनाको ज्यान गएको रंगेलीमा ६ वर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओली आउने भएका हुन् ।

संविधानले आफ्ना मुद्दा नसमेटेको भन्दै मधेसी मोर्चा आन्दोलनमा रहेको बेला २०७२ माघ ८ गते ओलीको उपस्थितिमा कार्यक्रम गर्ने तयारी एमालेले गरेको थियो । मधेशी मोर्चाको प्रभाबक्षेत्र रहेको रंगेलीमा झडप हुने आशंकमा कार्यक्रम रोक्न प्रशासन र अन्य राजनीतिक दलहरुले आग्रह गरेको भएपनि एमालेले टेरेन । जोखिम देखेर ओली कार्यक्रममा नआएपनि एमालेले तत्कालीन महासचिव ईश्वर पोखरेललाई ल्याएर कार्यक्रम गर्दा भएको झडपमा तीन जनाको ज्यान गएको थियो ।

कार्यक्रममा आएका एमाले कार्यकर्ताले दुव्र्यवहार गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरुले कार्यक्रम विथोल्ने प्रयास गरेका थिए । त्यसक्रममाा भएको झडपमा प्रहरीले गोली चलाउँदा तीन जना सर्वसाधारण मारिए । प्रहरीले चलाएको गोली लागेर सुनवर्षी– ७ का महादेब ऋषिदेब, सुनवर्षी – ९ कै शिवु माझी र रंगेली–६ की द्रौपदीदेवी चौधरीको मृत्यु भएको थियो ।

मधेशी मोर्चाको आन्दोलन चलिहरको बेला मुलुकभर एमालेविरुद्ध आक्रोश थियो । किनकि मधेश आन्दोलनलाई सबैभन्दा बढी दुर्वचन प्रयोग गर्ने नेता एमाले अध्यक्ष ओली नै थिए । ‘कुहिएका आँप झर्छन्’ भनेर मधेश आन्दोलनको क्रममा मारिएका सहिदप्रति अपमान गरेको अपमान गरेको भन्दै ओलीसँग आन्दोलनकारी क्रुद्ध थिए । ओली तथा एमालेका नेताहरुको निरन्तरको मधेशविरोधी अभिव्यक्तिकै कारण रंगेलीमा एमाले–मोर्चा झडप निम्त्याएको थियो ।

२०७२ माघ ७ को त्यो घटनापछि मुलुकमा धेरै परिवर्तन आइसकेको छ । यद्यपि त्यो घटनाका पीडित र प्रभावितहरुलाई भने अझै पनि त्यो दिनले झस्काउँछ । त्यसयता एमाले र माओवादी मिलेर चुनाव लडे । दुईतिहाई नजिकको बहुमत ल्याए । उनीहरुलाई नै सघाएर मधेशवादी दलहरु सत्तासीन भए ।

दुई पटकको संसद् विघटनको प्रयास विफल भएपछि अहिले ओली सत्ताबाहिर छन् । मुलुकको राजनीतिमा आएको यो तीव्र बद्लावपछि ओली रंगेली आउँदैछन् । तर, रंगेलीबासीले ६ वर्ष अघिको त्यो घटना चाहेर पनि भुल्न सकेका छैनन् ।

रंगेली – ६ का दिपक ऋषिदेवलाई ६ वर्षअघिको त्यो घटना सम्झँदा अहिले पनि अत्याउँछ । हेर्दाहेर्दै रंगेली क्षेत्र रणमैदान बनेको र तीन जनाले प्रहरीको गोलीबाट ज्यान गुमाउनु परेको घटनाले उनलाई अहिले पनि विरक्त लाग्छ । ‘हामीले त्यो बेला रंगेलीमा मधेशी मोर्चाको आन्दोलन निरन्तर छ, कृपया यहीँ सभा नगर्दिनुस् भनेर आग्रह गरेका थियौं,’ उनले सम्झिए ‘तर, एमाले नेताहरु मानेनन् । आखिर झडप भयो । र, तीन जनाले ज्यान गुमाउनु पर्यो ।’

त्यो दिनले अझै अत्याउने बताउने उनले त्यो घटनामा अहिलेसम्म एमालेले माफीसमेत नमागेको भन्दै मधेसी मोर्चा आबद्ध दलहरु रुष्ट छन् । यसपटक आउँदा ओलीले माफी माग्लान् कि भन्ने अपेक्षा ऋषिदेवलाई छ । ‘ओली आफै रंगेली आउँदैछन्,’ उनले भने ‘त्यसबेलाको हठले त्यो घटना भएकोमा माफी मागिदिए भने पीडित र प्रभावितहरुको मनमा थोरै शान्ति मिल्ने थियो ।’
ओली रंगेलीका मेयर दिलिप बगडियालाई एमाले प्रवेश गराउन आउन लागेका हुन् । ओली रंगेली आउने भएपछि एमालेले सारा शक्ति लगाएर तयारी गरिरहेको छ ।

के थियो रंगेली घटना ?

२०७२ साल माघ ७ गते एमाले भ्रातृसंस्था युवा संघले रंगेलीमा शक्ति प्रदर्शनको तयारी गरेको थियो । मधेश आन्दोलन उत्कर्षमा रहेका कारण मधेशी बाहुल्य रंगेली पनि आन्दोलनको तापमा थियो । त्यहीबेला युवा संघले ‘मधेशी मोर्चालाई देखाइदिने’ भन्दै रंगेलीमा सभाको आयोजना गरेको थियो । मोर्चाले भने कार्यक्रम नगर्न आग्रह गरेको थियो । मधेश आन्दोलनप्रति सधैं नकारात्मक रहेका एमाले नेताहरु मानेनन् ।

एमालेले इलाका प्रहरी कार्यालय नजिकै मञ्च बनाएर कार्यक्रम गर्ने तयारी गर्यो भने मधेसी मोर्चाले पनि काली मन्दिर नजिकै सभा गर्ने तयारी गर्यो । कार्यक्रममा आएका एमाले कार्यकर्ताले दुव्र्यवहार गरेको बहानामा मधेशी मोर्चाले एमाले कार्यक्रम बिथोल्ने प्रयास गरेपछि झडप सुरु भएको थियो ।

झडप रोक्न भन्दै प्रहरीले चलाएको गोली लागेर सुनवर्षी– ७ का महादेब ऋषीदेब, सुनवर्षी – ९ कै शिवु माझी र रंगेली–६ की द्रौपदीदेवी चौधरीको मृत्यु भयो । त्यसअघि पनि एमालेका स्थानीय नेता मनोज अग्रवालको घरमा ढुंगा हान्ने काम आन्दोलनकारीले गरेका थिए । त्यसबेला एमाले र मधेशी मोर्चाको हठले घटना भएको स्थानीय बताउँछन् ।