विराटनगर । ‘कमिशन’ एक्लै हत्याउन तीन जना साझेदारको हत्या गर्ने घटनाको मुख्य अभियुक्त सिरहा नगरपालिका घर भइ काठमाडौंको बल्खुमा बस्ने ३१ वर्षीय अनिल कुमार मण्डलले विराटनगरको एउटा सातु पसलमा हत्याको योजना बनाएको खुलेको छ ।
२८ मंसिरमा लिम्बूको हत्या गरेर ललितपुरको गोदावारी नगरपालिका १२ ठेचो चारङ्गखेल स्थित गोदाम घरमा शव गाढेर फर्किएपछि राजेन्द्र श्रेष्ठ र शम्भू चौधरीको हत्याको योजना विराटनगरको महेन्द्रचौकस्थित सातु पसलमा बनाएको खुलेको हो ।
पक्राउ परेका मुख्य अभियुक्त अनिलले प्रहरीलाई दिएको बयान अनुसार लिम्बूको हत्या गरेपछि भाडामा लिएको घरको कम्पाउण्ड एरियामा सात फिट गहिरो खाडल खनेर शव गाडेका थिए । मण्डलले लिम्बूको हत्या गरेपछि राजेन्द्र र शम्भुलाई लिएर २९ मंसिरमा विराटनगरमा आएका छन् ।
ललितपुरको क्यान्सर अस्पतालनजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाएवापत आउने १ करोड ५० लाख रुपैयाँ ‘कमिशन’ एक्लै हत्याउन मण्डलले फरक फरक मितिमा तीन जना साझेदार साथीको हत्या गरेका थिए ।
मण्डलले आधा दर्जन भाडाका पेसेवर अपराधि झिकाएर एउटै शैलीमा तेह्रथमु संक्रान्ति २ घर भइ काठमाडौं बस्दै आएका ६३ वर्षीय मोहन लिम्बू, सुनसरीको धरान घर भइ भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भइ काठमाडौं बस्दै आएका ३२ वर्षीय शम्भु कुमार चौधरीको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।
तीन जनाको हत्यामा आधा दर्जन बढीको संलग्न भएपनि मुख्य योजनाकार मण्डलसहित मोरङ प्रहरीले पाँच जनालाई त्रफाउ गरेको छ । पक्राउ परेका पाँचसहित फरार एक जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा अभियोग दर्ता भएको छ । मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजालमा सोमबारदेखि थुनछेक बहस सुरु भएको छ ।
प्रहरीले मुख्य अभियुक्त अनिलसहित मोरङको जहदा गाउँपालिका ४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिननाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षीय नासिर आलम, मोहमद हकिम मनसुरी, मोहमद सुभाद मनसुरी र मोहमद सहिद मियाँलाई प्रतिवादी बनाएर अभियोग दर्ता गरेको छ ।
यस घटनाको मुख्य अभियुक्त अनिलले कुमार मण्डलले प्रहरीलाई दिएको बयान (पूर्ण पाठ)
मेरो घर जिल्ला सिराहा, सिराहा न.पा.वडा नं. २१ लगडी टोलमा रहेको छ ।
म ठगि कसुरमा कारागार बस्नुभन्दा पहिले विगत ४/५ साल अगाडि हालको मृतक राजन भन्ने राजेन्द्र कुमार श्रेष्ठसँग जग्गा खरिद बिक्री गर्ने क्रममा भेट भई चिनजान भएपछि उनी मार्फत नै साथीहरु मोहन लिम्वु र शम्भु कुमार चौधरीसँग कामको सिलसिलामा भेट भई केहि समय अगाडी देखि चिनजान भएको थियो । सोही क्रममा मैले कामको सिलसिलामा चिनेको भरत खड्का भन्ने व्यक्तिले ललितपुर स्थित हरिसिद्धी भन्ने स्थानमा रहेको एक हस्पिटलको नाममा रहेको २५ रोपनी ७ आना जग्गा शम्भु चौधरीको कम्पनी सरस्वती कन्ट्रक्सन कम्पनी प्रा.लि.को नाममा धितो पास गरिदिने र सो बापत १८ प्रतिशत ब्याजमा कम्तिमा ५५ देखि ६० करोड पैसा दिने, पार्टी खोजि प्रक्रिया मिलाएमा कुल प्राप्त हुने रकमको ३ प्रतिशतसम्म कमिसन दिने बताएपछी मैले त्यो काम गर्छु भनि सो कुरा मैले राजन भन्ने राजेन्द्रलाई बताएपछी शम्भुसमेतको बाटोको काम पश्चिम तिर भईरहेको छ ।
बैङ्क ग्यारेन्टी र लोनको लागि सो जग्गा उपयुक्त हुन्छ भनि सो कुरा शम्भु र मोहनलाई समेत बताएपछि उनिहरु सो काम गर्न तयार भएका थिए । उनीहरुले समेत सो जग्गा माछापुच्छ्रे बैङ्कमा राखि १ अरबको बैङ्क ग्यारेन्टी र ८० करोड रुपैँया लोन लिने तयारी गरेका थिए । उक्त कामको प्रक्रिया मिलाउनको लागि भरत खड्काले मलाई १८ लाख रुपैँया समेत दिएका थिए । सोहि जग्गाको कामको सिलसिलामा शम्भु, राजेन्द्र र मोहनसँग कुराकानि हुँदा मोहनले कमिशन बापत आउने रकमको आधा हिस्सा आफुलाई चाहिने, बाँकि आधा हिस्सा हामिहरु तीन जनाले बाँडेर लिनुपर्ने कुरा गर्न थालेपछी कमिशनको विषयमा मनमुटाव सुरु भएको थियो । मैले प्राप्त हुने कमिशन सबै जनाले बराबर लिने कुरा गर्दा समेत मोहन लिम्बुले ५० प्रतिशत हिस्सा नछाड्ने बरु सबै प्रक्रिया म आफैँ मिलाउछु भन्ने कुरा गर्न थालेपछी शम्भु र राजेन्द्रसमेत मोहनकै कुरामा लाग्न थालेकोले मैले कमिशन वापत पाउने कम्तिमा ३ प्रशित रकम एकलौटी गर्नको लागि मोहनको हत्या गरी राजन र शम्भु मार्फत काम गर्ने तर काम नहुने भएमा वा आवश्यकता परेमा उनीहरुलाई समेत मार्नुपर्ने योजना बनाए । त्यसपछि मैले कारागारमा थुनामा वस्दा चिनजान भएका काठमाण्डौ तिर लसुन प्याजको व्यापार गर्ने अमित भन्ने दिनानाथ सोनारलाई मेरो बल्खु स्थित कोठामा बोलाए ।सबै कुरा भनेपछी अमितले हत्या गर्ने मान्छेहरु खोजेर ल्याई काम गर्ने जिम्मेवारी लिएपछी रकमको कुराकानी हुँदा मैले उक्त जग्गाको काम गरे बापत प्राप्त हुने कम्तिमा ३ प्रतिशत कमिशन रकमको ५० प्रतिशत दिन्छु भन्दा काम गर्नको लागि कम्तिमा ४/५ जना अन्य व्यक्तिहरु ल्याउनुपर्ने हुन्छ । उनीहरुलाई पनि पैसा दिनुपर्ने कुरा हुँदा काम भएपछि सबैलाई ३/३ लाखको दरले दिने कुरा भएपछी अमित बिराटनगर तिर आएको थियो ।
कामको तयारीको लागि मान्छेहरुलाई एडभान्स रकम पनि दिनुपर्ने र अरु खर्च पनि आउने कुरा अमितले बताएपछी मैले अमितलाई काठमाण्डौबाट आई.एम.ई गरि .८० हजार २०७८ कार्तिक २८ गते पठाएको थिए । मंसिर महिनाको अन्तिम साताको सुरु तिर अमितले मोरङबाट अन्य मानिसहरु समेत लिएर काठमाण्डौ आएपछी अमितसहित आएका अन्य ४ जना व्यक्तिहरुलाई ललितपुर, गोदावरी नगरपालिका वडा नं.१२ ठेचो स्थित मैले भाडामा लिएको गोदाम सहितको घरमा रोख । उनीहरु बस्ने खाने व्यबस्था मिलाएको थिए । सोहि क्रममा अमितसँग आएका व्यक्तिहरु सँग चिनजान हुँदा नासिर मिया, सुभान मिया, हकिम मिया, सहिद मिया नाम गरेका व्यक्तिहरु रहेछन् । सो बेला समेत उनीहरुले पैसाको कुरा गर्दा मैले काम हुनासाथ तत्काल सबैले ३÷३ लाखको दरले पाउने घटना मिति भन्दा १/२ दिन अगाडी मैले अमितलाई काम पक्का हुनुपर्छ कसैले पनि अत्तोपत्तो नपाउने गरी जमिनमा गहिरो खाल्डो खनि पुरी सिमेन्टले ढलान गर्नुपर्छ भन्ने सल्लाह भएपछी आवश्यक तयारीको लागि म र अमित बजार गयौं । नयाँ गाम्छा, आयो नुन, खन्ने गैँची, बेल्चा र २ बोरा सिमेन्ट समेत किनेर ल्यायौं र उनीहरु बस्दै आएको गोदाम घरमा राखियो ।
उपयुक्त मौका र बहाना बनाई मोहन लिम्बुलाई यहाँ पठाउछु । मौका हेरेर काम गर्नु भन्दा अमितले ढुक्क हुनु काम पक्का हुन्छ भनेपछी म आफ्नो कोठातिर गएको थिए । घटना मिति २०७८ मंसिर २८ गते मैले मोहन लिम्बुलाई कामको सिलासिलामा भेट गर्नको लागि मेरो गोदाम घरमा बोलाएको थिए । म र राजेन्द्र वल्खु स्थितमा रहेको जग्गा सम्वन्धी कारोवार गर्ने अफिसमा थियौ । सोही दिन मोहनलाई दिनानाथ सोनार र निजले ल्याएका अन्य मानिसहरु समेत भई कर्तव्य गरी मारी कोठा भाडामा वसेको घरको पछाडी खाली जमिनमा खाल्डो खनेर गाडी दिएपछी अमितले मैले काम गरे भनि मलाई जानकारी दियो ।
अब राजेन्द्र र शम्भुसँग मिलेर काम गर्ने योजना बनाउने क्रममा राजेन्द्रसँग कुरा गर्दा निजले मेरो जग्गाको काम धरान विराटनगरमा छ । मेरो आफन्त बृद्ध हुनुहुन्छ । भेटघाट पनि गर्नु छ उतै जाउ घुमफिर पनि हुन्छ कामको कुरा पनि हुन्छ भनि राजेन्द्रले आफै लाजिम्पाट स्थित गाडि भाडामा पाईने वर्कशपबाट वा ९ च ८११५ नम्वरको कार भाडामा लिए । सो कारमा राजेन्द्रले चलाए । कारमा म र शम्भुकुमार चौधरी समेत सोही २८ मंसिरको राती काठमाण्डौबाट विराटनगरको लागि हिडेयो । मंसिर २९ गते भेडेटार धरान घुम्दै वेलुकिको समयमा विराटनगर स्थित वसपार्क नजिकै रहेको मेट्रोसिटी होटल एण्ड लजमा एउटा कोठा भाडामा लियौं । सिंगल बेडमा म सुत्ने र डवल वेडमा राजन र शम्भु सुत्ने वस्ने गर्दै आएका थियौँ । सोही क्रममा उनीहरुले कामको लागि मोहन लिम्बु हुनै पर्ने भनि मोहनको बारेमा धेरै सोधिखोजि गर्न थालेपछी मैले उनीहरुलार्य नमारे आफु फस्न सक्ने बिचार गरि निजहरुलाई समेत मार्ने सोचबिचार गर्न थाले । काठमाण्डौबाट भाडामा ल्याएको कारमा म, शम्भु र राजेन्द्रको आफन्त हालको जाहेरवाला उमेश श्रेष्ठ लगायत आफन्त मानिसको घरमा भेटघाटको लागि जाने आउने गरेका थियौँ । यसै क्रममा काठमाण्डौमा मोहनको हत्या गरे पश्चात अमित र निजसँग भएका अन्य व्यक्तिहरु समेत सोहि रात नाईट गाडी चढी बिराटनगरतर्फ आएका थिए ।
सो क्रममा अमित सँग मेरो फोनमा सामान्य कुराकानी हुँदै थियो र मैले उनलाई हामी बिराटनगरमा बसेको बारे जानकारी गराई भेट्न बोलाएको थिएँ । असिमतसँग मेरो सम्पर्क भई बिराटनगर स्थित महेन्द्र चौकको नजिक रहेको सातु पसलको छेउमा वसी राजेन्द्र र शम्भुलाई मार्ने योजना बनाउँदै आएका थियौँ । अमितले आफ्नो घर नजिक सुनसान एकान्त उखुबारी रहेको अन्य साथिहरु पनि त्यहा भेला हुन सजिलो हुने र काम गर्न सजिलो हुने बताएपछि मैले समेत एक दिन अमितसँग त्यहा गई ठाउँ हेर्दा उपयुक्त लागेकोले सोहि ठाउँमा लगि हत्या गर्ने योजना बनेको थियो । सोही क्रममा म काठमाडौबाट आएको २÷३ दिन पछाडी मिति २०७८ पुस ३ गते साँझको ६÷७ बजेको समयमा राजेन्द्र कुमार श्रेष्ठलाई मेरो साथिको घरगाँउ तिर घुम्न जाउँ भनि अमित भन्ने दिनानाथ सोनारले रिजर्भ गरी ल्याएको एकिन नं. थाहा नभएको अटोमा म, राजेन्द्र र अमित आउने क्रममा हामीहरु सँगै रामचौक भन्ने स्थान नजिकै नहर सम्म आएपछी म जाड रक्सी खादिन तपाईहरु खानु हुन्छ विस्तारै खाएर आउनु भनि म रामचौकबाट दक्षिण तिरको नहरमा पर्खेर बसेपछि अमित र राजेन्द्र म भएको स्थानमा आएपछी म र अमितले विराटनगर स्थित सातु पसल नजिकमा वसेर वनाएको योजना अनुसार लाश फेला परेको स्थानबाट पश्चिम रहेको मुख्य नहरबाट कमलपुरतर्फ जाने शाखा नहरको कदमको रुखहरु भएको स्थानमा लाश फेला परेको स्थानबाट १०० मिटर उत्तर पुगेपछी योजना अनुसार नै अमितरले तयार गरी राखेका काठमाण्डौ समेत गएका नासिर मिया, सुभान मिया, हकिम मिया, सहिद मिया समेतका मानिसहरु लुकेर बसेको स्थानबाट अकस्मात आई राती ८/९ वजे तिर राजेन्द्रलाई शाहिद मिया र सुभान मियाले गम्छाले पछाडिबाट घाँटीमा कसेर लडाएपछी नासिर मियाले हातमा, हाकिम मियाले खुट्टामा र अमितले टाउँको समातेर प्रतिकार गर्ने कुनै मौका नदिई हत्या गरेका थिए ।
हत्या गरेपछि राजेन्द्रको मोबाईल फोन बोकि अमितलाई अव यो लाशलाई खाल्डो खनि गाड्नु म विराटनगर तिर लागे गाडी सकेपछि मलाई खबर गर्नु भनेपछि अमितले म साईकलमा पु¥याई दिन्छु गाड्ने काम अन्य केटाहरुले गर्छ भनि मलाई साईकलमा विराटनगर स्थित महेन्द्र चौक नजिक पु¥याइदिए । त्यसपछि अतिमलाई तिमी फर्केर जाउ म कोठा तिर जान्छु भनि पैदल हिड्दै बिराटनगर स्थित मेट्रो सिटी होटल एण्ड लजमा पुगेर शम्भु चौधरीसँगै कोठामा वस्दा निजले राजेन्द्र कुमार श्रेष्ठको वारेमा सोधी खोजी गर्दा मैले आफन्तको घरमा गएको छ भनि बताएपछि म सँग सोधी खोजी गरेनन् । भोलिपल्ट अमित विराटनगरमा आएर मलाई भेटी हिजो हामीले कर्तव्य गरी मारेको कुमार श्रेष्ठको लाश खाडल खनेर गाडी सकेको बारेमा जानकारी गराएपछि मैले निजलाई शम्भुले मलाई दिएको रामशरण खड्काको नामको.३ लाखको चेक दिएर मेरो अफिसको जरुरी काम छ काठमाण्डौ तिर गएर भोलि आउछु भनि बुद्ध एयरबाट काठमाण्डौ गई भोलि पल्ट फर्केर आएपछी मैले अमितलाई सम्पर्क गरी सातु पसल छेउमा वोलाई शम्भु कुमार चौधरी हामीले मारेको राजेन्द्र कुमार श्रेष्ठको साथी हुन निजलाई पनि मार्नु पर्छ मारेनौ भने सबै कुरा हल्ला भएर हामी पनि फस्छौ भनि शम्भु लाई मार्ने योजना बनाएपछी अमितले राजेन्द्रलाई जस्तै गरी मार्नु पर्छ घटनास्थलमा लिएर आउनु भनेर थप पैसाको कुरा गरेपछि मैले शम्भुसँग कामको सिलसिलामा जरुरी छ भनि मागेको सत्तरी हजार रुपैयाँ निजलाई दिए पश्चात निज गएपछि मैले मिति २०७८।९।७ गते वेलुकाको ७ बजेको समयमा शम्भु लाई साथिको घर गाउँ तिर घुम्न जाउँ भनि मैले भाडामा लिएको नम्बर याद नभएको अटोमा सँगै लिएर राम चौक भन्ने स्थानसम्म पुगे ।
त्यहाँ अमितलाई समेत अटोमा चढाई घटनास्थल नजिकसम्म अटोमा गई अब अटो जाँदैन पैदल हिंड्दै जानुपर्छ भनि अटोलाई फर्काई दिए । हामीहरु घटनास्थलतर्फ जाने क्रममा अमित अगाडी देखि तयार गरी उखुवारीमा लुकि वसेका पहिलाकै टिम नासिर मिया, सुभान मिया, हकिम मिया र शाहिद मिया समेतका मानिसहरु आई शम्भु कुमार चौधरीलाई सहिद मिया र सुभान मियाले पछाडीबाट अकस्मात आई डोरीले घाटीमा कसेर लडाएपछि अन्य नासिर मियाले हातमा, हकिम मियाले खुट्टामा र अमित भन्ने दिनानाथ सोनारले टाउको समातेर कुनै प्रतिकार गर्ने मौका नदिई कर्तव्य गरी मारेपछी मैले शम्भु कुमार चौधरीको मोबाईल फोन लिएर अमित भन्ने दिनानाथ सोनार समेतका व्यक्तीहरुलाई लाश गाडेपछी माथीबाट नुन हालेर पुर्नु नुनले चाडो लाशलाई गलाउछ नुन ल्याएको छ छैन भनि म विराटनगरतर्फ फर्केर कोठामा गए । हत्या गरेको भोली पल्ट दिनानाथ सोनारले मलाई सम्पर्क गरी हामीले हिजो कर्तव्य गरी मारेको शम्भु कुमार चौधरीको लाशलाई खाडल खनि लाशको वरीपरी आयो नुनको पोका फुटाई लाशको वरीपरी राखी गाडी सक्यौ वाँकी पैसा कहिले दिनु हुन्छ भन्दा मैले १६ गते दिन्छु भनि भाका राखेको थिए । सो दिन म यति एयरलायन्सबाट काठमाण्डौ फर्की बल्खु स्थित कोठामा वसी आफ्नो दैनिक दिनचर्याका कामहरु गरेर बसिरहेको अवस्थामा हामीहरुले कर्तव्य गरी मारी गाडेको लाश प्रहरीले २०७८।१०।१२ गते साँझ एउटा र १३ गते अर्कोलाई गरि २ जनालाई नै निकाल्यो भनि मलाई अमित भन्ने दिनानाथ सोनारले ईमो मार्फत फोन गरि जानकारी गराएपछी मैले निजलाई १ महिना जती तिमीले फोन नगर साईड लागेर बस्नु भनि म आफु पनि कोही कसैसँग सम्पर्क नगरी वसी रहेको अवस्थामा मलाई काठमाण्डौ १४ स्थित बल्खु भन्ने स्थानबाट प्रहरीले पक्राउ गरी ल्याएको हो भन्ने समेत व्यहोराको प्रतिवादी अनन्तराज भन्ने अनिल कुमार मण्डलले गरेको बयान ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।