लोड हुँदैछ...

मेनु

विराटनगरसहित कांग्रेसले ४५० स्थानीय तह जित्छ : डा.शेखर कोइराला

विराटनगरसहित कांग्रेसले ४५० स्थानीय तह जित्छ : डा.शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आउँदो वैशाख ३१ गतेको निर्वाचनमा नेपाली कांग्रेसले ४५० स्थानीय तह जित्ने दाबी गरेका छन् ।

उनले विराटनगरमा पनि कांग्रेसले जित्ने दाबी गरे । ‘यसपटक कांग्रेसले ७५३ स्थानीय तहमा ४५० जति ल्याउँछ भन्ने लागेको छ । पहिलो दल हुन्छौं । हामी त्यति ल्याउँछौं,’ कुराकानीका क्रममा उनले भने, ‘कांग्रेसले स्थानीय तहमा धेरै राम्रो गर्नुपर्ने छ । गर्छ जस्तो लाग्छ मलाई । त्यसले कांग्रेसले संघ र प्रदेशमा पनि राम्ररी प्रभाव पार्छ जस्तो लाग्छ ।’

यसपटक एमाले विभाजन भएको र पार्टीमा तिक्तता पनि नरहेको उनले बताए । ‘यसपालिको टिकट वितरण वैज्ञानिक गर्छौं । धेरै झगडा नगरौं, हामीबीचमा तिक्तता पनि छैन । अधिवेशन सकियो । तिक्ततालाई एक ठाउँमा राखौं । मैले पनि सभापतिज्यूसँग कुरा भइरहेको छ,’ कोइरालाले भने, ‘अलिअलि शंका उपशंका भएपनि टिकट वितरण वैज्ञानिक ढंगले गर्छ, हामीले कार्यकर्तालाई पनि त्यही अनुसार भनिरहेका छौं ।’

कोइरालाले गठबन्धन गर्ने कुरामा भने असहमति प्रकट गरेका छन् । नेपालमा गठबन्धन संस्कृति नभएको भन्दै उनले केही स्थानमा नेताहरुलाई सुरक्षित गर्ने कुरामा भने आफू सकारात्मक भएको बताए । ‘हाम्रो निर्वाचन प्रणालीका कारण पनि सरकारमा कुनैपनि पार्टीको एकलौटी बहुमत आउँदैन । त्यसबेला गठबन्धन गर्ने हो । दुई÷चार पटक गठबन्धन गरिसकेपछि चुनाव पनि गठबन्धनबाट लड्ने एउटा कुरा हो,’ कोइरालाले भने, ‘तर, अहिले हामीहरुको मानिसकता नै तयार भइसकेको छैन । हामी माओवादीको द्वन्द्वबाट आएका हौं नि त । त्यसको सबैभन्दा धेरै मारमा त कांग्रेस नै परेको हो ।’

कोइरालाले माधव नेपाल, प्रचण्ड, शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतलाई भने सुरक्षित गर्नुपर्ने बताए । ‘कल्पना गरौं, एकैछिन संविधानसभाको दोस्रो निर्वाचनको बेला काठमाडौंबाट प्रचण्डजी हार्नुभयो । तर, सिरहाबाट ल्याइयो । उहाँ नल्याएको भए संविधान त बन्दैन थियो ।

पहिलो संविधानसभामा माधवजीलाई ल्याइयो । किन ल्याइयो भने संविधान बनाउनका लागि ल्याएको हो । यो सबै कुरालाई हेर्नुपर्यो नि त,’ कोइरालाले भने, ‘कतैकतै सिटहरु जस्तो प्रचण्डजी उठेको ठाउँमा कांग्रेसले कमजोर उम्मेद्वार दिने वा उम्मेद्वार नै नदिने । एकदुईवटा ठाउँमा नदिने कुरा बेग्दै कुरा हो । तर, एमाले र माओवादीले प्रतिशत बाँडेर गरेजस्तो हुनुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।