विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको बताउँदै आगामि तीन तहको निर्वाचनमा एक्लाएक्लै चुनावमा जाने बताएका छन् ।
विराटनगरमा आज आयोजित वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै कोइरालो यस्तो बताएका हुन् । ‘यो गठबन्धन संविधानलाई विस्थापित गर्ने कोशीस भएपछि बनेको हो र यो गठबन्धन चुनावसम्मको लागि मात्रै हो,’ कोइरालाले भने, ‘जिल्ला जिल्लामा नेताहरू एक्लै लड्नुपर्छ भन्छन् । कांग्रेसको सिद्धान्त कम्युनिष्टहरूलाई भोट हाल्ने होईन । कांग्रेस प्रदेश, संघ वा स्थानीय चुनावमा एक्लै लड्छ ।’ उनले ३० वैशाखमा स्थानीय तहको निर्वाचन भएरै छाड्ने बताए । ‘७५३ वटै पालिकामध्ये अधिकांशमा हामी जित्यौं भने प्रदेश र संघमा पनि जित्छौं,’ कोइरालाले भने, ‘मोरङका सबै पालिका जित्ने अवस्थामा हामी छौं ।’

उपसभापति धनराज गुरुङले गठबन्धनका अन्य दलहरुलाई ‘हात्तीको कानमा झुण्डिएको चमेरो’ भन्दै निर्वाचनसम्म गठबन्धन गर्नुपर्छ भन्ने अन्य दलको चर्को आलोचना गरे । ‘कांग्रेस हात्ती हो । कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ । हात्तीको ठूलो कानभित्र ओत लाग्न पाउँ भन्दै केही चमेराहरू निवेदन दिइरहेका छन्,’ गुरुङले भने, ‘हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिनुपर्छ, दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ ।’
उनले चुनावमा कसैलाई हार्छु जस्तो लाग्नु उसको कमजोरी भएको र स्वार्थमा सवार भएर गठबन्धन गर्नु कांग्रेसका लागि हानीकारक भएको बताए । ‘कसैलाई हार्छुकी भन्ने लाग्छ भने त्यो उसैको कमजोरी हो,’ उनले माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै भने, ‘स्वार्थमा सवार भएर एकता वा गठबन्धन गर्नु आवश्यक छैन ।’

कांग्रेस महामन्त्री गगन थापाले पनि कम्युनिष्टहरुप्रति चर्को आलोचना गर्दै माले, मण्डले र मसाले एकै हुन् भन्दै लामो व्याख्या गरे । ‘समाजमा माले, मण्डले र मसाले एकै हुन्,’ थापाले भने । ‘कांग्रेस रक्षात्मक भएर होइन, ५ वर्ष शासन चलाउने भनेर दुई तिहाइ मत लिएको कम्युनिष्ट पार्टीले यसपटक धेरै जवाफ दिनुपर्नेछ ।’
५ वर्ष शासन गर्छु भनेर दुईतिहाइ नजिकको मत लिएर आएको नेकपाले शासन सत्ता चलाउन ढंग नपु¥याएको कारण २३ सिट जितेर पनि कांग्रेसले सत्ता चलाउनु पर्ने बाध्यात्मक अवस्था आइपरेको उनले बताए । ‘पाँच वर्ष शासन गर्छु भन्ने तत्कालिन नेकपाले तीन वर्ष पुग्दानपुग्दै एकथरी घर पोलेर खरानी घस्दै नाच्न थाले, अर्को थरि हामीलाई घरबाट लखेटियो भन्दै लाइन लागेर सरकार चलाइदिनुप¥यो भन्दै कांग्रेसलाई अनुरोध गर्न आए । त्यही कारण २३ वटा सिट जितेको कांग्रेसले केन्द्र सरकार चलाउनु परेको छ ।’
थापाले वैशाख ३० गतेको निर्वाचन १ दिन पनि तलमाथि नहुने बताउँदै संसद चल्नै नसक्ने अवस्थामा वा बिचैमा संसद विघटन भएपनि स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताए । उनले चैत मसान्तसम्ममा कांग्रेसले सबै स्थानीत तहका उम्मेद्वारको नामावली फाइनल गर्ने पनि दाबी गरे ।
सोही कार्यक्रममा बोल्दै कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले पनि गठबन्धन गरेर चुनावमा जान नहुने भन्दै माओवादी र नेकपा एसको तीब्र आलोचना गरे । उनले भने, ‘हाम्रो जहाजमा बसेर केही साथीहरु सवार गर्न खोजीरहनु भएको छ, निर्वाचन जित्ने अनि सत्तामा जाने कुरा कल्पना गरिरहेका होलान्, त्यस्तो कल्पना नगर्नुहोस् ।’ उनले काँग्रेसले आफूले मेहनत गर्ने र माओवादी, समाजवादी वा जसपाले पनि आफ्नो मेहनत गर्नुपर्नेमा जोड दिए । उद्यपि उनले गठबन्धनले केही नेताको संवेदनशीलतालाई ख्याल गरेर केही ठाउँमा तालमेल हुनसक्ने बताए । उनले भने, ‘तीनै तहमा पुराकापुरा गठबन्धन हुँदैन ।’

