विराटनगर । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी महाधिवेशनको म्याण्डेट बमोजिम नै एमसीसी अनुमोदन भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको बैठकमा सहभागी हुने क्रममा नेता यादवले महाधिवेशनले यथास्थितिमा एमसीसी पास गर्न नसकिने र परिमार्जन गरेर पारित गर्नुपर्ने निर्णय गरेको दाबी गरे । उनले महाधिवेशनको निर्णय नै परिमार्जन गरेर पास गर्ने भन्ने भएकोले व्याख्यात्मक टिप्पणी मार्फत परिमार्जन गरिएको बताए ।

‘महाधिवेशनले संशोधन गरेर पास गर्ने भनेको, त्यही त भएको हो’, यादवले भने । महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदन हुँदा आपत्ति जनाउनुपर्ने कारण नरहेको उनले बताए ।

पार्टीका केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा नहुँदा असन्तुष्टि जनाएको यादवले बताए । उनले व्यक्तिवाद हावी हुँदा यस्ता विवाद र समस्या आएको भन्दै बाबुरामपछि अहिे फेरी केही नेतामा चरम व्यक्तिवाद देखिएको बताए ।

प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन भएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहित कतिपय नेताहरुले विरोध गर्दै आएका छन् ।