विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीले ४० दिने अभियान सञ्चालन गरी महानगरमा पार्टी निर्माणलाई तीब्र बनाउने निर्णय गरेको छ । महानगर कमिटीको बिहीबार बसेको पूर्ण बैठकले पार्टीलाई क्रियाशील बनाउन विभिन्न विभागहरु समेत गठन गरी जिम्मेबारी बाँडफाँडसमेत गरेको छ ।
बैठकले महानगर कमिटी अध्यक्ष नविन पौडेललाई स्कुल विभाग, सचिव नमिता न्यौपानेलाई संगठन विभागको जिम्मेवारी दिएको छ । बैठकले आर्थिक विभाग, जवस मोर्चा विभाग, प्रचारप्रसार विभाग, प्रकाशन विभाग, शिक्षा विभाग, स्वास्थ्य विभागलगायत डेढ दर्जन विभागहरु गठन गरेको छ । एकसाता भित्रै विभागलाई पूर्णता दिएर काम अघि बढाउन संयोजकहरुलाई निर्देशन दिइएको अध्यक्ष नविन पौडेलले जानकारी दिए ।
बैठकले १९ वटा भौगोलिक र दुई गैरभौगोलिक वडाहरुमा इन्चार्ज तोक्ने निर्णय गरेको छ । गैरभौगोलिक तर्फ मजदुर र कर्मचारीको छुट्टै वडा गठन गरी जिम्मेवारी बाँडफाँड गरेको हो ।
महानगरमा ५ हजार पार्टी सदस्य पु¥याउने गरी संगठन परिचालन गर्ने निर्णय बैठकले गरेको छ । महानगरमा माओवादी केन्द्रका ३ हजार ४०० भन्दा बढी पार्टी सदस्य छन् । सदस्यता नवीकरण गर्न छुटेका र नयाँ थप समेत गरी चैत ३० गतेसम्म संगठन निर्माणलाई तीब्रता दिँदै ५ हजार पार्टी सदस्य पु¥याउने माओवादीको योजना छ । त्यसपछि फेरि बैठक बसेर चुनाव केन्द्रीत अभियान र योजना अगाडि बढाउने बताइएको छ ।
बैठकले पार्टी अनुशासन पालनालाई जोड दिने र अनुशासनमा कमजोरी गर्नेलाई अब छुट नदिने निर्णय गरेको छ । लगाातार तीन वटा बैठकमा बिना जानकारी उपस्थित नहुनेलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने प्रकृया अवलम्बन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्षित गरेर टोल संगठनहरु निर्माण गर्न, वडा तहमा जनवर्गीय संगठनहरु बनाउन र स्थानीय समस्याहरुलाई उजागर गर्दै पार्टी निर्माणमा लाग्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले ३० सदस्यीय नगर सचिवालय पनि गठन गरेको छ ।
बैठकमा बोल्ने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज शिवकुमार मण्डलले देशभक्ति र राष्ट्रहितको पक्षमा माओवादी बाहेक अरु पार्टीलाई जनताले विश्वास नगर्ने बताए । उनले एमसीसी सम्झौतामा भएका राष्ट्रलाई असर पुग्ने प्रावधानहरु नेपालमा लागू गर्न नसक्ने गरी सच्याउन वा त्यसलाई कानुनी बन्देज लगाउन माओवादीकै कारण सम्भव भएको टिप्पणी गरे । उनले भने ‘माओवादीले विरोध र आन्दोलन नगरेको भए एमसीसीमा लगाम लगाउन सम्भव थिएन, माओवादीसँग संख्या कम भएकै कारण असफल बनाउन सकिएन, त्यसैले तपाईं हामी सबैले माओवादी कमजोर भयो भने देश कमजोर हुन्छ र परिवर्तनहरु उल्टिने खतरा हुन्छ भन्ने यस घटनाबाट पनि बुझ्नु पर्छ ।’ उनले जनताका बीचमा गएर एमसीसी सम्झौता र माओवादीको भूमिकाको विषयमा जानकारी दिन निर्देशन दिए ।
बैठकमा नेकपा माओवादी केन्द्र महानगर कमिटीका सहइन्चार्ज भोगेन्द्र यादव, हरि घिमिरे लगायतले बोलेका थिए । उनीहरुले जनतासँग मिलेर अघि बढ्ने कुरालाई प्राथमिकतामा राख्दै आगामी चुनावको तयारीमा जुट्न आग्रह गरे ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।