सोलुखुम्बु । सोलुुखुम्बुको दुई हाइड्रोपावरको काम आजबाट सुरु भएको छ । जिल्लाको महाकुलुङ र सोताङ गाउँपालिकामा निर्माणाधीन गौरीशङ्कर र एपेक्स हाइड्रोपावरको काम आजदेखि सुरु भएको हो ।
स्थानीय बासिन्दाले विभिन्न माग राखेर गएको फागुन ११ गतेदेखि काम ठप्प पारेका थिए।हाइड्रोपावरले स्थानीय बासिन्दाको १७ बुँदे मागसहित अन्य मागका बारेमा आयोजनाको बोर्डसँग समन्वय गरेर १० दिनभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै काम सुरु गर्न दिने सहमति भएको स्थानीय सरोकार समितिका संयोजक विक्रान्त कुलुङले बताए।
१७ बुँदे मागको विषयमा सोताङमा आज पनि अर्को चरणको छलफल हुने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । हाइड्रोपावरले स्थानीयवासीसँग गरेको सहमति कार्यान्वयन नगर्दा सोताङ महाकुलुङ सरोकार समितिले फागुन ११ गतेदेखि निर्माणकार्य बन्द गरेका थिए ।
आयोजनाले एक समूहमा काम गरेका श्रमिकलाई ७५ लाखभन्दा बढी ज्याला भुक्तानी बाँकी रहेको, आयोजनाका कारण अति जोखिममा परेका पाँच घरपरिवारलाई राहतको व्यवस्था गर्नुपर्ने, स्थानीयवासीको क्षमता अनुसार रोजगारी पाउनुपर्नेलगायतका माग सरोकार समितिले राखेको छ।
गएको भदौदेखि आयोजनाले श्रमिकको ज्याला नदिनुका साथै सामाजिक उत्तरदायित्वको काम समेत पूरा गर्न नसकेकाले काम रोक्न बाध्य हुनुपरेको सरोकार समितिका संयोजक कुलुङले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।