विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेलाई संसद फोविया भएको बताएका छन् ।

विराटनगरमा आज आयोजित भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवस तथा जेष्ठ नागरिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै खनालले यस्तो बताएका हुन् ।

‘धन्दुकारीले पाएको अवसर, देशको आवश्यकता नबुझेर, दक्षिणपन्थी अवसरवादको बाटोमा लागेर फुटवादतिर लगे,’ उनले भने, ‘उनले सत्ता केन्द्रीकरण गरे, त्यसपछि पार्टीले आलोचना गर्दा असहयोगको नाममा संसद निमोठ्ने पटकपटक प्रयास गरे । अहिले प्रतिपक्षीमा हुँदा पनि नारा लगाएर संसद चल्नै नदिने भनेको संसद फोविया हो । यो जबज विरोधी हो ।’

खनालले निर्वाचन अगाडि कम्युनिष्ट एकताले देश अग्रगतितिर जान्छ भन्ने भावना उर्लिएको थियो भन्दै जसको कारण नेकपाले झन्डै दुई तिहाई मत प्राप्त गरेको बताए । ‘कम्युनिष्टको दुई तिहाई मतसहितको संसदलाई अत्यन्तै कुशलतापूर्वक अगाडि बढाउनु पर्ने थियो । जनमुखी बजेट ल्याएर हामीले धेरै प्रगतिशिल काम गर्न सक्थ्यौं,’ खनालले भने, ‘उनले त्यो अवसरको सदुपयोग गर्न सकेनन् ।’

एमालेले १४ जना सांसदलाई कारबाही गर्नुपर्ने माग राख्नु पिँध बिनाको माग भएको बताए । कसैले सडकबाट निकाल भनेर नहुने उनले बताए । आफूले सभामुखलाई महाअभियोग लगाउने विषय पनि सुनेको भन्दै खनालले त्यसको कुनै अर्थ नभएको बताए ।

‘सभामुखलाई महाअभियोग कसरी लाग्छ ? दुई तिहाइ मत कोसँग छ ? यो पिँध नभएको माग हो, दक्षिणपन्थीहरू यहाँसम्म पनि पतित हुन्छन् भन्ने उदाहरण हो,’ खनालले भने । उनले सहमतिको बुँदामा आधारित भएर गठबन्धन बनेको बताउँदै असहमतिको बुँदाले गठबन्धनलाई असर पार्न नहुने पनि बताए ।

प्रधानमन्त्री अमेरिकी शिविरको मान्छे हो ?

खनालले नेपालले युक्रेनको समर्थन गरेर अमेरिकी शिविरमा जान नहुने बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी शिविरको मान्छे हो भन्दै प्रश्न समेत गरेका छन् ।

भनालले भर्खरै अमेरिकाले आयोजना गरेको डेमोक्र्याटिक समिटमा प्रधानमन्त्री देउवा सहभागी भएको विषयमा पनि असन्तुष्टि व्यक्त गरे । ‘यो डेमोक्र्याटिक समिट भनेको तथाकथित अमेरिकी एलिटहरुको हो,’ खनालले भने, ‘डेमोक्रेटिक समिटमा हाम्रो प्रधानमन्त्री किन सहभागी हुनुभएको हो ? उहाँ के अमेरिकी शिविरको मान्छे हो ? यो मेरो प्रश्न हो ।’

नेपाल जस्तो असंलग्न पराराष्ट्र नीति लिएको राष्ट्रका कार्यकारी प्रमुखले यस्तो गर्न नहुने बताउँदै खनालले नेपालले युक्रेनको घटनाबाट पनि पाठ सिक्नु जरुरी रहेको बताए । खनालले भारत र चीनजस्ता मुलुकसमेत तटस्थ भूमिका खेलिरहेको अहिलेको अवस्थामा नेपाल जस्तो मुलुकले हतारमा टाढाको मुलुकको विषयमा प्रतिक्रिया दिनु राम्रो नभएको बताए ।

खनालले ५ सय वर्षदेखिको पश्चिमाको दबदबा अब अन्त्य हुँदै गएको टिप्पणी पनि गरे । ‘अमेरिका पछाडि हटिरहेको छ, कमेडियन राष्टपतिलाई उचाल्यो तर, अमेरिकाले केही गर्न सक्दैन,’ खनालले भने, ‘अफगानिस्तानमा के भयो ? अमेरिका भागेको होइन, युक्रेनमा उक्साएर भागेको होइन ? ।’ यो कुरालाई ध्यान दिएर मात्रै नेपाल अगाडि बढ्नसक्ने उनले बताए ।

कार्यक्रममा भारतमोहनको सम्झना

कार्यक्रमका क्रममा वक्ताहरुले पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झना गरिएको छ । भरतमोहन अधिकारीको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनमा अतुलनिय योगदान रहेको खनालले बताए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा प्रदेश १ ईन्चार्ज घनेन्द्र बस्नेतले प्रजातान्त्रिक आन्दोलन, कम्युनिष्ट एकता, संविधान निर्माणमा भरतमोहन अधिकारीले महत्त्वपूर्ण भूमिका खेलेको बताए । सोही कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले जबज र भरतमोहनको कामको जस एमालेले लिन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले भरतमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको पर्यायवाची रहेको बताए । उनले अहिलेका राजनेतामा त्यो चरित्र नदेखिएको बताउँदै आजका दिनमा कम्युनिस्ट पार्टीमा धनीमानी मात्रै रहेको बताए ।

प्राध्यापक कृष्ण पोखरेलले भरतमोहनले सुरू गरेको सामाजिक सुरक्षा भत्ताको व्याज अहिलेका कम्युनिष्ट पार्टीहरूले खाईरहेको बताए । कार्यक्रममा नेकपा एसका प्रदेश अध्यक्ष बलदेव चौधरी कांग्रेस मोरङका उपसभापति नागेश कोईराला, माओवादीका प्रदेश सदस्य भोगेन्द्र यादव, जसपा मोरङका अध्यक्ष राजकुमार यादवलगायतले भरतमोहन अधिकारीको योगदानको चर्चा गरेका थिए ।

सोही अवसरमा भरतमोहनकी माईली छोरी लिना अधिकारीले जेष्ठ नागरिकहरूको स्वास्थ्य, शिक्षा र प्रविधिको सेक्टरमा काम गर्न बाँकी रहेको बताइन् । कार्यक्रमकै बीच जेष्ठ नागरिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रम उद्घाटन गरिएको छ ।

सो कार्यक्रम अन्तर्गत भोलिदेखि विराटनगरका ४० बढी जेष्ठ नागरिकलाई तालपम दिने भरतमोहा स्मृति प्रतिष्ठानले जनाएको छ । सो अवसरमा प्रतिष्ठानकी अध्यक्ष सविता अधिकारीले प्रदेश १ प्रतिष्ठान अध्यक्ष महेश रेग्मी र महासचिवमा कोषराज रेग्मी रहेको घोषणा गरेकी थिइन् ।